मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संशोधनमार्फत सबैलाई समेट्न पापडको आग्रह

संशोधनमार्फत सबैलाई समेट्न पापडको आग्रह


काठमाडौँ । नेपालको संविधानलाई संशोधन गरी आन्दोलनरत असन्तुष्ट दल र समुदायका जायज मागलाई सुनिश्चित गर्न आग्रह गरिएको छ ।      

शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)द्वारा यहाँ आज आयोजित ‘विद्यमान समस्या र समाधानको बाटो’ विषयक अन्तरक्रियामा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले मधेसका समस्यालाई मुख्य ठूला राजनीतिक दलले जतिसक्दो चाँडो समाधान खोज्नुपर्ने धारणा राख्नुभयो ।          

“जसरी संविधान जारी गर्नका लागि मुख्य ठूला तीन दल एकै ठाउँमा उभिएका छन्, त्यसरी नै कार्यान्वयनका लागि एकबद्ध भएर एकै ठाउँमा उभिनुपर्छ”– अध्यक्ष विष्टले भन्नुभयो ।          

त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति योगेन्द्रनारायण वखडियाले भारतले गरेको नाकाबन्दीले अबका दिनमा नेपाली आफैँ आत्मनिर्भर बन्नुपर्छ भन्ने पाठ सिकाएको छ भन्नुभयो ।          

नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराईले संविधानले दलित, महिला र युगौँदेखि उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गरेको भन्दै त्यसको कार्यान्वयनमा सबैको सहयोगको आवश्यकता औँल्याउनुभयो ।          

नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले पछिल्लो पटक तराईमा देखिएको समस्यालाई आन्दोलनभन्दा पनि वार्ता र सहमतिको माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।          

नेपाल शिक्षक महासङ्घका महासचिव तिलक कुँवरले संविधान जारी भइसकेपछि भएका आन्दोलनका कारण तराईका अधिकांश विद्यालयमा पठनपाठन हुन नसकेको भन्दै तत्काल विद्यालय सञ्चालन गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।          

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष ध्रुव थापा र नेपाल प्राध्यापक सङ्घका पूर्व अध्यक्ष प्राडा भूपती ढकालले नाकाबन्दीका कारण पटकपटक समस्या झेल्नुको सट्टा इन्धनको दीर्घकालीन समाधानका लागि नेपाली आफैँ आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । रासस