चुनावका प्रारम्भिक नतिजाले देशले युवा नेतृत्व पाउने लगभग निश्चित देखिएको छ। ३६ वर्षीय बालेन (बालेन्द्र शाह) केही दिनभित्रै प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ। यो चुनावको सन्देश पनि बालेनलाई नेतृत्व दिनुपर्छ भन्ने स्पष्ट भएकाले यसमा कुनै खेल हुने सम्भावना अहिलेलाई लगभग देखिँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचा पूरा गर्दै संविधान अनुसार बालेनलाई प्रधानमन्त्री बनाउन अगाडि बढ्छ भन्नेमा पनि शंका गर्नु पर्ने अवस्था छैन।
आम नेपाली नागरिकमा निराशा थियो। देशमा राम्रा अवसरहरू नहुँदा हुलका हुल युवाहरू विदेश गइरहेका थिए। सुरु गरिएका सडकहरू समयमा बन्न नसक्दा सबै नेपालीले कष्ट भोगिरहेका थिए। कर्मचारी प्रशासन अझै राणाकालीन शैलीमै चलिरहेको छ। जहाँतहीँ दलाली गरेर खानेहरू सक्रिय थिए। आम नेपाली नागरिकले यस्तै अव्यवस्थाको अन्त्य चाहेका थिए। बालेनको काँधमा नेपाली जनताले चाहेको परिवर्तन गरेर देखाउने ठूलो जिम्मेवारी र चुनौती आएको छ।
चुनावअघि र नतिजा आउन थालेपछि पनि धेरैको प्रश्न छ— के बालेन वा रास्वपाबाट जितेर आउने सांसदहरूले काम गर्न सक्लान्? कतिपय भन्छन्, यस्ता अनुभवविहीनहरूले काम गर्न सक्दैनन्, देश झन् बर्बाद हुन्छ। तर बालेन सफल हुन्छन् भन्नेमा हामी आशावादी छौं।
विगतमा जसरी देश चलेको छ, त्यसरी नै बालेनले काम गर्न खोजे भने उनीमाथि पनि हामी प्रश्न गर्नेछौं। किन भएन भन्ने प्रश्न गर्ने अधिकार सधैं हाम्रो रहनेछ।
यो चुनावले पार्टीले पूर्णकालीन राजनीतिक कार्यकर्ता बनाउने प्रथाको अन्त्य गरेको छ। नेपाली मतदाताले कार्यकर्ता हुन छाडेर समर्थक बनेर चुनावमा भोट गरेका छन्। त्यसैले सत्तारुढ पुराना राजनीतिक पार्टीहरूले नराम्रो पराजय भोगे। पुराना राजनीतिक पार्टीहरू कार्यकर्ताको दलालीको चक्रमा फसेका थिए। कार्यकर्ताबाट घेरिएका थिए। कार्यकर्ताले चुनाव जिताउँछन् भन्ने भ्रममा परे। पुराना सत्तारुढ राजनीतिक पार्टीका नेता हार्नुमा उनीहरूलाई गलत सल्लाह दिने कार्यकर्ता र उनीहरूका नजिकका मान्छे पनि जिम्मेवार छन्। मन्त्रीको नजिक भएर देशका लागि काम गर्छु भनेर नियुक्ति पाएका धेरैले आफ्नो मात्र सुविधा हेरे। काम गर्नुपर्ने ठाउँमा खाएर काम गरे।
बालेनलाई १०० दिनभित्रै केही गरेर देखाउनु पर्ने चुनौती छ। यसका लागि बलियो टिम चाहिन्छ। जितेर आएका सांसदहरूलाई संसद्को काममै सीमित राखेर बाहिर रहेका विज्ञहरूलाई मन्त्रीको जिम्मेवारी दिँदा प्रभावकारी काम हुन सक्छ। आवश्यक परे संविधान परिवर्तन गर्ने जनादेश पनि बालेनले पाएका छन्।
बालेन, तपाईंलाई जम्मा १०० दिन छन् काम गरेर देखाउने। १०० दिनभित्रै केही परिवर्तन देखिएन भने तपाईंमाथि पनि प्रश्न उठ्नेछन्।
देशभर आफ्नो पक्षमा लहर ल्याउन सकेकोमा बालेनलाई बधाई। हामी आशावादी छौं— तपाईं सफल हुनुहुनेछ र देश अझ राम्रो बन्नेछ।












प्रतिक्रिया