नयाँदिल्ली । भारत र न्युजिल्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता भएको छ । दुवै देशले सोमबार यो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
भारतको तर्फबाट केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियूष गोयल र न्युजिल्यान्डको तर्फबाट व्यापार तथा लगानी मन्त्री टोड म्याक्लेले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सम्झौतापछि पियूष गोयलले यो सम्झौता मात्र नौ महिनाको छोटो समयमा सम्पन्न हुनु दुवै देशबीचको विश्वास र साझा लक्ष्यको संकेत भएको बताए । उनका अनुसार पछिल्ला साढे तीन वर्षमा यो सातौँ व्यापार सम्झौता हो, अझ केही प्रक्रिया बाँकी रहेका सम्झौताहरू पनि चाँडै अघि बढ्नेछन् ।
उनले आगामी केही महिनामा युरोपेली संघ र संयुक्त राज्य अमेरिकासँग पनि यस्तै सम्झौता अघि बढ्ने सङ्केत दिए ।
यता न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्जनले यो सम्झौतालाई दुई देशको सम्बन्धमा ऐतिहासिक मोड भनेका छन् । सामाजिक सञ्जालमा उनले यस सम्झौताले न्युजिल्यान्डलाई विश्वका सबैभन्दा सक्रिय बजारमध्ये एकमा नयाँ अवसर खोल्ने बताएका छन् । उनका अनुसार यसले व्यापार, लगानी, नवप्रवर्तन र आपसी सहकार्यलाई अझ विस्तार गर्नेछ र निर्यात बजारलाई विविध बनाउनेछ ।
सम्झौताले भारतका लागि विकास र नयाँ अवसरका ढोका खोल्ने बताइएको छ । यसले भारतीय निर्यातकर्तालाई पहिलो दिनदेखि नै न्युजिल्यान्ड बजारमा कर बिना पहुँच दिनेछ भने भारतीय उपभोक्तालाई न्युजिल्यान्डका उच्च गुणस्तरका उत्पादन सजिलै उपलब्ध हुनेछन् । एएफपी












प्रतिक्रिया