राजनीति-समाज

लामिछाने–मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता

लामिछाने–मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकतामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताएका छन् । भारत भ्रमणका क्रममा दिल्लीमा रहेका रास्वपा सभापति रवि लामिछानेसँग बुधबार भएको भेटमा मोदीले भारत सदैव नेपालको साथमा रहेको र नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न इच्छुक रहेको जनाएका छन् ।

मोदी र लामिछानेबीच एक घन्टाभन्दा बढी चलेको भेटवार्तामा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो । उनीहरू परिवर्तित राजनीतिक परिस्थितिमा नेपाल–भारत सम्बन्धलाई नयाँ दिशा दिन सहमत भएका छन् ।

Advertisement

भेटवार्तामा सहभागी एक नेपाली प्रतिनिधिका अनुसार रास्वपा सभापति लामिछानेले भारतका प्रधानमन्त्री मोदीलाई आफ्नो पार्टीसँग कुनै राजनीतिक बोझ नरहेकाले भारतसँग नयाँ ढंगले सम्बन्ध विकास गर्न चाहेको बताएका थिए । मोदीले २१ फागुनको निर्वाचनमा रास्वपाले हासिल गरेको प्रभावशाली जितको प्रशंसा गरेका थिए ।

मोदीसँगको भेटमा लामिछाने पत्नी निकिता पौडेल, रास्वपाका नेताहरू विपिन आचार्य र दीपक बोहोरा तथा दिल्लीस्थित नेपाली दूतावासका कूटनीतिज्ञहरूको उपस्थिति थियो । बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विक्रम मिस्रीलगायत उपस्थित थिए ।

पछिल्लो समयमा चर्चामा रहेका सीमालगायतका विषयमा भने भेटवार्तामा छलफल नभएको एक नेपाली अधिकारीले बताए । सीमाका विषयमा व्यक्तिगत रूपमा चासो राखिएको हुन सक्ने भए पनि औपचारिक छलफल नभएको उनको भनाइ छ ।

भारतीय विदेश मन्त्रालयको मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको मध्यस्थतालाई अस्वीकार गरेका थिए । प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा आइतबार दिएको भारतसँगको सीमा विवादमा इंग्ल्यान्ड ९बेलायत० सँग पनि छलफल गरेको भन्ने अभिव्यक्ति दिएका थिए । त्यसैको प्रतिक्रिया भारतीय पक्षबाट मंगलबार सार्वजनिक भएको हो । जयसवालले यी विषय द्विपक्षीय संयन्त्रमार्फत नै सुल्झाउनुपर्ने बताएका थिए ।

बुधबारको भेटमा मोदीले भारतीय समाचार संस्था ‘हिन्दुस्तान टाइम्स’ मा मंगलबार प्रकाशित लामिछानेको लेखको प्रशंसा गरे । लेखमा लामिछानेले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ मार्ग विकास गर्ने र त्यसलाई अगाडि बढाउने उल्लेख गरेका थिए । त्यस्तै विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहले पनि उक्त लेख र लामिछानेको ‘विकास कूटनीति’ मार्फत द्विपक्षीय सम्बन्धलाई उचाइमा पुर्‍याउने प्रस्तावको प्रशंसा गरेका थिए ।

भेटवार्तामा सहभागी एक अधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भारत सधैं नेपालको साथमा रहेको अभिव्यक्ति दिएका थिए । ‘तपाईंहरू पहिले आफ्नो प्राथमिकता तय गर्नुहोस्,’ मोदीले लामिछानेलाई भने, ‘हामी त्यसमा हरसम्भव सहयोग गर्छौं ।’ नेपालको तीव्र आर्थिक विकासका लागि पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी गर्न मोदीले लामिछानेलाई सुझावसमेत दिएका थिए । अधिकारीहरूका अनुसार लामिछानेको भ्रमण र मंगलबार तथा बुधबारका उच्चस्तरीय भेटघाटले भारत सरकार र सत्तारूढ भाजपा दुवै रास्वपा नेतृत्वको सरकारसँग सम्बन्ध बढाउँदै नेपालका प्राथमिकताहरूमा साझेदारी गर्न चाहेको सन्देश दिएका छन् ।

