काठमाडौं, श्रावण २७ । यस वर्षको युरोपियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि बार्सिलोनाले जितेको छ ।
गत सिजनको युएफा च्याम्पियन्स लिग बिजेता बार्सिलोना एवं युरोपा लिग बिजेता सेभियाबीचको भिडन्तमा बार्सिलोना ५–४ ले विजयी भयो ।
निर्धारित ९० मिनेटसम्म दुबैतर्फबाट ४–४ गोल भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा बार्सिलोनाका पेड्रोले निर्णायक गोल गर्दै टोलीलाई सिजनको सुरुवाती उपाधि दिलाएका हुन् ।
यसअघि निर्धारित समयमा बार्सिलोनाका लागि लियोनल मेस्सीले दुई गोल गरेका थिए भने राफिन्हा र लुईस सुवारेजले एक–एक गोल गरेका थिए । तर सेभियाका बानेगा, रेयेज, गामेरियो र कोनाप्लिङ्काले एक–एक गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याएका हुन् । अतिरिक्त समयमा बार्सिलोनाले बाजी मारेको हो ।
जितसँगै बार्सिलोनाले सर्वाधिक ५ पटक युएफा सुपर कप जित्ने इटालियन क्लब एसी मिलानको कीर्तिमानमा बराबरी गरेको छ ।
प्रतिक्रिया