मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

एकताकली ‘बी’ लाई हात्ती फाष्ट वाकको उपाधि

एकताकली ‘बी’ लाई हात्ती फाष्ट वाकको उपाधि


चितवन, १६ पुस । पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको हात्ती महोत्सवअन्तर्गत सञ्चालित हात्ती फाष्ट वाकको उपाधि एकताकली ‘बी’ ले जितेको छ । 
 
प्रतिस्पर्धी १९ हात्तीलाई पछाडि पार्दै एकताकलीले उपाधि जितेको हो । सौराहाका व्यवसायी हस्तबहादुर भट्टराईको हात्तीले हरेक चरणमा अग्रता लिँदै च्याम्पियन बनेको हो । 
 
प्रतियोगितामा युवराज पौडेलको एलिसाकली दोस्रो र दामोदर रेग्मीको मारूतीकली तेस्रो भएको थियो । हात्तीको अधिकारका कुरा उठ्न थालेपछि यस वर्ष हात्ती दौडलाई परिमार्जन गरी हात्ती फाष्ट वाक गरिएको हो । 
 
हात्तीलाई ३०० मिटरको दूरी एकतर्फीमात्र दौडाइएको थियो । त्यसैगरी हात्तीका छावाबीचको रोमाञ्चकारी फुटबल प्रतियोगिताको उपाधि सीजी फुड्सले जितेको छ । 
 
नबिल बैंकलाई २ शून्यको गोल अन्तरले पछि पार्दै सीजी फुड्सले उपाधि जितेको हो । हात्तीका छावाहरुको फुटबलका लागि एक समूह चितवन राष्ट्रिय निकुञ्ज र अर्को समूह सौराहाका व्यवसायी ओम रिजालको हात्तीका छावाहरुले खेलेका थिए । सीजी फूड्सको जितका लागि सौराहा गजले एक गोल गरेको थियो । 
 
नबिल बैंकको प्रतिनिधित्व गरेको चुरिया जगले आत्मघाती गोल गरेर सीजी फुड्सलाई अग्रता दिलाएको थियो । प्रतियोगिता भरि राम्रो खेल प्रदर्शन गरेको सौराहा गजले ४ गोल गरेर चर्चामा आएको थियो । यसअधि मंगलबार भएको सुन्दरी प्रतियोगिताको उपाधि समृद्धिकलीले जितेको थियो । 
 
महोत्सव समापन कार्यक्रमका प्रमुख अतिथि पर्यटन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सबै प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएका टिमलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । महोत्सवअन्र्तगत हात्ती वनभोज कार्यक्रम, टागा दौड, डुंगा दौड गरिएको नतिजा प्रकाशन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए । 
 
चितवनमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले क्षेत्रीय होटल संघ सौराहाले महोत्सवको आयोजना गरेको हो । महोत्सव समापन कार्यक्रममा पर्यटन सचिव थपलियाले भूकम्प र नाकाबन्दीले थलिएको पर्यटनलाई उकास्न नयाँ योजना सुरू भइसकेको बताए । 
 
नेपालमा पर्यटक तान्न गर्नुपर्ने सबै काम गर्ने गरी सरकारले रणनीतिक योजना सुरू गरेको उनको भनाइ थियो । चिनिया पर्यटकलाई भिसा शुल्क नलिने निर्णय नयाँ योजनाको सुरूवात भएको उनले बताए । सचिव थपलियाले पर्यटन विकासको लागि व्यवसायी र सरकारीको सहकार्यमा पर्यटनमैत्री कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । 
 
कार्यक्रममा स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल, चितवन राष्ट्रिय निकुञ्जका वार्डेन रामचन्द्र कँडेल, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा। चिरञ्जीवी पोखरेल, चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलिप मैनालीलगायतले बोलेका थिए । 
 
कार्यक्रम क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टको अध्यक्षतामा भएको थियो । पौष ११ गतेबाट सुरू भएको महोत्सव बुधबार सकिएको हो ।