नेपालमा झण्डै ४० घण्टा भित्र भएका घटनाक्रमले अब देशमा के हुन्छ भन्ने प्रश्नलाई गम्भीर बनाइदिएको छ। लामो समयदेखि युवापुस्तामा पलाउँदै आएको असन्तुष्टि अन्ततः सडकमा विस्फोट भएको हो। तर पछिल्ला केही घटनाक्रमले देश नियन्त्रणबाहिर जाने हो कि भन्ने त्रास पनि बढाएको छ।
चुनावमार्फत सत्तामा पुगेका प्रमुख राजनीतिक दलहरूले समयमै असन्तुष्टि बुझेर सम्बोधन गरेको भए यो अवस्था आउने थिएन। बौद्धिक वर्गले वर्षौंदेखि चेतावनी दिँदै आएको थियो—“देशको अवस्था कुनै पनि बेला बंगलादेशको जस्तो हुन सक्छ।” दुर्भाग्यवश, अहिले हाम्रो अवस्था त्यसभन्दा पनि नियन्त्रणबाहिर पुगेको देखिन्छ।
युवाहरूले नयाँ विकल्प, सुशासन र जवाफदेही नेतृत्व खोजिरहेका थिए। त्यसकै संकेत काठमाडौंमा बालेन शाहलाई, चितवनमा रवि लामिछानेलाई जिताएर दिएका थिए। तर, कांग्रेस, एमाले, माओवादी र ती दलका नेताहरूले जनताको संकेतलाई गम्भीरतापूर्वक लिएनन्। बरु जसरी पनि सत्ता चल्छ भन्ने मानसिकता राखेर काम गरे। असफलताका कारणलाई नबुझी, आफ्ना स्वार्थी कार्यकर्ता र विचौलियामार्फत सत्ता चलाउन खोजे। सामाजिक सञ्जालमा युवाले पोखेका असन्तुष्टिका आवाजलाई समेत बेवास्ता गरियो।
राजनीतिक दलहरूले समाजका हरेक अंगलाई राजनीतिकरण गरेका छन्। नियुक्तिमा योग्य होइन, आफ्ना मान्छेहरूलाई राखियो। ती नियुक्तिहरूले देशका लागि काम गर्नुभन्दा निजी स्वार्थ मात्र पूरा गरे। मन्त्रीका सचिवालयदेखि सल्लाहकारसम्म आफन्त र चाकडीबाजहरूले कब्जा गरे। लोकतन्त्र दलभित्रै हराउँदै गयो। यस्ता कारणले आज सत्ता भित्र भागाभाग मच्चिएको हो।
अब एउटा अध्याय सकिएको छ। पदमा बसिरहन चाहने असक्षम नेताहरू असान्दर्भिक भइसकेका छन्। उनीहरू इतिहासतिर धकेलिइसकेका छन्। अब देश सम्हालेर अघि बढ्नुपर्छ। यो जिम्मेवारीमा जेन जी पुस्ताले नेतृत्व लिनै पर्छ। आन्दोलन एउटा चरण हो, तर प्रजातन्त्र भने रहिरहनै पर्छ। प्रजातान्त्रिक प्रणालीलाई पुनः मार्गमा लैजानुको विकल्प छैन।
देशका अगाडि थुप्रै चुनौती छन्—सुशासन, पुनर्निर्माण, सुधार र विकास। यी चुनौतीलाई सही तरिकाले सम्बोधन नगरे लामो समयसम्म अस्थिरता कायम हुनेछ, जुन न त युवाको हितमा हुन्छ, न त देशकै लागि। त्यसैले अहिले विश्वासिलो र युवापुस्ताले स्वीकार गर्ने नेतृत्व आवश्यक छ। उदाहरणका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्की वा त्यस्तै निष्पक्ष व्यक्तिलाई संकट व्यवस्थापनको जिम्मेवारी दिएर सकेसम्म छिटो चुनाव र पुनर्निर्माण सुरु गर्नुपर्छ।
जति छिटो देशले राजनीतिक निकास पाउँछ, त्यति छिटो आर्थिक उन्नतिको बाटो खोलिन्छ। यही चाहना देशभित्रका मात्र होइन, विदेशमा रहेका नेपालीहरूको पनि हो। आत्तिनुपर्ने अवस्था होइन—जसरी जेन जी पुस्ताले राजनीति उल्टाइदियो, त्यसरी नै देशको विकासलाई द्रुत गतिमा अगाडि बढाउने सामर्थ्य पनि उनीहरूसँग छ। अब यो प्रमाणित गर्ने समय आएको छ।













प्रतिक्रिया