अमेरिका समाचार

अचानक रद्द ह्वाइट हाउसको डिनर

अचानक रद्द ह्वाइट हाउसको डिनर

कसरी आक्रमणकारीलाई अधिकारीहरुले नियन्त्रणमा लिए ?

तस्बिर: सामाजिक संजाल

वासिङ्टन डिसी (अमेरिका) । शनिबार राति वासिङ्टन डिसीमा आयोजित वार्षिक ह्वाइट हाउस संवाददाता डिनर एकाएक आतङ्कित बन्यो, जब होटलको प्रवेश–क्षेत्र नजिकै गोली चलेको आवाज सुनियो र सुरक्षाकर्मीहरू आकस्मिकरूपमा सक्रिय भए ।

सोही समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, प्रथम महिला मेलानिया ट्रम्प तथा उच्च अधिकारीहरू कार्यक्रमस्थलमै उपस्थित थिए। सिक्रेट सर्भिसले तत्कालै राष्ट्रपति र अन्य उच्च अधिकारीलाई सुरक्षित स्थानतर्फ निकाल्यो।

Advertisement

घटनामा संलग्न आक्रमणकारीलाई ३१ वर्षीय कोल टोमस एलेन भनेर पहिचान गरिएको छ।

तस्बिर: सामाजिक संजाल

प्रारम्भिक विवरणअनुसार उनले सटगन, ह्याण्डगन र धेरै चक्कु सहित सुरक्षा जाँच–बिन्दुतर्फ तीव्र गतिमा दौडेर प्रवेश गर्ने प्रयास गरेका थिए। सुरक्षाकर्मीले उनलाई रोक्ने क्रममा दुवैतर्फबाट गोली चलेको पुष्टि भएको छ। एक गुप्तचर अधिकारीको बुलेटप्रुफ ज्याकेटमा गोली लागेको भए पनि उनी सुरक्षित रहेको अधिकारीहरूले जनाएका छन्।

आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि उनलाई अस्पताल लगिएको छ र उनी एक्लै संलग्न भएको प्रारम्भिक अनुमान गरिएको छ। वाशिङ्टन डी.सी.का मेयर तथा संघीय अधिकारीहरूले हालसम्म अन्य सह–आरोपीको संलग्नता नदेखिएको बताएका छन्। FBI ले घटनास्थलबाट बरामद लामो बन्दुक, हतियारका खोलहरू तथा भिडियो प्रमाणहरूको विश्लेषण गरिरहेको छ।

घटनाको समयमा होटलको विशाल भूमिगत बलरूममा उपस्थित पत्रकार, सरकारी अधिकारी तथा अतिथिहरू टेबलमुनि लुक्दै सुरक्षित हुन प्रयासरत देखिएका थिए। केहीले लगातार ठूला आवाजहरू सुनेको बयान दिएका छन्। सिक्रेट सर्भिसले बलरूमलाई तत्काल नियन्त्रणमा लिएर सबैलाई सुरक्षित रूपमा बाहिर निकाल्यो। कार्यक्रम केही समयका लागि रोकिए पनि पछि स्थगित गरिएको घोषणा गरिएको छ।

राष्ट्रपति ट्रम्पले घटनापछि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा सुरक्षाकर्मीहरूको “असाधारण साहस” को प्रशंसा गरे । ट्रम्पले अमेरिकामा बढ्दो राजनीतिक हिंसाको प्रसङ्ग उठाउँदै शान्तिपूर्ण संवाद को आवश्यकता दोहोर्याएका छन् ।

यस घटनाले पुनः एकपटक अमेरिकामा सार्वजनिक कार्यक्रमहरूको सुरक्षा, राजनीतिक वातावरण, र हिंसात्मक घटनाहरूको जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। यद्यपि, अधिकारीहरूले तत्कालीन अवस्थामा सार्वजनिक सुरक्षामा थप खतरा नभएको बताएका छन्।