ड्यालस (अमेरिका) । जनवरी अन्तिम साता संसारमा विरलै हुने एउटा म्याराथन दौड हुँदैछ । किन ‘विरलै’ भने यो दौड सात दिनको अवधिमा संसारका सातै महादेशमा हुनेछ । सात महादेशका सात स्थानमा हुने म्याराथन दौडमा सहभागी धावकहरु जमिनमा मात्र होइन जहाजमा पनि म्याराथन ढङ्गबाटै उँडेर भोलीपल्ट दौडिने स्थानमा पुग्नेछन् । त्यही दौडमा एकजना नेपालीमुलका व्यक्तिले सहभागिता जनाउदैछन् ।
नेपालको मध्य पश्चिम (हाल कर्णाली प्रदेश) को बीरेन्द्रनगर सुर्खेतमा जन्मिएर लामो समय नेपालगञ्जलाई कर्मभूमि बनाएका बालकृष्ण (बाल) जोशी यो सात महादेशीय म्याराथन दौडमा सहभागी हुँदैछन् । सात महादेशीय म्याराथनमा उनको सहभागिता र समर्पणलाइ अहिले निकै चासोका साथ नेपाली समुदायले हेरिरहेको छ ।
‘म भन्दा पहिले एकजना नेपालीमुलका व्यक्तिले सहभागिता जनाइसक्नु भएको रहेछ । यसकारण म यस्तो दौडमा सहभागी हुने पहिलो नेपालीमुलको भने भइन, तर अन्टार्कटिकाको हिउँदेखि लिएर अष्ट्रेलियाको गर्मीसम्म नेपाली पोशाक लगाएर दौडिने भने म पहिलो बन्नेछु’ उनले हिमालयखबरसँगको कुराकानीमा भने ।
जनवरी ३० तारिक विशेष विमानद्वारा म्याराथन धावकहरुलाई मानव वस्ती विहिन अन्टार्कटिकामा अवतरण गराइनेछ । त्यहाँ भोलीपल्ट अर्थात ३१ तारिकका दिन धावकहरुले त्यहाँ म्याराथन दौड पुरा गर्नेछन् । त्यस लगत्तै फेरि धावकहरुलाई अफ्रिकाको सबैभन्दा दक्षिणी शहर केपटाउन पुर्याइनेछ । केपटाउनमा फेब्रुवरी १ तारिक धावकहरुले म्याराथन दौडिनेछन् । त्यसपछि फेब्रुवरी २ तारिक अष्ट्रेलियाको पश्चिमी शहर पर्थमा धावकहरु पुग्नेछन् र दगुर्नेछन् ।
भोलीपल्टै फेब्रुवरी ३ तारिक सहभागीहरु एसियाको दुबई आइपुग्नेछन् । पाँचौ रेस फेब्रुवरी ४ तारिक स्पेनको मेड्रिडमा हुनेछ । यो दिन त्यहाँ दौडेर सहभागीहरु ५ तारिकमा दक्षिण अमेरिकाको ब्राजिल पुग्नेछन् । सातौ अर्थात अन्तिम म्याराथन रेस चाहि फेब्रुवरी ६ तारिक अमेरिकाको फ्लोरिडाको मायामीमा हुनेछ ।
सहभागीहरु एउटा दौड समाप्त हुनासाथ विमानस्थल पुग्ने र अर्को म्याराथनको गन्तव्यमा पुग्नासाथ दौड सुरु गरिहाल्ने गरि तय भएको छ । यसले गर्दा सहभागीहरुको यो प्रतियोगिता घुम्ने, मनोरञ्जन गर्ने भन्दा विल्कुल फरक हिसाबले योजना तयार पारिएको छ । प्रतियोगीहरुलाई सुत्ने समयको समेत व्यवस्था छैन ।
दौडका सहभागीहरुका लागि विशेष रुपमा चार्टर गरिएको विमानबाट एक स्थानबाट अर्को स्थानमा लगिनेछ । एउटा गन्तव्यबाट अर्कोमा नपुगन्जेलसम्म उनीहरुले जहाजमा मात्र सुत्न पाउनेछन् । अर्थात यो म्याराथनमा गन्तव्यमा पुग्ने, होटलमा बस्ने, सुत्ने समय छुट्याइएको छैन ।
सात दिनमा सहभागीहरुले सबैभन्दा कम तापक्रम माइनस १० डिग्री सेल्सियसको अन्टार्कटिकामा दौडिनेछन् । केपटाउन, पर्थ, दुबई, ब्राजिल र मायामीको तापक्रम भने दौडको दिनमा २५ डिग्री सेल्सियस हुने अनुमान छ । मेड्रिडमा भने सो दिन ५ डिग्री सेल्सियस तापक्रम हुने अनुमान आयोजकले गरेका छन् ।
