अघिल्लो आइतबार दिउँसोको सन्दर्भ हो । टेक्ससको युलेसस्थित पशुपतिनाथ मन्दिरबाट बाहिरिन लागेको थिएँ । मुलढोका बाहिर एक दर्जन व्यक्तिहरु जम्मा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिषकुमार झा आउनु भएकोले सो पार्टीका शुभेच्छुकहरुको भीड थियो ।
म र्याकमा आफ्नो जुत्ता खोज्दै थिएँ । एकजना परिचित भाईले ‘रामचन्द्र भट्ट उहाँनै हो’ भनेर भीडमा कसैलाई चिनाए ।
उनले त्यति भन्दै गर्दा एकजना अर्का भाईले अलिक व्यङ्ग्यात्मक हाउभाउले टाउको हल्लाएर ए… भनेजस्तो व्यबहार गरे । ‘ए तपाईको समाचार पढ्दा त अलि आलोकाचो जेन्जीले लेखेको जस्तो लागेको थियो । पाको हुँनुहोदो रहेछ, त्यस्तो समाचार किन लेख्नुभएको ? तपाईले के आधारमा त्यो समाचार लेख्नुभयो ? एमाले भएर तपाईले हाम्रो वदनाम गर्ने अधिकार छैन’ अर्कोले अझै माथि उक्लिएर दुर्वाच्य बोले । समाचारबाट नाघेर उनले मलाइ एमालेको बिल्ला लगाउन भ्याए ।
विवाद हुँदै जाँदा मन्दिर दर्शनका लागि आएका र रास्वपाका गरि डेढ दर्जन मानिसहरु जम्मा भए ।
तपाईहरुका कुरा भनिसक्नुस् । अनि म अन्तिममा आफ्नो कुरा राख्नेछु मैले सम्झाउने प्रयास गरेँ ।
उनीहरुको व्यबहार र प्रस्तुति हेर्दा लाग्थ्यो कि रास्वपाको प्रवासी संगठनको भाँडभैलो र विवादको समाचार मैले लेख्नै हुन्थेन । उनीहरुबीचको विवाद मिडिया मार्फत बाहिर ल्याउनै हुँदैनथ्यो भन्ने उनीहरुको आशय बुझिन्थ्यो ।
घटनाक्रम यस्तो थियोः
डेढ महिना अघि रास्वपा निकटहरुको प्रवासी संस्था रास्वपा प्रवास विभाग अमेरिकामा ठूलो लफडा सुरु भयो । तल्लो सदनमा दुई तिहाइ बहुमत रास्वपाले ल्याएपछि सत्ता र पावरसँग निकट हुन चाहनेहरुको भीड बढ्यो ।
पहिले संस्थामा बस्न लजाउनेहरु नेतृत्व खोज्न थाले । प्रारम्भिक समय, जुन बेला रवि लामिछाने जेलमा थिए । अड्डासार गर्दै जेल फेरिन्थ्यो, त्यतिखेर यो संस्था प्रति चासो नदेखाउनेहरु पछिल्लो समयमा नेतृत्वको दावी, अध्यक्ष दिपक सुनुवारलाई घेराबन्दी गर्न थाले । जसका कारण सुनुवारले कार्यसमिति भंग गरेका थिए । कार्यसमिति भंग गर्ने अधिकार अध्यक्षलाई नभए पनि सुनुवारले ‘मर्ता तो क्या नहि कर्ता’ भनेजस्तै गरि भंग गरिदिए ।
त्यसपछि उसै त के निहुँ पाउँ भनेर मौकाको ताकमा रहेका संस्थाका अरु पदाधिकारीहरुले अध्यक्षको कार्य अवैधानिक भन्दै अध्यक्ष सुनुवारलाईनै पदच्यूत गरिएको घोषणा गरेका थिए ।
यो विवादमा केन्द्रले सुनुवारलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा सुनुवारले संस्थाभित्रको विवाद छताछुल्ल हुनेगरि लेखेर पठाएका थिए ।
हिमालयखबरमा प्रकाशित भएको उक्त समाचार प्रति रास्वपाका स्थानीय कार्यकर्ताहरुको ठूलो आपत्ति थियो । उनीहरुको भनाई यो कुनै समाचारको विषयनै होइन भन्ने थियो । तत्कालिन सचिव एवं हालका कार्यवाहक अध्यक्ष बनेका चेतराज उपाध्यायलाई मनोनित गरेर संस्थामा भित्राइएको र मनोनित गर्ने अध्यक्ष सुनुवारलाईनै बर्खास्त गर्ने कार्यमा संलग्न भनेर समाचार स्रोतले दिएको सूचनाका आधारमा तयार भएको थियो ।
