ड्यालस (टेक्सस) । नेपाली जनसम्पर्क समिति अमेरिका अन्तरगतको ड्यालस फोर्टवर्थ च्याप्टरको नेतृत्व युवा पुस्ताका उज्जल खत्रीले गर्ने भएका छन् ।
११ वर्ष अघि भएको तेस्रो अधिवेशन पछि शनिबार चौथो अधिवेशन भएको हो । सन् २०१४ मा जनसम्पर्क समितिको अधिवेशन भएयता अधिवेशन, सम्मेलन ठप्प भएका थिए । शनिबारको अधिवेशनले प्रवासका नेपाली कांग्रेसमा आवद्ध कार्यकर्ता र शुभचिन्तकहरु उत्साहित थिए ।
जनसम्पर्क समिति डिएफडब्लु च्याप्टरको चौथो अधिवेशनले खत्रीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । ड्यालसमा युवा पुस्तामाझ निकै परिचित र सकृय खत्रीको नेतृत्वले प्रवासमा जनसम्पर्कको सकृयता बढ्ने आशा अधिवेशनका उपस्थितहरुले लिएका छन् ।
निर्विरोध चयन भएका पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः मधुर खरेल, आकाश अधिकारी र राजु कोइराला चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा विष्णुकुमार गिरी, रमेश न्यौपाने, दीपक थपलिया, कृष्ण प्रसाई, कविराज कार्की, सगुन अधिकारी, विष्णुप्रसाद ढकाल, होमप्रसाद थपलिया र विनय खतिवडा निर्विरोध चयन भएका छन् ।
त्यसअघि भएको चौथो अधिवेशन उदघाटन कार्यक्रममा वक्ताहरुले जनसम्पर्क समितिलाई राजनीतिक भातृसंस्थाको रुपमा मात्र हेरिनु अन्यायपूर्ण हुने उल्लेख गर्दै सामाजीक क्षेत्रमा समेत संस्थाले प्रवासको नेपाली समुदायलाई ठूलो सहयोग गरिरहेको चर्चा गरे ।
अधिवेशनको उदघाटन नेपाली कांग्रेसका अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तरगत रहेको सिद्धान्त आदर्श कार्यान्वयन समितिका संयोजक प्रमुख हरिहर विरहीले गरेका थिए ।
प्रमुख अतिथीको रुपमा विरहीले नेपालको प्रजातान्त्रिक पद्धतीनै के हुने ? कसो हुने भन्ने बारेमा चिन्ता बढिरहेको समयमा कांग्रेस र प्रजातन्त्र प्रति जागरुक बनाउन यस्ता अधिवेशनहरु आवधिक रुपमा हुनुपर्नेमा जोड दिए । नयाँ नेतृत्वले सुस्ताएको पार्टी नेतृत्वलाई ऊर्जा थप्ने चर्चा गर्दै विरहीले देशमा लोकतन्त्र, बहुदलीय प्रजातन्त्रको रक्षाको लागि फेरि एकजुट हुनुपर्ने देखिएको समेत बताए ।
जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ च्याप्टर अध्यक्ष ज्ञानेन्द्र कार्कीको सभापतित्वमा भएको कार्यक्रममा पूर्ब अध्यक्ष विष्णु सुवेदी, एनआरएनका वरिष्ठ उपाध्यक्ष सुुनिल शाह, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, एनआरएन अमेरिकाका अध्यक्ष विकास उप्रेती, जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष भगवान मैनाली, संस्थापक सुन्दर कर्माचार्य, युलेस सिटीका मेयर प्रोटेम टीका पौडेल, सुभेन्द्र रानाभाट, अर्जुन बम लगायतका वक्ताहरुले विपी कोइरालाले प्रवासमा रहेका नेपालीलाई प्रजातान्त्रिक आन्दोेदनमा जागरुक बनाउनका लागि गठन गर्नुभएको जनसम्पर्कको महत्व अझै सान्दर्भिक भएको उल्लेख गरे ।
सचिव दिनेश शर्माको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा अध्यक्ष कार्कीले समाज जोड्न र समुदायलाई एकीकृत गर्न जनसम्पर्कले भूमिका खेलिरहेको स्मरण गरे ।

निर्विरोध रुपमा चयन भएका पदाधिकारीहरुलाई शपथग्रहण तथा पदभार ग्रहण कार्यक्रम शनिबारनै सम्पन्न भएको छ ।
तीसवटै च्याप्टरको अधिवेशन एकसाथः
नेपाली कांग्रेस केन्द्रिय कार्यालयको निर्देशन अनुसार जनसम्पर्क समितिहरुको अधिवेशन डिसेम्बर ३० भित्र गरिसक्न भनिएको छ । सो अनुसार अमेरिकाका बिभिन्न राज्यहरुमा रहेका ३० वटै च्याप्टरका अधिवेशन शनिबार एकसाथ सम्पन्न भएका हुन् । जनसम्पर्क समिति अमेरिकाको अधिवेशन भने एकसाता पछि डिसेम्बर २७ मा गर्ने निर्णय भएको छ ।
बिभिन्न स्थानमा रहेका हिमालय खबरका प्रतिनिधिहरुले पठाएको समाचार विवरण अनुसार जनसम्पर्क समिति वेष्ट टेक्ससको अध्यक्षमा हरिप्रसाद ढकाल चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा ज्ञानेन्द्र घलान तामांग, सचिवमा हरि खनाल र कोषाध्यक्षमा शिला घिमिरे चयन भएका छन् । केन्द्रीय प्रतिनिधिमा हरि ढकाल, प्रविण घिमिरे, रामराज पोखरेल, प्रेम पाठक लगायत १२ जना छानिएका छन् ।

त्यस्तै जनसम्पर्क समिति सेन्ट्रल टेक्ससमा विनोद श्रेष्ठ, कान्सस च्याप्टरमा फिलिपी केसी, नर्दन क्यालिफोर्निया च्याप्टरमा हरि भट्ट, मेरिल्याण्ड च्याप्टरमा नेत्र केसी, अस्टिन च्याप्टरमा कोशल यादव चयन भएका छन् ।
अधिवेशन सम्पन्न भएका अन्य च्याप्टरहरुको नेतृत्वको नामावली प्राप्त भएपछि हिमालय खबरले अपडेट गर्दै जानेछ ।











प्रतिक्रिया