मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अपिल

धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अपिल


नेपालगञ्ज । राजनीतिक मागका लागि गरिने आन्दोलनका क्रममा धार्मिक तथा सामाजिक सद्भाव बिग्रन नदिन सबै पक्ष संयमित हुनुपर्ने धर्मगुरुहरूले जोड दिनुुभएको छ । 
 
प्रदेश सीमाङ्कनको प्रस्तावित मस्यौदामाथि असहमति जनाउँदै संयुक्त थरुहट मधेस सङ्घर्ष समिति र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सात दिनदेखि अनिश्चितकालीन बाँके जिल्ला बन्द आह्वान गरेपछि धर्मगुरुहरूले सबै पक्षसँग यस्तो अपिल गरेका हुन् । 
 
अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चमा आबद्ध विभिन्न धर्मगुरुले निरन्तर आन्दोलन र बन्दका कारण उत्पन्न असहज स्थितिलाई दृष्टिगत गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सम्बद्ध पक्षलाई आग्रह पनि गरेका छन् ।
 
आज यहाँ हिन्दू धर्मका तर्फबाट बागेश्वरी मन्दिरका मूल महन्त एवम् अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चका अध्यक्ष चन्द्रनाथ योगी, इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी, इसाइ धर्मगुरु ज्योति निवास चर्चका रामबहादुर थापा, शिख समुदायका धर्मगुरु राजेन्द्रसिंह सरदार र बौद्ध धर्मगुरु गुञ्जबहादुर लामाले संयुक्त अपिल जारी गरी सदियौँदेखि एकआपसमा मिलेर बसेको समुदाय, जातजाति, धर्म र समुदायबीच विवाद, मनमुटाब, वैमनश्यता फैलिन नदिन र आपसी सहिष्णुता, सद्भाव र भाइचारा कायम राख्न सम्बद्ध पक्षसँग आग्रह गर्नुभएको छ ।
 
कुनै पनि अफवाह, भ्रममा नपर्न आमनागरिकमा अुनरोध गर्दै विगतको दृष्टान्तलाई ख्याल गरी शान्ति, सद्भाव कहीँकतैबाट बिथोल्ने प्रयास भए या गरिए त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउनसमेत उहाँले राज्यपक्षसँग माग गर्नुभएको छ ।
 
धार्मिक तथा सामाजिक सद्भाव कायम गर्नु सबैको उत्तिकै जिम्मेवारी र दायित्व भएको भन्दै बन्दका कारण अलपत्र परेका र मानवीय समवेदनासँग जोडिएका विषयको सम्बन्धित पक्षबाट तत्काल सम्बोधन गरियोस् भन्ने आग्रह पनि अपिलमा गरिएको छ ।   
 
अपिलमा भनिएको छ, “शान्ति, सुरक्षा, सामाजिक सद्भाव कायम गर्न सबैले आआफ्नो क्षेत्रबाट संयमता अपनाउन र असल नागरिकको जिम्मेवारी निर्वाह गर्नुपर्ने र सबै धर्मगुरुले समेत शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न संवेदनशील, सचेत र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ ।” रासस