विचार / ब्लग

एआई रोबोटले मानव सभ्यतालाई कहाँ पुर्‍याउला ?

एआई रोबोटले मानव सभ्यतालाई कहाँ पुर्‍याउला ?


कल्पना गर्नुहोस्, एक बिहान तपाईं उठ्नुहुन्छ तर कार्यालय जानुपर्ने हतार छैन। खेतमा एआई रोबोटले खेती गरिरहेको छ, अर्को एआई रोबोटले खाना तयार गरिरहेको छ । चालकविहीन सवारीसाधनले मानिसलाई गन्तव्यमा पुर्‍याइरहेको छ, कारखानामा हजारौँ एआई रोबोट चाैबिसै घण्टा उत्पादनमा सक्रिय छन्, अस्पतालमा कृत्रिम बुद्धिमत्ताले रोग पहिचान गरिरहेको छ र रोबोटिक प्रणालीले उपचारमा सहयोग गरिरहेको छ। घर निर्माण, सडक मर्मत, सरसफाइ, सामान ढुवानी, वृद्धवृद्धाको हेरचाहदेखि उद्योग सञ्चालनसम्मका अधिकांश काम एआई रोबोटले गरिरहेका छन्। अब अझ एक कदम अगाडि सोचौँ—यदि यी वस्तु र सेवा अत्यन्त प्रशस्त र लगभग निःशुल्क उपलब्ध भए भने मानिसले पैसा कमाउनका लागि काम किन गर्नुपर्‍यो ? खाना, घर, कपडा, यातायात, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता सजिलै उपलब्ध भए पैसा नै किन चाहियो ?

यही भविष्यबारे एलन मस्कले सन् २०२६ मा निकै साहसी अनुमान व्यक्त गरेका छन्। द इकोनोमिस्टसँगको अन्तर्वार्तामा उनले करिब पाँच वर्षभित्र कृत्रिम बुद्धिमत्ताको समग्र क्षमता मानवजातिको संयुक्त बुद्धिमत्ताभन्दा माथि पुग्न सक्ने र एआई तथा रोबोट प्रविधिले “अद्भुत प्रचुरताको युग” ल्याउन सक्ने बताएका छन्। उनले सन् २०३६ तिर पैसा अहिलेको जस्तो महत्त्वपूर्ण नरहन सक्ने विचार समेत व्यक्त गरेका छन्। अर्थात् एआई र रोबोटले यति धेरै वस्तु र सेवा उत्पादन गर्न सक्छन् कि मानिसका लागि काम बाध्यता नभई रोजाइ बन्न सक्छ। यो निश्चित वैज्ञानिक समयतालिका होइन, मस्कको भविष्यसम्बन्धी अनुमान हो, तर यसको पछाडिको प्रविधिगत दिशा भने गम्भीर रूपमा विचार गर्न योग्य छ।

Advertisement

मेरो विचारमा सन् २०३६ लाई अन्तिम मिति ठान्नु आवश्यक छैन। मस्कले भनेजस्तै परिवर्तन ठीक त्यही वर्ष पूर्ण रूपमा नआउन पनि सक्छ। तर कृत्रिम बुद्धिमत्ता, मानवरूपी रोबोट, स्वचालित सवारीसाधन र स्वचालित उत्पादन प्रणाली अहिलेको वा अझ तीव्र गतिमा विकसित हुँदै गए भने आगामी ३०–४० वर्षभित्र मानिसले आज गर्ने अधिकांश बौद्धिक तथा शारीरिक काम एआई रोबोटले सम्हाल्ने सम्भावनालाई असम्भव भन्न सकिँदैन। आज कल्पना गर्नुपर्ने कुरा कुनै एउटा नयाँ उपकरणको आविष्कार मात्र होइन, मानिसले हजारौँ वर्षदेखि श्रम, आम्दानी र जीविकोपार्जनलाई जसरी बुझ्दै आएको छ, त्यसैको सम्भावित परिवर्तन हो।

