देश केही वर्षयता जसरी चलिरहेको थियो, त्यसप्रति आम नागरिक असन्तुष्ट थिए। युवा पुस्ता झन् बढी असन्तुष्ट थियो। सत्ता र शक्तिसँग नजिक रहेर फाइदा लिने जमातलाई मात्रै सबै ठीकठाक जस्तो देखिन्थ्यो। कुनै पार्टीसँग आबद्ध भएर असक्षमहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिइएको थियो। राज्यका विभिन्न तहमा नियुक्ति पाएका थिए।
जिम्मेवारी पाउनुमा समस्या थिएन तर, नियुक्त हुनेहरूले देशका लागि काम गर्नेभन्दा आफ्ना स्वार्थ कसरी पूरा गर्ने भन्नेमा मात्रै ध्यान दिएका थिए। आम नागरिकले त्यो देखिरहेका थिए, भोगिरहेका थिए। जति आवाज उठाए पनि केही नहुने देखेपछि बौद्धिक वर्ग मौन जस्तै थियो। पार्टीका स्वार्थी कार्यकर्ता र विचौलियाबाट बौद्धिक जमात दिक्क भइसकेको थियो। विदेशमा बस्ने नेपालीहरू समेत सत्तारूढ नेताहरूबाट चिढिएका थिए। समग्रमा असन्तुष्टिको बारुद तयार भइसकेको थियो। तर, सरकार, राजनीतिक दलका नेता, कर्मचारी प्रशासन र सुरक्षा निकायले त्यसलाई बुझ्नै चाहेनन्, सुधार गर्ने तत्परता देखाएनन्।
मोटर वा मोटरसाइकल नम्बर प्लेट लिनाको सास्ती, मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएर भाग्दा समेत केही कारबाही नहुनु जस्ता घटनाप्रति सामाजिक सञ्जालमा उठेका आवाजलाई सत्तामा बस्नेहरूले बेवास्ता गरेका थिए। त्यही बीचमा दुई दर्जनभन्दा बढी सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले आगोमा घ्यू थप्ने काम गर्यो। जे हुनु हुँदैनथ्यो, त्यही भयो। कति युवाको मृत्यु भयो भनेर लास गन्नुपर्ने अवस्था आयो। यति ठूलो दमन गर्नु हुँदैनथ्यो। सरकारले जुन प्रकारको दमन गर्यो, त्यसले पनि देखाउँछ – सत्तामा हुनेहरूलाई आम नागरिकको आक्रोशप्रति कुनै चासो नै रहेनछ।
नेता र कर्मचारी, उनका परिवारको विलासी जीवनशैलीप्रति पनि प्रश्न उठिरहेको छ। राजनीतिक नेताका नाममा फाइदा लिनेहरूलाई आम नागरिकले मन पराएका छैनन्। सत्तामा हुनेहरूलाई लागेजस्तो छ – जे गरे पनि नागरिक सहन्छन्।
काठमाडौं–तराई जोड्ने द्रुतमार्ग जम्मा करिब ७० किलोमिटरको छ। १० वर्षभन्दा बढी भइसकेको छ, अझै बन्न सकेको छैन। नारायणघाट–बुटवल सडकमा यात्रा गर्नेहरूले सत्तामा बस्नेहरूलाई कैयौँ पटक सरापेका छन्। केही विकास भए पनि देशमा सुशासनको व्यापक अभाव छ। तर, सत्ता र शक्तिमा हुनेहरूलाई खासै फरक परेको छैन।
सोमबारको घटनाले देश ठूलो संकटमा पुगेको छ। आक्रोश घटाउने काम सरकारले गरेको छैन। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री यत्रो ठूलो घटना हुँदा पनि गैरजिम्मेवार ढङ्गले बोलिरहेका छन्। भोलि बिहान देशमा के हुन्छ भन्ने त्रास बढेको छ। यो संकटबाट पार पाउन, देशलाई यो अवस्थामा पुर्याउने नेतृत्वले राजनीति छोड्नुको विकल्प छैन। तत्काल सत्ताको जिम्मेवारी सक्षम व्यक्तिको हातमा दिनुपर्छ।
दोस्रो सोमबार फेरि सडकमा ठूलो जमात आउँछ भने पनि यो नेतृत्वविहीन हुनेछ। केही महिना अघि सडक आन्दोलनबाट व्यवस्था परिवर्तन भए पनि त्यसपछि बनेको स्वतन्त्र सरकारले समेत संकट टार्न हम्मे–हम्मे परेको छ। त्यसैले सडकमा उठेको जेन जी पुस्तालाई सम्हालेर अघि बढाउनु पर्छ। यसले मात्र वर्तमान संकटबाट देशलाई पार पाउन सक्छ।
सोमबारको जनधनको क्षतिका जिम्मेवार सत्तामा बस्नेहरू नै हुन्। असक्षम कर्मचारी प्रशासन हो। विचौलियाहरू हुन्। सत्ता नजिक रहेर गलत तरिकाले कमाउनेहरू हुन्। तपाईँहरूबाट अब देशको पार लाग्दैन। कृपया, यसभन्दा बढी क्षति हुन नदिनुहोस्।












प्रतिक्रिया