शाकाहारीलाई माछामासु भएको भतेरको केही अर्थ हुँदैन। प्रवासमा बस्ने नेपालीहरु विगत २२ वर्ष देखि ‘एक पटकको नेपाली सधैको नेपाली’ को एउटै माग आफ्नो मातृभूमि नेपालसित गरिरहेका छन्। नेपाल सरकारका प्रायः सबै प्रधानमन्त्रीहरु, परराष्ट्र मन्त्रीहरुले धेरै सार्वजनिक मन्चहरुमा प्रवासी नेपालका मागहरू उचित रहेको र पूरा गर्न आफू प्रतिबद्द रहेको अाश्वासन बाँड्न पनि छाडेनन्। प्रवासमा रहेका नेपालीहरुसँग विदेश पुग्ने नेपालका सबै पार्टीहरुका तलदेखि उपल्लो ओहदाका सम्मकाले त्यसमा टाउको हल्लाएर, लेखेर अनि बाेलेर पनि सहमति जनाए। तर बालकलाई ललिपप देखाए झैँ हरेक पटक मागेको भन्दा फरक एकएक पप ललिपप चुसाउदै भुलाइरहे ।
नेपाल सरकारले गैर आवासीय नेपालीहरूका लागि एनअारएन कार्ड, गैरआवासीय नागरिकता सम्बन्धी बेलाबेलामा बिभिन्न रूपहरू कार्यान्वयनमा ल्यायाे । तर पनि यी प्रस्तावहरू पर्याप्त अध्ययन र योजना बिना नै ल्याइएको स्पष्ट छ। विधेयक पारित गर्नु अघि यसबारे पर्याप्त बहस, तथ्यांक विश्लेषण र सम्भाव्यताको मूल्याङ्कन हुनुपर्दछ तर यो प्रक्रिया धेरैजसो कमजोर देखिन्छ।
नियमावली तथा ऐनहरू पारित भएपछि समेत सम्बन्धित निकायहरूमा यसको जानकारी पुर्याउन र कार्यान्वयन सुनिश्चित गर्न सवै सरकारहरु असक्षम देखिएका छन्। यसको परिणामस्वरूप गैरआवासीय नेपालीहरूले प्राप्त गर्नुपर्ने सेवा र सुविधा अन्योलपूर्ण बनिरहेको छ। यसले सरकार र संसद्को विधेयक निर्माण प्रक्रियामा अपरिपक्वता, गैरजिम्मेवारीपन र कमजोर क्षमताको स्पष्ट प्रमाण दिन्छ।
यो अभ्यासले सांसदहरू र सरकारका निकायहरूलाई विधेयक छलफल गर्न योग्य नरहेको पुष्टि गर्दछ र वर्ष गनेर राजनीतिक दक्षता देखाउनेहरु माथि क्वालिटी बिनाको क्वाण्टिटिको भनेर प्रमाणित गरेको छ। यसको सुधारका लागि गहन अध्ययन, सरोकारवाला सँगको संवाद र कार्यान्वयनको ठोस योजना अपरिहार्य छ।
नेपालले गैरआवासीय नेपालीहरूका लागि गैरआवासीय नेपाली नागरिकता र अधिकारहरू सुनिश्चित गर्ने कुरा आफ्नो नीति तथा ऐनहरूमा उल्लेख गरे पनि यो व्यवस्था विश्वव्यापी अभ्याससँग मेल खाँदैन। विश्वका ठूला राष्ट्रहरूले आफ्ना गैरआवासीय नागरिकहरूलाई विभिन्न सुविधाहरू उपलब्ध गराई जन्मभूमिसँगको सम्बन्ध प्रगाढ बनाउन विशेष नीति तथा कार्यक्रम लागू गरेका छन्। तर, नेपालमा गैर आवासीय नेपालीहरूले भोग्नुपरेका प्राविधिक र कानुनी अप्ठ्यारा विश्वव्यापी मान्यता र अभ्यासबाट धेरै टाढा छन्।