यसलाई सरल तरिकाले बुझौँ। एआई रोबोटमा कृत्रिम बुद्धिमत्ता उसको दिमाग हो। क्यामेरा आँखा हुन्, माइक्रोफोन कान हो, संवेदकहरूले वरपरको वातावरण बुझ्छन्, विद्युतीय मोटरहरू मांसपेशीजस्तै काम गर्छन् र रोबोटिक हातखुट्टाले वास्तविक संसारमा काम गर्छन्। आजको कृत्रिम बुद्धिमत्ताले लेख्न, पढ्न, अनुवाद गर्न, योजना बनाउन, चित्र बनाउन, गणना गर्न र जटिल समस्या समाधान गर्न थालेको छ। अब यही कृत्रिम “दिमाग”लाई मानिसजस्तै काम गर्न सक्ने रोबोटिक शरीरसँग जोड्दा यसको क्षमता केवल कम्प्युटरभित्र सीमित रहँदैन। त्यसले खेत जोत्न, सामान उठाउन, घर बनाउन, बिरामीको हेरचाह गर्न र कारखाना चलाउनसमेत सक्छ। यही एआई दिमाग र रोबोट शरीरको मिलन आगामी औद्योगिक क्रान्तिको सबैभन्दा शक्तिशाली आधार बन्न सक्छ।

अब घरको उदाहरण लिऔँ। आज एउटा घर बनाउन नक्सा, इन्जिनियरिङ, निर्माण सामग्री, मजदुर, ढुवानी, ऊर्जा र ठूलो आर्थिक लगानी आवश्यक हुन्छ। भविष्यमा एआईले घरको नक्सा तयार गर्‍यो, एआई रोबोटले कच्चा पदार्थ निकाल्यो, अर्को स्वचालित उद्योगले निर्माण सामग्री तयार गर्‍यो, चालकविहीन सवारीले त्यो सामग्री निर्माणस्थलमा पुर्‍यायो र एआई रोबोटले जग खन्नेदेखि पर्खाल उठाउने, बिजुली–पानी जडान गर्ने र अन्तिम सजावटसम्म गरिदियो भने निर्माण लागत अत्यन्त कम हुन सक्छ। ऊर्जा पनि अत्यन्त सस्तो र प्रशस्त भयो भने एउटा सामान्य घर बनाउन लाग्ने प्रत्यक्ष मानव श्रम लगभग हराउन सक्छ। त्यस अवस्थामा स्वाभाविक प्रश्न उठ्छ—एआई रोबोटले घर छिटो र लगभग निःशुल्क बनाउन सक्छ भने मानिसले आजजस्तो २०–३० वर्ष ऋण किन तिर्नुपर्‍यो ?

खानामा पनि यही तर्क लागू हुन्छ। एआई रोबोटले खेत जोत्यो, बीउ रोप्यो, पानी हाल्यो, रोग पहिचान गर्‍यो, बाली काट्यो, प्रशोधन गर्‍यो र चालकविहीन सवारीले घरसम्म पुर्‍यायो भने खाद्यान्न उत्पादनमा मानव श्रम अत्यन्त कम हुन्छ। कपडा एआई रोबोटले बनायो, यातायात स्वचालित भयो, एआई शिक्षकले प्रत्येक बालबालिकालाई उत्कृष्ट शिक्षा उपलब्ध गरायो र एआई तथा रोबोटिक प्रणालीले स्वास्थ्य सेवाको ठूलो हिस्सा सम्हाल्यो भने मानिसलाई आजजस्तो ठूलो आम्दानी किन आवश्यक पर्लारु यदि दैनिक जीवनका मुख्य आवश्यकता अत्यन्त कम लागतमा वा निःशुल्क उपलब्ध हुन थाले भने पैसाको आवश्यकता स्वयं कमजोर हुन थाल्छ।

पैसा आखिर के हो ? पैसा स्वयम् खाना होइन, घर होइन, औषधी होइन र ऊर्जा पनि होइन। पैसा वस्तु र सेवा प्राप्त गर्ने विनिमयको माध्यम हो। आज हामी आफ्नो समय र श्रम दिन्छौँ, त्यसको बदलामा पैसा पाउँछौँ र त्यही पैसाले अर्को मानिसले उत्पादन गरेको वस्तु वा सेवा किन्छौँ। तर एआई रोबोटले उत्पादन गर्‍यो, अर्को एआई प्रणालीले व्यवस्थापन गर्‍यो, स्वचालित सवारीले ढुवानी गर्‍यो, एआई रोबोटले सेवा दियो र भविष्यमा रोबोटिक कारखानाले अर्को रोबोटसमेत उत्पादन गर्न थाल्यो भने यो परम्परागत आर्थिक चक्र नै परिवर्तन हुन सक्छ। कुनै ठूलो प्राविधिक मोड आएपछि पैसाको महत्त्व बिस्तारै मात्र होइन, अपेक्षाभन्दा धेरै छिटो घट्न पनि सक्छ।