दिल्लीको रणनीतिक र कूटनीतिक वृत्तले लामिछानेको भ्रमण, जारी सीमा विवाद र त्यससम्बन्धी प्रधानमन्त्री शाहको अभिव्यक्ति र नेपालको नयाँ सरकारअन्तर्गत द्विपक्षीय सम्बन्धलाई नजिकबाट नियालिरहेको थियो ।मोदीले प्रधानमन्त्री शाहलाई शुभकामना पनि पठाएका छन् । ‘मैले उहाँलाई भारत भ्रमणको निम्तो पठाइसकेको छु र उहाँलाई दिल्लीमा स्वागत गर्न तयार छु,’ मोदीले लामिछानेसँग भनेका छन् ।

रास्वपा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीसँग फलदायी वार्ता भएको भन्दै खुसी व्यक्त गरेका छन् । ‘विगतका असहजतालाई बिर्सेर नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्ने तपाईंको दृष्टिकोणमा म पनि सहमत छु । साझा सभ्यताको सम्बन्ध, डिजिटल करिडोर र अवरोधरहित कनेक्टिभिटीमा केन्द्रित भएर हामी साँच्चिकै प्रगति र आपसी विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्छौं,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रास्वपा हाम्रो साझा समृद्धिका लागि यी सम्भावनाहरूलाई नेपाल र भारतका जनताको यथार्थमा परिणत गर्न उत्सुक छ ।’

त्यस्तै ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिला) नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार रहेको मोदीले जनाएका छन् । उनले नेपालसँगको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मोदीले भनेका छन्, ‘हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।’

मोदीले सामाजिक सञ्जाल एक्समा साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने सभापति लामिछानेको चाहनालाई आफूले स्वागत गरेको जनाएका छन् । उनले भनेका छन्, ‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्छु र पूर्ण रूपमा समर्थन गर्छु ।’

दिल्लीको रणनीतिक र कूटनीतिक वृत्तले लामिछानेको भ्रमण, जारी सीमा विवाद र त्यससम्बन्धी प्रधानमन्त्री शाहको अभिव्यक्ति र नेपालको नयाँ सरकारअन्तर्गत द्विपक्षीय सम्बन्धलाई नजिकबाट नियालिरहेको थियो । नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले लामिछाने र भारतीय नेताहरूबीच भएको भेटलाई ‘अति सकारात्मक’ भनेका छन् । भारतले दुई मुलुकबीचको सम्बन्ध सर्वोच्च महत्त्व र प्राथमिकताको छ भन्ने स्पष्ट सन्देश दिइरहेको उनको विश्लेषण छ ।

रेले हिन्दुस्तान टाइम्समा प्रकाशित लामिछानेको लेखलाई भारतमा राम्रोसँग स्वीकार गरिएको बताए । ‘मलाई लाग्छ, बालेनले निश्चित तहभन्दा मुनिका मानिसलाई भेट्दिनँ वा विदेश जाँदिनँ भनेर आफैंलाई अनावश्यक अप्ठ्यारोमा पारिरहेका छन्,’ उनले भने, ‘यसलाई नीतिकै रूपमा किन स्पष्ट पार्ने रु यसको आन्तरिक रूपमा प्रशंसा हुन सक्छ तर विदेशी मुलुकहरूले हेर्दा यो धेरै नराम्रो देखिन्छ । उनले जसलाई मन लाग्छ भेट्न वा नभेट्न सक्छन्, तर आफ्नै हात बाँध्ने नीति बनाउनु हुँदैन,’ रेले कान्तिपुरसँग भने ।

लामिछानेको भ्रमण र भारतीय नेताहरूसँगको भेटघाट अत्यन्तै सफल र फलदायी रहेको पूर्वराजदूत रेको धारणा छ । यस भ्रमणले दुई छिमेकीबीच आपसी सम्मान, विश्वास र समझदारीलाई मजबुत बनाएको उनले बताए ।

भाजपा अध्यक्ष नितिन नवीनको निम्तोमा सोमबार नयाँदिल्ली पुगेका लामिछाने मंगलबारदेखि नै उच्चस्तरीय भेटघाटमा व्यस्त थिए । मंगलबार उनले भाजपा मुख्यालयमा अध्यक्ष नवीनसहित शीर्ष नेताहरूलाई भेटेका थिए । त्यसपछि उनले भारतीय विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरे । लामिछाने र रास्वपाको प्रतिनिधिमण्डलले बिहीबार अयोध्याको राम मन्दिर भ्रमण गर्ने कार्यक्रम छ । उनले नयाँदिल्लीमा रहेका नेपाली प्रवासीसँग पनि अन्तर्क्रिया गर्नेछन् ।