मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भवन र सडकको नयाँ मापदण्ड लागू

भवन र सडकको नयाँ मापदण्ड लागू


भवन र सडकको नयाँ मापदण्ड लागू

बागलुङ, १० मङ्सिर । बागलुङ नगर क्षेत्रमा बन्ने सडक तथा भवनको नयाँ मापदण्ड लागू भएको छ ।

बागलुङ नगरपालिकाको बुधबारको विशेष नगरपरिषद्ले भवन निर्माण र सडक मापदण्ड बनाएको हो । नगरपालिकाले बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मामदण्ड–२०७२ तयार गरेको छ ।

एकीकृत योजना तर्जुमा समिति, नगरपालिकाको बोर्ड बैठक हुँदै विशेष नगरपरिषद्बाट सो मापदण्ड स्वीकृत गरिएको नगरपालिका कार्यालयले जनाएको छ । बुधबारदेखि नै मापदण्ड लागू हुने र गत वैशाखको भूकम्पपछि रोकिएको नक्सा पासको काम पनि अघि बढ्ने कार्यकारी अधिकृत युवराज अधिकारीले बताउनुभयो ।

विशेष नगर परिषद्ले नगर क्षेत्रको भूभागलाई व्यापारिक र आवासीय क्षेत्रमा वर्गीकरणसमेत गरेको छ । तोकिएको मापदण्डअनुसार आवासीय क्षेत्रमा पक्की घर बनाउँदा अनिवार्य जग छ फि, पिलरको खाल्डो चार फि, चौडाइ ६ इन्च र पिलरको आकार १२÷१२ इन्च हुनुपर्ने व्यवस्था छ ।

त्यस्तै बिमको आकार ९÷१२ इन्च हुनुपर्ने, झ्याल र ढोकामा ‘सिल’ र ‘सेन्टेल’ राख्नुपर्ने तथा डेढ मिको सधियार (सेट ब्याक) छाड्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । “तत्कालका लागि तीन तलासम्मको भवन निर्माणका लागि नक्सा पास खुल्ला भएको छ”, अधिकृत अधिकारीले भन्नुभयो, “तीन तलाभन्दा अग्लो भवन निर्माण गर्दा नगरपालिकामा रहेको प्राविधिक समितिको अध्ययन प्रतिवेदन र सिफारिसपछि मात्र स्वीकृति प्रदान गरिनेछ ।” उहाँले साँघुरो सडक भएको स्थानमा अग्लो घर निर्माणमा रोक लगाइनेसमेत जानकारी दिनुभयो ।

यसअघिको मापदण्डबमोजिम बनेका घरमा तला थप्नुपर्ने भएमा घरको अवस्था हेरी ९÷९ इन्चको पिलर–बिम भएको घरमा साढे दुई तला र ९÷१२ इन्चको पिलर–बिम भएको घरमा तीन तला नबढ्ने गरी स्वीकृति दिइनेछ । सडक मापदण्डअन्तर्गत नगर क्षेत्रको सडक न्यूनतम चार मि कायम गरिने इन्जिनियर त्रिलोचन रिजालले बताउनुभयो । पाँच मिका सबै सडकलाई छ मिमा कायम गरिने छ ।

सहरी विकासको आवश्यकतानुसार सडक विस्तारलाई बढाउँदै लैजाने नगरपालिकाले जनाएको छ । नयाँ सडक बनाउँदा भने मूल सडक ८ मि र शाखा सडक ६ मि अनिवार्य गरिएको छ । आगामी वर्षदेखि भवनसंहिता–२०६० लागू गर्ने तयारी भएको अधिकृत अधिकारीले जानकारी दिनुभयो । रासस