त्यसैले “एआईले मेरो जागिर खोस्छ” भन्ने डरलाई पनि अर्को कोणबाट हेर्न आवश्यक छ। यदि खानीभित्रको जोखिमपूर्ण काम एआई रोबोटले गर्न सक्छ भने मानिसले ज्यान जोखिममा राखेर किन गर्नुपर्‍यो ? अत्यधिक गर्मीमा सडक बनाउन, भारी सामान उठाउन वा कारखानामा एउटै काम हजारौँ पटक दोहोर्‍याउन मानिस किन बाध्य हुनुपर्‍यो ? यदि एआई रोबोटले यस्ता काम सम्हाल्यो भने उसले मानिसको जागिर मात्र खोसेको होइन उसले मानिसको बाध्यकारी श्रम खोसेको पनि हुन सक्छ। हलो, ट्र्याक्टर, औद्योगिक उपकरण, कम्प्युटर र इन्टरनेटले मानिसको श्रम कम गर्दै उत्पादकता बढाए। एआई रोबोट त्यसै यात्राको सबैभन्दा शक्तिशाली अर्को चरण बन्न सक्छ।

यस परिवर्तनको प्रभाव आर्थिक जीवनमा मात्र सीमित नहुन सक्छ। विवाह, परिवार र जीवनसाथीको परम्परागत अवधारणामा पनि परिवर्तन आउन सक्छ। भविष्यमा पुरुष वा महिला स्वरूपका अत्यन्त विकसित मानवरूपी एआई रोबोटले मानिससँग स्वाभाविक संवाद गर्न, उसको स्वभाव र भावना बुझ्न, दैनिक जीवनमा साथ दिन, वृद्धावस्थामा हेरचाह गर्न र एक्लोपन कम गर्न सके भने मानिससँग सम्बन्ध र जीवनसाथीका नयाँ विकल्प हुन सक्छन्। यसको अर्थ विवाह समाप्त हुन्छ भन्ने होइन। प्रेम, परिवार र मानव सम्बन्धको आफ्नै विशेष महत्त्व रहिरहन्छ। तर केवल एक्लोपनको डर, आर्थिक सुरक्षाको आवश्यकता वा सामाजिक दबाबका कारण विवाह गर्नैपर्ने बाध्यता कम हुन सक्छ। मानिसले विवाह गर्न चाहे विवाह गर्न सक्छस नगर्न चाहे पनि प्रविधि र अन्य सामाजिक सम्बन्धको सहायताले अर्थपूर्ण जीवन बिताउन सक्छ।

अनि मानिसले कामै गर्नुपरेन भने उसले के गर्छन् त ? मानिस पैसा कमाउनका लागि मात्र सिर्जनशील हुँदैन। वैज्ञानिक जिज्ञासाका कारण अनुसन्धान गर्छ, कलाकार भावनाका कारण कला सिर्जना गर्छ, लेखक विचारका कारण लेख्छ र बच्चा कुनै तलब नपाई खेल्छ, सिक्छ र संसारबारे प्रश्न गर्छ। जीविकोपार्जनको बाध्यता कम भयो भने मानिसले परिवार, स्वास्थ्य, अनुसन्धान, कला, संगीत, साहित्य, खेलकुद, समाजसेवा, प्रकृति र नयाँ आविष्कारका लागि धेरै समय पाउन सक्छ। आज हामी आफ्नो जीवनको सबैभन्दा मूल्यवान् सम्पत्ति—समय—पैसासँग साटिरहेका छौँ। एआई रोबोटले यदि अनिवार्य श्रमबाट मानिसलाई मुक्त गर्‍यो भने यसको सबैभन्दा ठूलो उपलब्धि उत्पादन बढाउनु मात्र होइन, मानिसलाई उसको समय फिर्ता दिनु हुनेछ।