समाचार लेखेको समयमा अध्यक्षको नियुक्तिका निम्ति काठमाडौं पुगेका उपाध्यायले उतैबाट मेरो ह्वाटसएपमा फोन गरेर धम्कीको प्रयास गरे । नेपालमा भए त हातपात गर्लान् कि भन्ने थोरै भएपनि त्राश हुन्थ्यो । अमेरिकामा हातपात गर्ने आँट कसैले गर्न सक्दैनन् । किनकी हातपातमा उत्रिनेको बाँकी जीवन पत्रु हुने कारणले मौखिक रुपमा जतिनै गाली गरेपनि त्यो आँट कसैको हुँदैन । उनको धम्कीको पर्वाह नगरि सम्झाउने, न्यूज बुझाउने र उनी प्रति कुनै पूर्वाग्रहले समाचार नलेखिएको प्रष्टाएको थिएँ ।
डेढ महिना पछि मन्दिरको ढोकामै भेट भएका उपाध्यायले फेरि पुरानै कुरा निकाले । त्यहाँ एक दर्जनको संख्यामा रहेका उनीहरुले बाँसको झाङ्गमा सारउ बासे जसरी नानाभती प्रश्न मात्र गरेनन् कि ह्यारासमेन्टको प्रयास समेत गरे । त्यहाँ थुप्रै अपरिचित अनुहार थिए । परिचितमा रास्वपाकै स्थानीय नेता केशव थपलिया, आशिष मिश्र, चेतराज उपाध्याय, चन्द्रकान्त उपाध्याय लगायत थिए । उनीहरु मध्य थोरैले समझदारीपूर्ण तर्क राखेका थिए भने धेरैे चाँही धम्काउने, तर्साउने रुपमा प्रस्तुत भएका थिए ।
ओहायो राज्य च्याप्टरको सभापति हुँ भन्ने एकजनाले चाहि ‘मान्छे चाहि पाको, समाचार चाहि जेन्जी’ भन्दै उमेरजन्य ह्यारासमेन्ट गरे ।
समाचारको शिर्षकमा रहेको भाँडभैलो शव्द उनीहरुलाई पाच्य नभएको बताए । मैले दुई पक्षबीचको विवादले एक अर्कालाई कारवाही, निष्कासन हुनु अनि केन्द्रले अध्यक्षलाई चौबीस घण्टे स्पष्टीकरण सोध्नुले सो विषय न्यूजओर्दी रहेको अडान राखेँ ।
विवादकै भीडबीच नेपथ्यबाट स्वर सुनियो ‘बाह्र भाई नेपालमा छन् । तेह्रौँ भाई यहाँ रहेछ ।’ कस्ले भन्यो त्यो भीडमा ठ्याक्कै ठम्याउन सकिन । उनीहरुको तरिका, शैली, व्यबहारले ठेट्ना कार्यकर्ताको झल्को दियो । जोसँग विवेक पटक्कै हुँदैन, अरुका कुरा र तर्क सुन्ने धैर्यतानै छैन ।
‘जुनसुकै दलका पनि सकारात्मक कुरा मात्र लेखिदियो भने समाचार राम्रो हुन्छ । अलिकति क्रिटिकल र सत्य कुरा बाहिर ल्याइदिँदा नराम्रो समाचार भन्ने आरोप र सोचबाट तपाईहरु पनि मुक्त हुनुहुन्न । तपाईहरु पनि नेपालका अरु राजनीतिक दल जस्तै स्वभाव र चरित्रका धनी हुनुहुँदो रहेछ’ मैले जवाफ दिन नभ्याउँदै र मेरा कुरा पुरा नहुँदै उनीहरु अर्को कार्यक्रममा पुग्नुछ भन्दै मनिष झाको पछि लागेर गाडी चढे ।
नेपालमा हालै भएको आम निर्वाचनमा संसदको तल्लो सदन प्रतिनिधि सभामा दुई तिहाई बहुमत रास्वपाले पाएको छ । सोही अनुसार एकलौटी सरकार गठन गर्ने म्याण्डेट पनि जनताले दिएका छन् । तर त्यो दुई तिहाईको घमण्ड सात समुद्र वारिको अमेरिकामा पनि देखियो ।
रास्वपाका कार्यकर्ताहरुको त्यो दिनको गतिविधि र ह्यारासमेन्टले मलाई अढाइै दशक अघि माओवादीका कार्यकर्ताहरुले पत्रकारहरु माथि गर्ने व्यबहारको स्मरण गरायो । माओवादीहरुले कार्यक्रमस्थलमै त्यो समाचार किन यसरी लेखेको ? यसरी लेख्नुभयो भने त सोच्नुपर्छ हामीले पनि । साथीहरु रिसाएका छन् भनेजस्ता शव्द प्रयोग गरेर तर्साउँथे ।
समाचारको तथ्यमा भन्दा पनि भाषामा उनीहरुको आपत्ति हुन्थ्यो । उनीहरुको आशय अनुसारको भाषा र शव्द प्रयोग पत्रकारले गरेर समाचार लेखुन् भन्ने चाहना हुन्थ्यो माओवादीको ।
