आईसीसी विश्वकप टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगिताको तयारीका क्रममा भारतमा रहेको नेपाली क्रिकेट टोली आफ्नो तेस्रो अभ्यास खेलमा पराजित भएको छ । हिमाञ्चल प्रदेश ११ सँगको पहिलो र दोस्रो खेलमा विजयी भएको नेपाली टोली तेस्रो खेलमा २४ रनले निरास बन्न पुग्यो ।
१३७ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो । नेपालको ओपनिङमा सुवास खकुरेलसँगै उपकप्तान ज्ञानेन्द्र मल्ल थिए । सुवास र ज्ञानेन्द्रले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरे ।
ज्ञानेन्द्र १२ रनमा आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्का १० रनमा आउट भए । सुवास २३ र विनोद भण्डारी ११ रनमा आउट भए ।
पुनः एकपटक ब्याटिङ नचल्दा नेपालले १ सय ३७ रनको सामान्य लक्ष्य पनि पूरा गर्न सकेन । धर्मशाला क्रिकेट मैदानमा विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रनमात्रै जोड्न सक्यो ।
नेपालका लागि सरद भेसवाकरले अविजित ३६ रनको योगदान गरे पनि जितसम्म डोहोर्याउन सकेनन् । यसअघि सुवास खकुरेलले २३, ज्ञानेन्द्र मल्लले १२, पारस खड्काले १० तथा विनोद भण्डारीले ११ रन जोडेका थिए । यस्तै सिद्धान्त लोहनीले ३, राजेश पुलामीले ७ तथा सोमपाल कामीले १ रन जोड्न सके । ओपनिङमा समस्या देखिएपछि आज सुवास खकुरेलसँगै ज्ञनेन्द्र मल्ललाई सुरुवातमा ब्याटिङ गर्न पठाइएको थियो । तर, खकुरेल र मल्लको जोडी पनि चल्न सकेन ।
यसअघि करण केसीले ३, सिद्धान्त लोहनीले २ तथा अभिनास कर्णले १ विकेट लिएपछि नेपालले घरेलु टोलीलाई १ सय ३६ रनको मध्यम स्कोरमै रोकेको थियो । अभ्यास म्याच श्रृंखलामा नेपाल २–१ ले अघि छ ।
प्रतिक्रिया