अवश्य पनि यो भविष्य निर्माण गर्न ऊर्जा, स्रोतको वितरण, एआईको स्वामित्व, सुरक्षा, गोपनीयता र प्रविधिबाट सिर्जित प्रचुरता सबै मानिससम्म कसरी पुर्‍याउने भन्ने प्रश्न समाधान गर्नुपर्नेछ। तर चुनौती छन् भन्दैमा अवसरलाई केवल डरको आँखाले हेर्नु उचित हुँदैन। मानव इतिहासमा प्रविधिले बारम्बार दुर्लभ वस्तुलाई सर्वसुलभ बनाएको छ। कुनै समय हवाई यात्रा विलासिता थियो, आज सामान्य छ। कुनै समय टेलिफोन दुर्लभ थियो, आज अरबौँ मानिसको हातमा अत्याधुनिक फोन छ। त्यस्तै एआई र रोबोट प्रविधिले भविष्यमा घर, खाना, यातायात, शिक्षा, स्वास्थ्य र अन्य सेवाको उपलब्धतामा पनि ऐतिहासिक परिवर्तन ल्याउन सक्छन्।

एलन मस्कको २०३६ को अनुमान सही समयमै पूरा हुन्छ कि हुँदैन, त्यो भविष्यले बताउने छ। तर २०३६ मा नभए पनि आगामी ३०–४० वर्षमा मानव सभ्यता यस्तो अवस्थातर्फ धेरै अगाडि बढ्न सक्छ जहाँ मानिसले जीविकोपार्जनका लागि अनिवार्य रूपमा काम गर्न नपरोस् र दैनिक जीवन चलाउन पैसा अहिले जति महत्वपूर्ण नहोस्। त्यसपछि हाम्रो मूल प्रश्न “एआईले मानिसलाई विस्थापित गर्छ कि गर्दैनरु” मात्र रहने छैन। प्रश्न हुनेछ—एआई रोबोटले मानिसले बाध्य भएर गर्नुपर्ने काम गरिदिएपछि मानव जीवन कति स्वतन्त्र, सिर्जनशील र अर्थपूर्ण बन्न सक्छ ?

यदि एक दिन एआईले सोचिदियो, एआई रोबोटले खेती गरिदियो, घर बनाइदियो, खाना तयार गरिदियो, यातायात चलाइदियो, उद्योग सञ्चालन गरिदियो, वृद्धावस्थामा साथ दियो र मानिसका आधारभूत आवश्यकता लगभग निःशुल्क पूरा गरिदियो भने हामीले फेरि सोध्नुपर्नेछ—काम किन गर्नुपर्‍योरु पैसा किन चाहियोरु सायद भविष्यमा मानव सभ्यताको सबैभन्दा ठूलो उपलब्धि धेरै पैसा कमाउनु होइन, पैसामाथिको निर्भरता नै समाप्त गर्नु हुनेछ। अनि एआई रोबोटको सबैभन्दा ठूलो सफलता मानिसलाई हटाउनु होइन, मानिसलाई अनिवार्य श्रम र आर्थिक डरबाट मुक्त गरी समय, स्वतन्त्रता, ज्ञान, सिर्जनशीलता र आफूले चाहेको जीवन बाँच्ने अवसर फिर्ता दिनु हुनेछ।

यदि एआई रोबोटले मानिसले गर्ने लगभग सबै काम गरिदियो भने मानिस अनिवार्य रूपमा अल्छी भएर मानव सभ्यता समाप्त हुन्छ भन्ने निष्कर्ष सही हुँदैन। बरु जीविकोपार्जनका लागि गर्नुपर्ने बाध्यकारी कामबाट मुक्त भएपछि मानिसले विज्ञान, अनुसन्धान, आविष्कार, कला, साहित्य, खेलकुद, परिवार, समाजसेवा र ब्रह्माण्डको खोजमा अझ बढी समय दिन सक्छ। एआई रोबोटले मानिसलाई निष्क्रिय बनाउनुको सट्टा सही रूपमा प्रयोग गरिएमा उसलाई आफ्नो रुचि र क्षमताअनुसार सिर्जनशील तथा अर्थपूर्ण जीवन बाँच्ने स्वतन्त्रता दिन सक्छ। त्यसैले एआई रोबोट मानव सभ्यताको अन्त्य होइनस श्रममा आधारित सभ्यताबाट ज्ञान, सिर्जनशीलता र स्वतन्त्रतामा आधारित नयाँ सभ्यतातर्फको यात्रा बन्न सक्छ।