अहिले रास्वपाका नेता, कार्यकर्तामा त्यही र त्यस्तै आशय बुझ्न बुझ्न कुनै ‘रकेट साइन्स’ जान्न आवश्यक छैन । विशेषगरि रास्वपा अध्यक्ष रवि लामिछानेले निकालेको १२ भाईको भाष्य पछि रास्वपाका केन्द्रदेखि लिएर तल्लो तहसम्मका कार्यकर्ताहरु पत्रकारहरुको डिमोरलाइज गर्न तल्लिन देखिन्छन् ।
कमि कमजोरी औल्याएर लेख्ने सञ्चारकर्मी माथि रास्वपाका नेता, कार्यकर्ताहरु १२ भाई, १३ भाई भन्दै हल्का र छुद्र टिप्पणी गरिहाल्छन् ।
डेढ वर्ष अघि रास्वपाकै सांसद गणेश पराजुली आउँदा होस् या डा. तोसिमा कार्की आउँदा होस् उहाँहरुले भातृ संस्था प्रवासमा नखोल्ने घोषणा गर्नुभएको थियो । तर उहाँहरुको बोल्दै गर्दा निस्किएको थुकको छिटा सुक्न नपाउँदै अमेरिकामा गठन गरियो । अमेरिकामा मात्र नभै राज्यहरुमा च्याप्टर समेत गठन गरियो कांग्रेस, एमालेसँग प्रतिस्पर्धा गर्दै ।
शायद यस्तै बोली र व्यबहारको दोहोरो चरित्रका कारण स्वच्छ छवीका मनिष झा जस्तो व्यक्ति आउँदा पनि कार्यक्रममा देखिएको उपस्थितीलाई लिएर प्रश्न उब्जिएको छ । डा. कार्की आउँदा खचाखच भरिएको हल र अहिले पार्टी दुई तिहाई सहितको सरकारको समयमा पनि झा प्रमुख अतिथी हुनुभएको कार्यक्रममा देखिएको उदासिनतालाई लिएर रास्वपाका शुभचिन्तकहरुले स्थानीय नेतृत्व प्रति प्रश्न गरिरहेका छन् ।
टेक्ससमा निकै असल र मिलनसार डा. रविन पाठक च्याप्टर सभापति हुँदा सबैसँग समभाव, समदुरी राख्थे । धेरैलाई व्यक्तिगत फोन गरेर, निम्तापत्र पठाएर कार्यक्रममा निम्तो दिन्थे पाठक ।
तर उनलाई घेरावन्दी गरेर च्याप्टरबाट राजिनामा गर्न वाध्य बनाइयो । यसले पनि पछिल्ला दिनमा रास्वपाले गर्ने कार्यक्रमहरु फिक्का र चासो विहिन हुन थालेका छन् ।
उता भर्जिनियामा पुगेर झाले दोहोरो सुविधा नखोज्नुस् भनेर नेपाली समुदायलाई अर्ति दिएपछि त रास्वपाको नीति गैर आवासीय नेपालीप्रति के हो ? कसको नीति र भनाई आधिकारिक हो भन्ने विषयमा अन्यौल छाएको छ । झाले ‘विदेशको नागरिकता लिइसकेको छ भने नेपालमा पेन्सन त्याग्नुपर्ने’ धारणा राखेका थिए ।
गैर आवासीय नेपालीलाई हेर्ने सोचमा रास्वपाभित्र उदारवादी र अनुदारवादी दुई खेमा रहेको स्पष्ट महसुस गर्न सकिन्छ । सभापति रवि लामिछाने, परराष्ट्र मन्त्री शिविर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, सञ्चारमन्त्री बिक्रम तिमिल्सिना उदारवादी खेमामा छन् भने प्रधानमन्त्री बालेन्द्र साह लगायत उहाँको सल्लाहकार समुह अनुदारवादी क्याम्पको नेतृत्व गरिरहेको छ । क्याबिनेट सिस्टममा प्रं. मं. ले जे भन्यो अरु मन्त्रीहरु, सिस्टमले त्यही मान्नुपर्ने परिपाटीले गर्दा वंशजको नागरिकताको निरन्तरता त्यति सहज विषय छँदैछैन भन्ने संकेत प्रवासमा रहेका नेपालीहरुले बुझिसकेका छन् ।
रास्वपा अनुदारवादी राजनीतिक दल नहोस् । प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता जस्ता मौलिक हकलाई कुल्चने कुचेष्टा रास्वपाले गर्नु भनेको खुल्ला चरित्रमा पुगिसकेको समाजलाई वन्देज लगाउनु सरह हुनेछ । आलोचना सहन सक्ने र गल्ती कमजोरी स्विकार गर्न सक्ने र त्यसबाट शिक्षा लिएर सुधारमा लाग्ने हो भने रास्वपा प्रति कसैले शंका गर्ने छैनन् । तर लेखेकै निहुँमा गाली, दुर्व्यवहार, मौलिक हकको प्रयोगमा व्यवधान ल्याउन खोज्ने हो भने त्यसले निम्त्याउने चाहि विद्रोहनै हो ।












प्रतिक्रिया