तस्बिर साैजन्य : प्रशान्त कुँवर कान्तिपुर
लन्डन, असार ९ – ट्वान्टी ट्वान्टी विश्वकप छनोट खेल्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डनमा प्रशिक्षणमा व्यस्त भएको छ । स्थानीय समय साढे सात बजे हिथ्रो विमानस्थल उत्रिएको टोली सिधै मार्लेवोन क्रिकेट क्लब (एमसीसी), लर्डस् क्रिकेट ग्राउण्ड गएर प्रशिक्षण थालेको हो । सन् १७८७ मा स्थापित इंग्ल्याण्डको लोकप्रिय क्रिकेट क्लब एमसीसीको आफ्नै ग्राउण्ड लर्डस्लाई क्रिकेटको घर मानिन्छ ।
एमसीसी हेड अफ क्रिकेट जोन स्टेपहेन्सनले आफ्नो क्लब नेपालको ठूलो समर्थक र सहयोगी भएको जनाउँदै नेपाली क्रिकेट खेलाडीलाई लर्डस्मा स्वागत गर्न पाएकामा प्रसन्नता व्यक्त गरेका छन् । ‘नेपाली क्याप्टेन पारस खड्कालाई इमिरेट्स टी २० टुरमा पाउनु हाम्रा लागि भाग्यको कुरा थियो,’ स्टेपहेन्सनले भने, ‘मलाई आशा छ खड्कासहित अन्य खेलाडीहरु हाम्रो अन्तर्राष्ट्रियस्तरको सुविधाबाट लाभान्वित हुनेछन् ।’
आगामि ६ देखि २६ जुलाईसम्म आयरल्याण्ड र स्कटल्यान्डमा हुने आइसीसी वल्र्ड टी–२० छनोट प्रतियोगिता एवं जुलाई २९ र ३१ मा स्कटल्याण्डमा नेपाल र स्कटल्यान्डबीच हुने लिग क्रिकेट च्याम्पीयनसीपमा सहभागी हुन बुधबार विहान नेपाली टोली लन्डन आइपुगेको हो । नेपालले इंग्ल्याण्डका मिडलसेक्स्, ग्लोस्टरसायर, बाथ र फ्रि फरेस्टर जस्ता क्लवसंग अभ्यास खेल समेत खेल्ने कार्यक्रम छ ।
प्रशिक्षक पुबुदु दासानायकेसहित टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र खेलाडीहरु शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, अनिल मण्डल, सुवास खकुरेल तथा विनोद भण्डारी, प्रदीप ऐरी, सागर पुन, जितेन्द्रकुमार मुखिया, सोमपाल कामी, राजेश पुलामी मगर, करण केसी, सिद्धान्त लोहनी र अविनाश कर्ण सामेल छन् ।
प्रतिक्रिया