भर्जिनियाको मनाससमा नेपाली महिला ममता काफ्लेलाई उनकै पतिले घरमै हत्या गरेको आशंका गरिएको छ । ममताका पति नरेश भट्टले एक वर्षीय छोरीकी आमा श्रीमती ममताको निकै विभत्स रुपमा हत्या गरी प्रमाण लुकाएको शंका प्रहरीले गरेको छ ।
हत्या भएको करिब तीन सातापछि विहीबार नरेशलाई प्रहरीले शंकास्पद अभियुक्तका रुपमा लिई पक्राउ गरेको थियो । प्रहरीले तयार गरेको विवरणमा पनि जुलाई ३० मै ममताको हत्या घरभित्रै भएको र प्रमाण लुकाईएको जनाएको छ ।
उच्च डिजीटल र फोरेन्सिक प्रविधि प्रयोगवाट गरिएको अनुसन्धानमा केही रगतका टाटाहरु बाथरुम र कोठामा भेटिएको अनौपचारिक रुपमा सार्वजनिक विवरणले देखाएको छ । बेडरुममा समेत रगतका टाटाहरु भेटिएको जनाईएको छ ।
शंकास्पद अभियुक्त नरेशले जुलाई ३० मा नजिकको वालमार्टबाट तीनवटा चक्कु किनेको, सरसफाई गर्ने विभिन्न समग्रीहरु किनेको अनुसन्धानमा देखिएको छ । हत्यापछि प्रमाण नष्ट गर्न ती सरसफाई सामग्रीहरूको प्रयोग गरिएको प्रहरीको दाबी छ ।
यस आधारमा अभियुक्तले घरमै ममताको हत्या गरेको हुन सक्ने प्रमाण देखिएका हुन् । अहिलेसम्म अभियुक्तले अपराध स्विकारेका छैनन् । अभियुक्त नरेश जमानतमा छुट्न नपाउने गरी अहिले प्रहरीले हिरासतमा छन् । प्रहरीले यो मुद्दा भोली शुक्रबार अदात लैजाने तयारी गरेको छ ।
ममताको शरीर भने अहिलेसम्म भेटिएको छैन । शंकास्पद अभियुक्त नरेशले पनि प्रहरीलाई यसबारेमा जानकारी दिएका छैनन् ।यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नाबालक छोरीको हेरविचारका लागि नियम अनुसार समाजिक सुरक्षा संस्थामा जिम्मा लगाईएको छ । यसैबीच ममताका माइती परिवारका सदस्यहरु अमेरिका आउने तयारीमा रहेको बताइएको छ ।
नेपाली समुदाय स्तब्ध
यो विभत्स घटनाले अमेरिका बस्ने नेपाली समुदाय स्तब्ध भएको छ । कैयौंले समाजिक संजालमा समस्या लुकाउनु भन्दा नियम अनुसार समाधानतिर लाग्नु नै उचित हुने स्टाट्स लेखेकाछन् ।
पनौतीस्थित समान्य परिवारबाट आएकी ममताले फेसबुकको चिनजानका भरमा नरेशसंग बिबाह गरेकी थिईन्। ममताको परिवारको पनौतीमा चिया/तरकारी पसल रहेको बताइन्छ। अभियुक्त नरेशले भने अमेरिकी सेनामा काम गरेर छिट्टै अवकास लिएका थिए । सेनामा रहंदा उनले अफगानिस्तानमा पनि सेवा गरेको बताईएको छ।
अमेरिकाको नियम अनुसार सेनामा भर्ना भएपछि सजिलै अमेरिकाको नागरिकता पाइन्छ । श्रीमती लगायत परिवारका सदस्यलाई पनि अमेरिका ल्याउन पाईन्छ ।
ममतालाई लोग्ने नरेश र उनको परिवारले विभिन्न प्रकारले पीडा दिने गरेको परिवार निकटले बताएकाछन् । पेशाले नर्स रहेकी २८ वर्षीय ममताले पनि केही महिना अघि पतिले घरेलु हिंसा गर्ने हुँदा कसरी अलग हुन सकिन्छ भन्ने खालको स्टाटस लेखेकी थिईन । अमेरिकाका ममताका माइतीतिरका परिवारका निकट कोही पनि थिएनन्।
अमेरिकामा काम, परिवार हेरचाह सजिलो हुँदैन । नाबालक सन्तान छन भने त झनै कठिन हुन्छ । परिवारका सदस्यहरूबीच राम्रो समन्वय भएन भने झनै कठिन हुन्छ ।
अहिले नेपाली समुदायले समाजिक सञ्जालमा समाज, परिवार भन्दै हिंसा सहेर बस्न नहुने सुझाव साझा गर्न थालेका छन् । ‘मन मिल्दैन भने अमेरिका हो अलग भएर पनि बस्न सकिन्छ’, धेरैले यही आशयका स्टाटस लेखेका छन् ।
एक बर्ष अघि टेक्ससको डलासमा कृष्ण लामिछानेले आत्महत्या गरेका थिए भने केही महिना अघि चर्चित रक्तदाताले पनि आत्महत्या गरे । ती दुबै घटना पनि घरेलु हिंसासँग सम्बन्धित थिए । नेपाली समुदायमा परिवारिक बेमेल र समस्या वढ्दै गएकाले यस बारेमा बहस शुरु भएको हो ।
ममताका बारेमा अमेरिकाका संचार माध्यमले पनि चासोका साथ समाचार दिएका थिए । सीएनएनले बालककी आमा ममता हराएको बारेमा लामो समाचार दिएको थियो भने अन्य प्रमुख मिडियाहरुले समेत ममता हराएदेखि नै खोजी कार्यका लागि नेपाली समुदायका गतिविंधिहरुलाई सघाईरहेका थिए। स्थानीय प्रहरी र प्रशासनले पनि यो घटनालाई महत्वका साथ अनुसन्धान गरिरहेको छ । केही दिन यता नियमितरुपमा जानकारीहरु पनि दिईरहेको छ ।
अदालतमा प्रहरीले अभियोग पत्र वुझाएको छ । त्यहाँ पनि घर मै हत्या गरेर शरीर घिसार्दै बाथरुमसम्म लगेको बताइन्छ । स्थानीय नेपाली संचारकर्मी गुणराज लुइँटेलले समाजिक संजालमा राखेको विवरण अनुसार अभियुक्त नरेश अदालतमा उपस्थित हुँदा टुलुटुल सुनेर बसे । आफ्नो कुरा वकिल मार्फत मात्र भन्ने बताएर मौन वसे । अदालतले अभियुक्तलाई वकील राख्ने सुविधा दिइएको थियो । अदालतमा उपस्थित हुनेहरूका अनुसार नरेशको हाउभाउले उनमा खुंखार हत्याराको जस्तो चालढाल देखाएका थिए ।
प्रतिक्रिया