हालै कतै मित्र विक्रमभक्त जोशीज्यूले लेख्नुभएको समय त चिप्ले किरा जस्तै हो भन्ने पढेको सम्झना भयो ।
समयरूपी चिप्ले किरा विस्तारै विस्तारै चल्दै जान्छ भन्नु भएको थियो ।
क्या सटिक एनालोजी थियो त्यो उहाँको !
पत्तै नपाई हराभरा यौवनको हरियाली उमेरको ढलानमा पुगेपछि शिशिर ऋतुमा ओईलाएका पहेंला पात झैं हो । झसड्ग भएर एकैचोटी ऐना हेर्दा आफ्ना पुराना चिल्ला गालाहरूमा समयले गरेका हस्ताक्षरका धर्साहरू देखेर एकप्रकारको खिन्नता हुन्छ भने, विगतका कतिपय सम्झनाले रोमान्चित पनि गराउँछ ।
यस्तो पनि अवस्था आउँदो रहेछ, जब सम्झनाको तरेलीमा वाल्यकाल र यौवनकालमा विताईएका कुराहरू,आफ्नो स्कूलका साथीभाइ र त्यो माहौल याद आउँदा बाल मनोविज्ञानको सम्झना हुँदों रहेछ ।
मैले स्कूले बेलामा घरिघरि लक्ष्मण बस्नेत दाइलाई शम्मीकपूर देखेको कुरा पहिले पनि लेखिसकेको छु ।आज त्यो सम्झंँदा हाँसो त उठछ तर बालखको मनमा विश्वासको कस्तो अमीट व्यवस्था हुँदो रहेछ भन्ने सोचेर दंग पर्छु ।
मैले सुने अनुसार भ्रम र सत्यको पनि अनेठौं सुयोग छ रे ! वृदांवनका ती कृष्णदासीहरू पनि सपनामा कृष्ण चलाएमान भएको भ्रममा रोमान्चले भरिन्थे रे । विश्वास न हो , भ्रम भनेको । विश्वासको भ्रम !!
तर, मेरो वालभ्रम विशुद्धको थियो । कसरी मैले हिजो देखेको हिरो आज स्कूलमा देख्दैछु , के यस्तो हुन्छ त ?
किन तेस्तो लाग्यो मलाई ? म मात्र झुक्किएको हुँला त ?
अहिले सोचेरै रनभूल्ल पर्छु ।
आज मलाई थाहा छ लक्ष्मण दाइ शम्मीकपुर होईनन । तर बालखलाई सम्झाऊने कसले ? म त स्कूल गएर क्लासमा किताब फ्याँकेर कक्षा १० मा पढदै गरेको शम्मीकपुरलाई हेर्न जान्थें । कस्तो अचम्म,हिजो सिनेमामा देखेको त्यो हिरोलाई आफ्नो स्कूलमा भेटदा ! यी सिनेमाका कलाकारहरू हामी भित्रै कै हौं भन्ने विश्वास पालेर २/३ वर्ष बसें । समय वित्दै गयो, दिमागले भ्रम र सत्यलाई छुट्याऊन थाल्यो र विस्तारै भ्रममूक्त हुंदै गएँ । आखिर लक्ष्मण बस्नेत दाइमा मैले शम्मीकपुर देख्नु भ्रम थियो ।
यो मेरो सम्झनाको तरेलीमा घटनाहरू यसैगरी उनिंदै गए । विश्वासले भ्रमलाई विस्थापित गरेका घटनाहरू ।
अस्तिं ईण्डियाना (अमेरिका)बाट मेरा स्कूलका साथी सोहन खतिवडाले सम्झेंर फोन गरे । मेरो हर्षको सिमा रहेन । सोहनसंग कक्षा ७ देखि १० सम्म संगै पढियो । उनी पढनमा अव्वल थिए, आफ्नो के भनूं ? सम्झँदा अहिले हाँस उठछ, । स्कूलका सारा क्रियाकलापहरू झल्झली आँखा सामू तैरिन्छन् । हडताल, सरस्वतीपूजा , कृष्ण पोखरेल सरको लागि सोहन, हरेराम, नरोत्तम, चन्द्र बहादुर राजलवट,बासु गिरी , ज्ञान बहादुर केसी,आदि थुप्रै साथीहरूले सदरजेल पनि देख्न पाए ।मैले पाईन । घरमा अतिरिक्त अनुशासनको कल्लीले बाँधिएर म पहिल्यै घरैमा नजरवन्दमा थिएँ ।
सभ्रांन्त साथी दिवाकर गोल्छाको घरमा खेलेको व्याडमिन्टनको पनि सम्झना भएर आउँछ घरिघरि।
विमल भट्टराई र उत्तमवीर पाण्डेलाई सम्झन्छु । स्कूलमा विमलको गुगलको जस्तो स्मरण र उत्तमवीरले मलाई जलजला सिनेमाहलमा फ्रन्टस्टलमा बसाएर देखाएको सिनेमा ‘कोहरा’ को त्यो गीत वहिदा रहमानले गाएको झुमझुम करती रात……..को दरो सम्मोहन सम्झँदा मनमा तेसैतेसै उमंड्ग भरिएर आउँछ ।
