ड्यालस (अमेरिका) । टेक्ससको ड्यालस फोर्टवर्थमा रहेका नेपाली समुदायले आइतबार भव्य रुपमा इन्द्रजात्रा मनाएका छन् ।
युनाइटेड नेवा युएसएको आयोजनामा मेरिनर प्वाइन्ट पार्कमा आयोजना गरिएको इन्द्रजात्रा कार्यक्रममा संस्कृतिको भव्य रुपमा प्रदर्शन गरिएको थियो । ड्यालस फोर्टवर्थमा हरेक वर्ष इन्द्रजात्रा कार्यक्रम भव्य रुपमा मनाउने गरिएको छ ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । चर्चित गायक निमा रुम्बा लगायत स्थानीय कलाकारहरुले दिनभरि सहभागीहरुलाई मनोरञ्जन दिएका थिए ।
इन्द्रजात्रा नेपालको काठमाडौं उपत्यकामा मनाइने एउटा ठूलो सांस्कृतिक पर्व सहितको मेला हो । अमेरिकामा रहेका नेवार समुदायले इन्द्रजात्रालाई विशेष र भव्य रुपमा मनाउने गरेका छन् ।
विगतका वर्षहरु भन्दा पनि यसपटक सहभागी संख्या निकै उल्लेख्य रहेको आयोजक शैलेन्द्र मानन्धरले जानकारी दिए । यस पटक प्रयाप्त पार्किंग भएको र तालको छेउमा कार्यक्रम आयोजना गरिएको, राम्रो मौसमले गर्दा सहभागीहरु अत्यधिक बढेका थिए ।
कार्यक्रममा झाँकी प्रदर्शनी, समयबजी, लाखेनाच, भैरबनाच समेत प्रदर्शन गरिएको थियो ।












प्रतिक्रिया