हालसम्म कति गैर आवासीय नेपालीहरूले नागरिकता प्राप्त गरेका छन् भन्ने सम्बन्धमा विस्तृत सरकारी तथ्याङ्क उपलब्ध छैन। तथापि, गैरआवासीय नेपाली संघ (एनअारएनए) का अनुसार, विश्वभर करिब ८० लाख गैरआवासीय नेपालीहरू रहेका छन्, जसमा ७५ देशहरूमा ८० भन्दा बढी राष्ट्रिय समन्वय परिषद्हरू क्रियाशील छन् । हालसम्म हजारौं गैर आवासीय नेपालीहरूले गैर अावासीय नेपाली परिचय पत्कार अर्थात कार्ड प्राप्त गरेका छन्। करिब ८० लाख गैरआवासीय नेपालीहरूले नेपालको अर्थतन्त्र र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याइरहेका छन्।
विश्वका विकसित देशहरूले आफ्ना गैरआवासीय नागरिकहरूलाई भिसा बिना प्रवेशको सुविधा दिएका छन्। उदाहरणका लागि चीनको कानूनले आफ्ना गैर आवासीय नागरिकहरूलाई ‘ओभरसिज चायनिज’ भन्दछ र ती चिनियाँहरूलाई ‘ग्रीन कार्ड’ प्रदान गरिन्छ, जसले उनीहरूलाई भिसा बिना नै चीन भ्रमण गर्न अनुमति दिन्छ।
त्यसैगरी भारतको कानूनले आफ्ना गैर आवासीय नागरिकहरूलाई ओभरसिज सिटिजन अफ इन्डिया )अोसीअाइ) भन्दछ । याे कार्डधारीहरूले दीर्घकालीन भिसा जस्तै सुविधा प्राप्त गर्छन्। उनीहरू भिसा बिना भारतमा प्रवेश गर्न सक्छन्। उनीहरूलाई भारतमा स्थायी बसोबास, सम्पत्ति खरिद र अन्य गैर राजनीतिक अधिकार प्रयोग गर्न अनुमति दिन्छ। तथापि, राजनीतिक अधिकार (मतदान, चुनाव लड्न र केही विशिष्ट सरकारी रोजगार) मा उनीहरूले प्रवेश पाउँदैनन्।
त्यसैगरी बङ्गलादेशले गैरआवासीय बङ्गलादेशीहरू (एनअारबी) लाई विशेष पहिचान दिन्छ। यो कार्ड लिएपछि उनीहरूले बङ्गलादेश भ्रमण गर्न भिसा लिनु पर्दैन । त्यसैगरी अमेरिका, क्यानडा, र अष्ट्रेलिया ले त देशका नागरिकले दोहोरो नागरिकता स्वीकार गरिएकाले भिसा आवश्यक पर्दैन।
तर, नेपालमा गैरआवासीय नेपालीहरूलाई १० वर्षे निःशुल्क भिसाको प्रस्ताव गरिएको छ, जुन अन्य देशहरूको अभ्यासको तुलनामा अनाैठो मात्र होइन हास्यास्पद नै छ। गैरआवासीय नागरिकता सम्बन्धी विश्वव्यापी अभ्यासमा पनि प्रायस् सवै देशहरुले नेपालले भन्दा फरक नीति अबलम्बन गरेको देखिन्छ।
सन् २०२० को तथ्यांक अनुसार झन्डै ६ करोड चिनियाँ विदेशमा बसोबास गर्छन्। चीनले ओभरसिज चिनियाँहरूलाई आर्थिक र सांस्कृतिक अवसर प्रदान गर्न विशेष अधिकारहरू सुनिश्चित गरेको छ। विदेशमा झन्डै २५ लाख जापानी छन्, जापानले रिटर्न भिसा मार्फत आफ्ना गैरआवासीय जापानीहरूलाई देश प्रवेशको सुविधा दिएको छ।
सन् २०२२ सम्मको तथ्यांक अनुसार झन्डै ३ करोड २० लाख भारतीय विदेशमा रहेका छन्। भारतमा इऋक्ष् कार्डधारीहरूले सम्पत्ति खरिद, व्यवसाय सञ्चालन, र सामाजिक सुविधामा पहुँच पाउँछन्। अोसीअाइ कार्डले भारतमा उनीहरूको आर्थिक सहभागिता ४०् प्रतिशत भन्दा बढाएको छ।
विदेशमा १ करोड २० लाख बङ्गलादेशी छन्, जसले बङ्गलादेशमा झन्डै १० प्रतिशत योगदान दिइरहेका छन् । बङ्गलादेशमा उनीहरूलाई देशको आर्थिक तथा सांस्कृतिक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिन्छ।
