नेपाली क्रिकेट टोलीका कप्तान पारस खडका ट्वान्टी-२० अन्तर्राष्ट्रिय विश्व वरीयता क्रममा फड्को मार्दै ६४ औं स्थानमा पुगेका छन् । शीर्ष सयमा अन्य नेपाली खेलाडीहरु ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर पनि परेका छन्। शरद ८१ औं र ज्ञानेन्द्र ८६ औंं स्थानमा छन्।
गतवर्ष विश्व ट्वान्टी-२०मा गरेको प्रदर्शनका आधारमा शरद विश्व वरीयताको शीर्ष सय भित्र छिर्ने पहिलो नेपाली ब्याट्सम्यान बनेका थिए । त्यसबेला उनी ७६ औं स्थानमा थिए ।
नेदरल्यान्ड्ससँग अघिल्लो महिना भएको चार ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलापछि पारसको वरियतामा स्थान माथि उक्लेको हो । नेपालले शृंखला ३-१ ले गुमाए पनि पारसले ११७.०९ को स्ट्राइक रेटमा १ सय ३७ रन बनाएका थिए । शृंखलामा नेपालबाट म्यान अफ द सिरिजमा चुनिएका पारसले अन्तिम खेलमा ५४ रन बनाएका थिए । यो उनको पहिलो र नेपाली खेलाडीको ट्वान्टी-२० अन्तर्राष्ट्रियमा दोस्रो अर्धशतक हो ।
बलिङ वरियतामा वसन्त रेग्मी शीर्ष सय भित्र पर्ने नेपालको पहिलो खेलाडी बनेका छन् । पछिल्लो वरियतामा उनी ८३औं स्थानमा छन् । उनको ३ सय ४२ रेटिङ अंक छ । नेदरल्यान्ड्ससँगको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा वसन्तले ५ विकेट लिएका थिए। बसन्तले नेपालबाट सर्वाधिक ८ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल्नेक्रममा १० विकेट लिइसकेका छन्।
ब्याटीङ तर्फको विश्व वरियतामा भारतका विराट कोहली पहिलो नम्बरमा छन् भने अष्ट्रेलियाका एरोन फिन्च दोस्रो तथा इंग्ल्याण्डका एलेक्स हेल्स तेस्रो स्थानमा छन्।
प्रतिक्रिया