मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

सोमबार नेपाल–भारतबीच फुटबलका दुई फाइनल

सोमबार नेपाल–भारतबीच फुटबलका दुई फाइनल


काठमाडौँ, २ फागुन । बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको फुटबलतर्फ नेपाल र भारतबीच पुरुष तथा महिला दुबैतर्फका दुई फाइनल खेल हुने भएका छन् ।
 
पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको फाइनल गुवाहाटीस्थित इन्दिरा गान्धी एथ्लेटिक रङ्गशालामा नेपाली समयानुसार साँझ ७ः१५ बजे हुनेछ । त्यस्तै, नेपाल र भारतबीचकै महिला फुटबलको फाइनल सिलोङस्थित जवाहरलाल नेहरू रङ्गशालामा दिउँसो ४ः१५ बजे हुनेछ ।
 
पुरुष फुटबलअन्तर्गत शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–३ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो भने भारतले सेमिफाइनलमा बङ्गलादेशलाई ३–० ले पाखा लगाएको थियो ।
 
त्यस्तै, महिलातर्फ दक्षिण एसियाका पाँच टोली (नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का)मध्ये राउण्डरोबिनका आधारमा अङ्कतालिकामा नेपाल पहिलो र भारत दोस्रो हुँदै सिधै फाइनलमा प्रवेश गरेका हुन् । 
लिग चरणमा नेपालले श्रीलङ्कालाई ४–०, बङ्गलादेशलाई ३–०, माल्दिभ्सलाई २–० ले पराजित गरेको थियो भने भारतसँग गोलरहित बराबरी खेलेको थियो । यता भारतले श्रीलङ्कालाई ५–०, बङ्गलादेशलाई ५–१ ले हराएको थियो भने नेपाल र माल्दिभ्ससँगको खेल गोलरहित बराबरीमा टुङ्ग्याएको थियो ।
 
त्यसैगरी, पुरुष फुटबलमा समूह ‘बी’ मा रहेको नेपालले भुटानलाई ५–० ले हराएको थियो भने बङ्गलादेशसँग १–२ ले नतिजा सुम्पिँदै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । साथै, समूह ‘ए’ को उपविजेता भएर चित्त बुझाएको भारतले माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो भने श्रीलङ्कासँग ०–१ को हार व्यहोरेको थियो । रासस