मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रिय सरकारपछि पनि तीनदलको सहयात्रा अघिबढ्ने : ओली

राष्ट्रिय सरकारपछि पनि तीनदलको सहयात्रा अघिबढ्ने : ओली


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानको कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका लागि प्रमुख तीन दलबीचको सहयात्रा कायमै रहने बताउनुभएको छ ।

विभिन्न सञ्चार माध्यमका सम्पादकसँग आज यहाँ आयोजित अनौपचारिक छलफल कार्यक्रममा उहाँले केही दिनमा तीन दल: नेपाली काँग्रेस, एमाले र एनेकपा (माओवादी) को सहमतिको राष्ट्रिय सरकार गठन हुने, र त्यो सरकारले राष्ट्रिय दृष्टिकोणका साथ मुलुुकको आर्थिक उन्नति र समृद्धिका लागि काम गर्ने लक्ष्यसाथ आफूहरु अघि बढेको जनाउनुभयो ।

अध्यक्ष ओलीले संविधान आएपछि छिमेकी मुलुक भारतसँग केही कुरामा असमझदारी भएको हुनसक्ने भएकाले उसका जायज चासोलाई सम्बोधन गर्न आफूहरु तयार रहेको जनाउनुभयो । संविधानको घोषणासँगै हाल उत्पन्न भएको भारतीय सीमाबाट आपूर्तिमा असहजता हुनु नपर्ने आफ्नो बुझाई रहेको जनाउँदै उहाँले भन्नुभयो, “हामीले भारतसँग औपचारिक र अनौपचारिक विभिन्न तहमा छलफल जारी राखेका छौँ, यो समस्या चाँडै हल हुनेछ ।”

संविधानमा असन्तुष्ट मधेसकेन्द्रित दलका माग आफूले नबुझेको भन्दै उहाँले संविधानले सबै क्षेत्र र वर्गलाई समान र लोकतान्त्रिक अधिकार दिएपनि जनतामा त्यसबारे केही भ्रम सिर्जना गरिएको उहाँको भनाइ थियो ।

“विगतमा पहिचानका नाममा उठेका विवाद अहिले चिरिएका छन् । हामी सच्चिएर अघि बढेका छौँ”–उहाँले भन्नुभयो, “तराईका एफएम रेडियोले अब भ्रम र विवादका विषयलाई स्थान नदिई सहयोग गर्न म आग्रह गर्दछु ।”

कार्यक्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, सचिवहरु प्रदीप ज्ञवाली र योगेश भट्टराईलगायत नेता उपस्थिति हुनुहुन्थ्यो भने अधिवक्ता टीकाराम भट्टराईले संविधानमा भएका नागरिकता, निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशी, सङ्घीयता, विशेष पद (राष्ट्रपति, उपराष्ट्रपति) का लागि वंशजको नागरिक हुनुपर्नेलगायत व्यवस्था लोकतान्त्रिक रहेको प्रकाश पार्नुभएको थियो । रासस