सहभागीहरु जनवरी २८ तारिकमा दक्षिण अफ्रिकाको केपटाउनमा जम्मा भएपछि यो म्याराथन रेसको सुरुवात हुनेछ । केपटाउनबाट जनवरी ३० तारिकमा धावकहरुलाई अन्टार्कटिका विशेष विमानबाट पुर्याइनेछ । यसपटकको म्याराथन दौड अमेरिकाको मायामीमा आइपुगेर अन्त हुनेछ ।
सात महादेशीय म्याराथन दौड केही वर्षदेखि निरन्तर हुँदै आएको छ । यस पटकको प्रतियोगितामा संसाभरिका बिभिन्न देशबाट ५४ जना सहभागीहरु दर्ता भएका छन् । यसमा बेल्जियम, बेलायत, अमेरिका, स्पेन, चीन, भारत, पोर्चुगल, अष्ट्रेलिया, क्यानडा, युक्रेन, नर्वे, अष्ट्रिया, डेनमार्क, हङ्गकङ्ग, न्यूजील्याण्ड, रोमानियाका धावकहरु सहभागी छन् । जोशीको सहभागिता अमेरिकी नेपालीका रूपमा रहेको छ ।
‘टेक्निकल्ली मैले अमेरिकाको प्रतिनिधित्व गरेको छु, तर म जन्मभूमिको सम्झनामा दुई देशको झण्डा सँगै लिएर अनि नेपाली पोशाक दौरा सुरुवालमा दौडिने योजनामा छु’ जोशीले भने ।
नेपालमा छँदा पत्रकारिता, सामाजीक क्षेत्रमा परिचय बनाएका जोशीले अमेरिका आएपछि बैंकिङ्ग क्षेत्रमा कार्यरत छन् । नेपाली संघसंस्थाहरु, चेम्बर अफ कमर्स लगायतका कृयाशील जोशी बैंकको सिनियर पोजिसनमा कार्यरत छन् । अहिले जोशीको परिचय फेरिएर म्याराथन धावकका रुपमा पहिचान बनेको छ । टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बसोबास गर्दै आएका जोशी विगत केही वर्षदेखि निरन्तर दौडमा अभ्यासरत छन् ।
अमेरिकाका बिभिन्न स्थानहरुमा हुने म्याराथन, हाफ म्याराथनहरु उनले केही समय यता कुनै पनि नछुटाइ लगातार सहभागिता जनाउँदै आएका छन् । वान स्टेप फाउण्डेसन स्थापना गरेर त्यस मार्फत दौड लगायत अमेरिका र नेपालमा रहेका परोपकारी संस्थाहरुलाई फण्ड जुटाउन कृयाशील छन् उनी ।
एउटा फूल म्याराथन दौडको दूरी २६ दशमलव २ माइल (४२ दशमलव १९ किलोमिटर) हुन्छ । सात महादेशका सातवटा म्याराथन पुरा गर्दा धावकहरुले कुल एकसय ८३ दशमलव ४ माइल अर्थात २९४ किलोमिटर दौडिनेछन् । रातभरिको अनिद्रा, फरक भूगोल, अलग्गै मौसमका बीच सात दिनमा सात वटा म्याराथन दौड आफैँमा चुनौतिपूर्ण सहभागिता हो । यही चुनाैतिपूर्ण भएकै कारण अहिलेसम्म पाँचसय भन्दा बढीले यो दाैड पुरा गर्न सकेका छैनन् ।
‘मलाई पछिल्ला केही समययता दौडमा यति रस बस्यो कि, नयाँ खालको केही गरौँ भन्ने चाहनाले यो सात महादेशको चुनौतिपूर्ण म्याराथनमा सहभागी हुन प्रेरित गरेको हो’ जोशीले भने ।
सात महादेशीय म्याराथनमा सहभागितामा जोशी असाध्यै उत्साहित छन् । अब चार हप्ता र केही दिनमात्र बाँकी छ यो म्याराथनका निम्ति ।
गत वर्ष उनले नेपालमा हरेक वर्ष मे महिनामा हुँदै अाएको एभरेष्ट म्याराथनमा समेत सहभागीता जनाएका थिए ।
जोशीले आफ्नो शरिर तन्दुरुस्त राख्न मात्र दौडिएका छैनन् । उनी भन्छन्–‘यो म्याराथनमा म दौडिएपछि नेपालका तीनहजार स्कुल पढ्ने छोरीहरुलाई छात्रवृत्ति र डा. सन्दुक रुइतसँगको सहकार्यमा एकहजार जनाको आँखाको सर्जरी गरेर दृष्टि दिने योजनामा छु । त्यस्तै अमेरिकामा पनि स्वास्थ र बालबालिकाको क्षेत्रमा सहयोग गर्ने तयारीमा छु ।’











प्रतिक्रिया