हो साच्ची, समयको चाल पनि चिप्ले किराको गतिले चल्ने रहेछ । तल फेंदबाट टुप्पोमा पुगे पछि तल आफूले हिंडदा छोडेका पाईतलाको डोबहरूवाट छानीछानी टिपेर उनिंदा रहेछन् सम्झनाको तरेलीमा ।
हालै डिसीबाट फर्कदा बाटोमा साथी गोविन्द तिवारीलाई भेटन गएँ । छोरा भेटन पेन्सिभेल्नीया आका रहेछन् । मेरो १ देखि ५ क्लास सम्म महेन्द्र विध्यालयका सहपाठी थिए गोविन्द। पछि, हामी फेरि कलेजमा जोडियौं । मोरंड्ग कलेज विराटनगरमा । वाल्यकालबाट छुट्टिएर यौवनकालमा फेरि जोडिएका साथी हुन गोविन्द तिवारी र कमल दाहाल । गोविन्द र हाल मेरिल्याण्ड निवासी गोपालराज विष्टले सम्झाए टोलमा खेलिएका गुल्लीडण्डाको खेलका कथाहरू ।
ठ्याक,ठ्याक्क, र ठ्याक्क १०० सम्म । र पर पुगेर ल्याएको गुल्ली ….. र डण्डाको टाक टाक ।
समयको कन्भासमा स्मृतिका पाईतलाका डोवहरूले छाप छोडदैं जान्छन् । हेरेर सोचेर गमेर मनमा रोमान्च भर्ने हो र खुशी हुने हो जस्तो लाग्छ, केवल आफ्नो लागि ।
संयोगले २९/३० साल तिरका मित्र तारा बरालसंग पनि अमेरिकामा पुनः जोडिऐं । अलिअलि सम्झिएका र लगभग बिर्सी सकेका साथीभाइ पनि अचानक जोडिन्छन र स्मृतिबाट छानिएर मेरो तरेलीमा अटाउँछन ।
जीवन यही हो । ठूलो संयोग ,सदभावना र साथीभाइको भेटको अवसर र रोमान्चित हुने एक व्यक्तिगत क्षण र पछ्याउँदै जाने समयले छाडेका पाइतलाका डोवहरू र ऊन्दै जाने सम्झनाको तरेलीमा ।
अरू केही छैन जीवनमा फ्फास्स ! फूस्स !!
हालै,गोविन्दसंग खान ‘पीन’ गरेर कनेटीकट छोराको घरमा एकरात बास बसेर बोस्टन तिर लागें ।

अव पालो थियो तारा बराल दम्पतिको स्वागतमा जुटन बोस्टन जानुपर्ने भयो । उहाँहरूको गजल उत्सव यसपाली बोस्टनमा हुन जुरेको रहेछ ।
नेपालकी उदयीमान गजलकार विटु केसी पनि साथै आउउँदै हुनुभएको खवरले उत्साह दोब्बर भएको थियो ।
यस्तै हो जीवन, एउटा यात्रा,एउटा आयाम । खुशीका पलहरू , मित्रहरूसंग बिताउन जुरेका अबसरहरू ।
मैले चिन्दा तारा बराल अस्कल होस्टेलमा बस्नुहुन्थ्यो । म अस्कलको विध्यार्थी नभए पनि मेरो मामाका छोरा विनोद गौतम अस्कलमा थिए, मेरो अधिकांश यौवनावस्था लाजिम्पाटको मामाको घरमा वितेको थियो ।
विनोद, उमेरमा १ वर्ष जेठा भएपनि उठवस संगै हुन्थ्यो । ऊ संग गफिएर हिडंदा मैले तारा बरालजीलाई चिनेको हुँ । उहांको स्वर मिठो थियो र हामी खुवै गीत सुन्थ्यौं ।
उहाँले गीत गाउने ताका नै हुनुपर्छ उदित नारायणले पार्क रेस्टुरेन्टमा एक साँझ गाएको १० रूपैया पाऊथे र रत्नपार्कको बंगाली दादाको स्वीट भ्यालीको रेलिड्गमा बसेर पद्मकन्याका चेलीहरूलाई प्रभावित पार्ने कोशिश गर्थे ।
म दुव्लो पातलो एकदम अ-आकर्षित व्यक्तित्व भएको फुच्चे सम्झन्थें आफूलाई ।
अहिले झट्ट सम्झदा दंगपर्छु ।
सम्झनाहरू फूलको माला जस्तै हुन्…
हाटखोला (विराटनगर)कै दाइ गोपालराज विष्टसंग यसपाली भेट भयो मेरिल्याण्डबाट भर्जिनिया आउनु भएको रहेछ । पूराना साथीभाइ र अग्रजहरु भेट्दा स्मृतिका तरेलीहरु रोमान्चित हुन्छन् । सायद जिन्दगीको मजा नै यही हो !












प्रतिक्रिया