अमेरिकी सरकारी तथ्यांक अनुसार विदेशमा झन्डै ९० लाख अमेरिकी रहेका छन् र उनीहरूले अमेरिका र विदेशबीचको सांस्कृतिक र आर्थिक सम्बन्धलाई मजबुत बनाएका छन्। क्यानाडियन सरकारी तथ्यांक अनुसार विदेशमा झन्डै ३० लाख क्यानाडियन छन् र उनीहरूले दुई देश बीचको सांस्कृतिक र आर्थिक सम्बन्धलाई मजबुत बनाएका छन्। झन्डै २५ लाख अष्ट्रेलियाली विदेशमा रहेका छन्। तिनीहरूले अष्ट्रेलियाली अर्थतन्त्रमा झन्डै ५५ प्रतिशत योगदान गरेका छन्।
गैरआवासीय नागरिकताका प्रथाहरू देशअनुसार फरक भए पनि प्रायः सबै देशले आर्थिक लगानी, सांस्कृतिक जड र सामाजिक सम्बन्धलाई प्राथमिकता दिएका छन्। नेपालले पनि गैरआवासीय नेपाली नागरिकलाई समेट्ने यो अवधारणालाई सुदृढ गर्न सक्दा देशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सकारात्मक प्रभाव पर्न सक्छ।
भर्खरै लामो समय अमेरिका घुमेर, धेरै अमेरिकी नेपालीहरुलाई भेटेर नेपालका प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा उच्च पदाधिकारीहरु नेपाल फर्के पछि नेपाल सरकारले अमेरिकाकै टेक्सस र क्यालिफोर्नियामा बाणिज्य दूतावास खोल्ने निर्णय गर्यो। सरकारले गैर आवासीय नेपाली नागरिकता निर्देशिका तयार गर्न प्रक्रिया अगाडि बढायो अनि सबैलाई लाग्यो अमेरिकी नेपालीले यसपटक भने कुरा प्रष्ट बुझाएछन।
तर, अहिले प्रस्तावित कानूनले भने बोली र ब्यबहारको बीचको मतक्यताले गैरआवाशीय नेपालीहरु असमन्जसमा छन्। यो १० वर्षे निःशुल्क भिसाको प्रस्ताव गैरआवासीय नेपालीहरूको आवश्यकतालाई सम्बोधन गर्न पर्याप्त देखिँदैन। यो व्यवस्था अन्य देशहरूले अपनाएका दीर्घकालीन समाधानहरूसँग मेल खाँदैन।
नेपालले गैरआवासीय नेपालीहरूलाई देशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउन प्रोत्साहित गर्नुपर्ने आवश्यकता छ। गैर आवासीय नेपालीहरूले पठाउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठूलो भूमिका खेलिरहेको छ। तर, वर्तमान नागरिकता व्यवस्था र भिसा प्रावधानले गैर आवासीय नेपालीहरूलाई अप्ठ्यारो बनाएको छ। विश्वव्यापी अभ्यासका आधारमा नेपालले आफ्नो नीति परिमार्जन गर्नुपर्छ।
नेपालको गैर आवासीय नागरिकता व्यवस्थाले विश्वव्यापी अभ्याससँग मेल खाँदैन। अन्य देशहरूले अपनाएका अभ्यासहरू जस्तै -भिसा बिना प्रवेश, दोहोरो नागरिकता र व्यापक अधिकारहरू नेपालले पनि अध्ययन गरी आफ्नो नीति सुधार्नुपर्छ। यसले गैरआवासीय नेपालीहरूको योगदानलाई प्रोत्साहन गर्न र देशको विकासमा उनीहरूको संलग्नता बढाउन मद्दत पुर्याउनेछ। गैर आवासीय नेपाली नागरिकता अधिकारको पुनरावलोकनले नेपाललाई आर्थिक र सामाजिक विकासको नयाँ युगतर्फ लैजान मद्दत गर्नेछ।
प्रतिक्रिया