मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मधेसवादी दलको माग मुलुक असफल पार्नेमात्र : नेता नेपाल

मधेसवादी दलको माग मुलुक असफल पार्नेमात्र : नेता नेपाल


इटहरी, ११ मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेसवादी मोर्चाको माग केवल देशलाई असफल पार्ने र दुनियाँलाई हँसाएर नेपालीलाई कष्टमा डुबाउनेबाहेक अरु केही नभएको दाबी गर्नुभएको छ ।

नेता नेपालले इटहरीस्थित आज सञ्चारकर्मीहरुसँगको भेटमा त्यस्तो धारणा राख्नुहुँदै तराईवासीलाई उनीहरुले भनेभन्दा धेरै अधिकार संविधानले प्रत्याभूत गरिसकेको विषयलाई अझै मधेसवादी दलहरुले यथार्थ जनतासम्म पु¥याउन नचाहेको पनि स्पष्ट पार्नुभएको छ ।

बिहीबार साँझ इटहरीमा आइपुग्नुभएका वरिष्ठ नेता नेपालले सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै मधेसमा लामो समयदेखि बस्दै आएका नेपाली जनतालाई समृद्ध बनाउने विषयमा सत्तामा बस्दा चाहिँ उनीहरुले किन योजना अघि सार्दैनन् त ? भनेर प्रश्न पनि गर्नुभएको छ ।

वरिष्ठ नेता नेपालले कसैप्रति सङ्केत नगरी कसैको उक्साहटमा गरिएको मधेस आन्दोलन र मधेसवासीको अधिकारका लागि भनिएको यो आन्दोलन सीमित व्यक्तिको स्वार्थसँग गाँसिएको विषयमा मधेसवासी आमनेपाली जनतालाई बुझाउन जरुरी रहेको पनि औँल्याउनुभएको छ ।

मधेसका वास्तविक नेपाली जनतालाई दास बनाउने कार्यमा मधेसवादी दलका नेताहरुले नै लामो समयदेखि प्रयत्न गरेको र उनीहरुलाई माथि उठ्नसमेत नदिने प्रपञ्चमा मधेसवादी नेताहरु नै रहँदै आएको तथा त्यस क्षेत्रमा कुनै पनि हिसाबले राज्यले विभेद नगरेको पनि नेता नेपालले तर्क गर्नुभएको छ ।

कुराकानीका क्रममा उहाँले नयाँ संविधान मधेसमैत्री भएको दाबी गर्नुभयो । तर मधेसवादी दलले मधेसका जनतामा संविधान विरोधी भ्रम फैलाएको उहाँले बताउनुभयो । त्यो भ्रमलाई चिर्न राजनीतिक दलले नसकेको भने उहाँले स्वीकार गर्नुभयो ।

तराई मधेसमा जारी आन्दोलनलाई वार्ताकै माध्यमबाट समाधान गरिनुपर्ने वरिष्ठ नेता नेपालको जोड छ । संविधानमा केही शब्द समेट्दा वा थप्दा मधेसवादी दलहरुलाई चित्त बुझ्छ भने समेट्न सकिन्छ तर अशान्ति र अराजकता भने उनीहरुले त्याग्नुपर्ने वरिष्ठ नेता नेपालले बताउनुभयो ।

सुनसरी र मोरङलाई टुक्र्याएर २ नं प्रदेशमा मिसाउने कुरामा एमालेको समर्थन नरहने उहाँले प्रष्ट पार्नुभयो र भन्नुभयो – “यहाँका जनता २ नं प्रदेशमा जान चाहँदैनन्, एमाले जनताको भावना विपरीत जाँदैन र कहिल्यै गएको पनि छैन ।”

सीमाङ्कनको विषय सङ्घीय आयोगमार्फत समाधान गर्न सकिने उहाँको भनाइ छ । त्यसमा असहमत हुने हो भने दुई तिहाइ बहुमत ल्याएर संविधान संशोधन गर्न उहाँले मधेसवादी दलहरुलाई चुनौती पनि दिनुभयो । उहाँ पार्टी सङ्गठनका लागि पूर्वी नेपालको भ्रमणमा निक्लनुभएको बुझिएको छ । रासस