अमेरिका समाचार

बोस्टनमा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि, पुरुषतर्फ राईलाई र महिलातर्फ सुनुवारलाई

बोस्टनमा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि, पुरुषतर्फ राईलाई र महिलातर्फ सुनुवारलाई


अमेरिका, बोस्टन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका, (एनआरएनए), म्यासाच्युसेट्स च्याप्टरले आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। अमेरिका भरी रहेका प्रवासी नेपाली खेलाडिहरुले भाग लिन पाउने गरी आयोजना गरिएको उक्त प्रतियोगिता, गत मार्च २९,२०२६ आइतवारका दिन बोस्टनमा सम्पन्न भएको हो।

Advertisement

प्रवासी नेपाली युवा तथा बालबालिकाहरुलाई शारीरिक तथा मानसिक विकासको महत्वपूर्ण पाटो खेलकुद तथा शारीरिक व्यायाममा आकर्षित गर्ने, सक्रिय बनाउने, प्रतिभाहरु प्रस्फुटन गर्ने अवसर जुटाइदिने, प्रतिभाहरुको पहिचान गर्ने र थप सक्रिय रहन प्रोत्साहन गर्ने प्रतियोगिताको मुख्य उद्देश्य रहेको थियो।

प्रतियोगिता पुरुष-पुरुषकाबीच र महिला-महिलाकाबीच छुट्टाछुट्टै भएको थियो। पुरुषतर्फको उपाधि पदम राई(न्यु योर्क)ले चुम्न सफल भएका थिए भने, महिलातर्फको उपाधि सोनिया सुनुवार(पेन्सलभेनिया)ले चुमेकी थिइन्।

प्रतियोगितामा, पुरुषतर्फको प्रतिस्पर्धामा एनजेल सुब्बा(न्यू योर्क) दोश्रो, पूर्ण राइ(केन्टकी) तेश्रो र सौरब बस्नेत (म्यास्याचुसेट्स) चौथो हुन सफल भए। त्यसैगरी, महिलातर्फको प्रतिस्पर्धामा कुसुम गुरुङ(म्यासाच्युसेट्स) दोश्रो, नयुमा राइ(पेन्सलभेनिया) तेश्रो र सङ्गिता अधिकारी(म्यासाच्युसेट्स) चौथो हुन सफल भएका थिए।

प्रतियोगितामा प्रथम हुनेलाई एकहजार डलर, दोश्रो हुनेलाई पाँच सय डलर, तेश्रो हुनेलाई तीन सय डलर र चौथो हुनेलाई दुइ सय डलर नगद पुरस्कारसहित प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिएको थियो। प्रतियोगितामा पुरुषतर्फ ४२ खेलाडिहरु र महिलातर्फ ३९ खेलाडिहरु प्रतिस्पर्धाका लागि खेल मैदानमा उत्रिएका थिए।

प्रतियोगिता आयोजक संस्था एनआरएनए, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष खुम गुरुङ(राजु)ले प्रतियोगिता निकै उत्साहजनक र रोमाञ्चक रहेको बताए। एनआरएनए, म्यासाच्युसेट्स च्याप्टरद्वारा अमेरिका भरी रहेका प्रवासी नेपालीहरुकाबीच आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताउदै च्याप्टर अध्यक्ष गुरुङले प्रतियोगितामा भागलिने खेलाडिहरु, रेफ्रीहरु, प्रायोजकहरु, च्याप्टर परिवार लगायत प्रत्यक्ष परोक्ष रूपमा सहयोगी भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्।

उनले आयोजित प्रतियोगिताबाट बहुआयामिक फाइदाहरु प्राप्त भएको महसुस भएको बताउदै आगामी दिनहरुमा पनि संस्थाले यस प्रकारका खेलकुदसंग सम्बन्धित प्रतियोगिताहरु प्राथमिकताका साथ आयोगना गर्दै जाने बताए।