युलेस, टेक्सस — सुदूरपश्चिम नेपालको मौलिक सांस्कृतिक पर्व गौरा पर्व आइतबार टेक्ससको युलेसस्थित श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा भव्य रूपमा मनाइएको छ। कार्यक्रमको आयोजना फार वेस्टर्न सोसाइटी अफ टेक्ससले गरेको हो, जसमा सयौं नेपाली समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
बिहान ९ बजे सुरु भएको कार्यक्रम धार्मिक विधिबाट प्रारम्भ भयो। महिलाहरूले पार्वती (गौरा) र भगवान शिवको विवाहको सम्झनामा परम्परागत पूजाआजा गरे। पूजामा दूबो धागो, बिरुडा, पञ्च अन्न, र गौरा कथाको वाचन गरियो। व्रतालु महिलाहरूले परम्परागत पहिरनमा सजिएर श्रद्धापूर्वक पूजा गरेका थिए ।
धार्मिक विधिपछि अपरान्ह २ सुरु भएको सांस्कृतिक कार्यक्रमले वातावरणलाई झनै रंगीन बनायो। नेपाल आइडल सिजन-२ का विजेता रबि अोड, देउडा गायीका रेखा जोशीले माहोललाइ निकै संगीतमय बनाएका थिए । गौरा नाच, देउडा गीत, सगुना भजन र सुदूरपश्चिमको लोक नृत्य प्रस्तुत गरियो। सहभागीहरूले सेलरोटी, खीर, पुरी र अन्य परम्परागत परिकारको स्वाद पनि लिए। कार्यक्रम साँझसम्म चलेको थियो ।
कार्यक्रमको सुरूमा नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्रकी अध्यक्ष सीता बस्नेत सापकोटा मन्दिर भएकाले हाम्रा धर्म, संस्कार र संस्कृतिका हरेक कार्यक्रमहरू गर्न पाइएको चर्चा गर्दै सबैलाइ सहभागिताका निम्ति अनुरोध गरेकी थिइन् । आयोजक संस्थाले गौरा पर्वलाई सुदूरपश्चिमको सांस्कृतिक पहिचान मात्र नभई समुदायको एकता र श्रद्धाको प्रतीकका रूपमा प्रस्तुत गरेको थियो।
फार वेस्टर्न सोसाइटी अफ टेक्ससका प्रतिनिधिहरूले अमेरिकामा नेपाली संस्कृति जगेर्ना गर्न पाउँदा गर्व महसुस भएको बताए। “गौरा पर्व हाम्रो आत्मा हो। टेक्ससमा पनि यसलाई जिवन्त राख्न पाउनु हाम्रो सौभाग्य हो,” संस्थाका अध्यक्ष गगन केसीले भने।
कार्यक्रमले टेक्ससमा बसोबास गर्ने नेपालीहरूबीच सांस्कृतिक गर्व, धार्मिक श्रद्धा र सामाजिक एकताको सन्देश फैलाएको उल्लेख गर्दै आयोजकले आगामी वर्षहरूमा अझ व्यापक रूपमा पर्व मनाउने योजना रहेको जानकारी दिएका छन्।












प्रतिक्रिया