मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

के तपाईं अझै ट्रम्पलाई भोट दिनु हुन्छ?

के तपाईं अझै ट्रम्पलाई भोट दिनु हुन्छ?

सुजन पण्डित

शेयर गर्नुहोस:

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

के तपाईं अझै ट्रम्पलाई भोट दिनु हुन्छ? मैले यो प्रश्न भोट दिन पाउने करिब एक लाख ६० हजार नेपाली आप्रवासीहरुलाई सोध्न चाहेको हो। २०२० को जनगणना अनुसार करिब दुईलाख २० हजार नेपाली अमेरिकामा छन् भने त्यस मध्ये करिब एक लाख ६० हजार नेपाली-अमेरिकनहरु भोट दिन योग्य भएको सेन्ससको तथ्याङ्क छ। यो चार वर्षमा थपिएका नेपालीहरु समेत गरेर करिब २ लाख नेपाली-अमेरिकन भोटर अमेरिकामा रहेको अनुमान छ।

अब मंगलवार, नोभेम्वर ५ आउन दुईहप्ता मात्र बाँकी छ। नोभेम्वर ५, अमेरिकामा निर्वाचन हुने दिन। राष्ट्रपति सहित हाउस अफ रप्रिजिन्टेटिभ्सको ४३५ स्थान, सिनेटको एक तिहाई स्थान (३३ र नेब्रास्कामा एक विशेष निर्वाचन सहित ३४ स्थान), ११ वटा राज्य र दुई अमेरिकन टेरिटरिजमा (पोर्तोरिको र अमेरिकन समाओ) गभर्नर लगायत अन्य कैयन पदहरुका लागि समेत त्यसै दिन चुनाव हुनेछ।

नर्थ क्यारोलाइनामा गत साताबाट (अक्टुवर १७) नै ‘अर्ली भोटिङ’ सुरु भइसकेको छ भने टेक्सस लगायतका धेरै राज्यहरुमा सोमवार अक्टुवर २१ देखि अर्ली भोटिङ’सुरु भएको छ। चुनावको दिन पर्खनु नपर्ने र आफूलाई पायक हुने नजिकको मतदानस्थलमा गएर अगाडि नै भोट गर्न पाइने भएकाले अर्ली भोटिङले धेरै मतदाताहरुलाई सहज बनाउने गरेको छ।

यो पटक चुनावी गतिविधि यस कारणले पनि धेरै चर्चामा छ कि डोनल्ड ट्रम्प तेश्रो पटक राष्ट्रपतिको चुनाव लड्दैछन्। अघिल्लो चुनाव वर्तमान राष्ट्रपति जो बाइडेनसंग हारेका ट्रम्प आप्रवासीहरुप्रति निकै छुद्र र अपमानजनक भाषा प्रयोग गर्दै चुनावी अभियान चलाईरहेका छन्। ट्रम्पले प्रतिस्पर्धी कमला ह्यारिससंगको पहिलो डिबेटमा स्प्रिङफिल्ड ओहायोमा आप्रवासीहरुले (हैटियन) स्थानीयहरुको कुकुर/ बिरालो चोर्दै खाँदै गरेको भ्रामक कुरा समेत गर्न भ्याए। सार्वजनिक बहसमा आप्रवासीहरुप्रति त्यति निकृष्ट र कपोलकल्पित आरोप लगाउन सक्ने ट्रम्पले सबै आप्रवासीलाई एउटै डालोमा हाल्दै आरोप लगाउँदै आएकाछन् कि—आप्रवासीहरु हत्यारा, बलात्कारी, ड्रग माफिया र नामुद अपराधी हुन्।

जर्मनीबाट अमेरिका छिरेका उनका हजुरबा पनि आप्रवासी नै थिए। यस अर्थमा ट्रम्प पनि आप्रवासी कै सन्तान हुन्। फरक यति मात्र हो कि उनका हजुरबा आप्रवासीका रुपमा अमेरिका छिरे, उनका बाबु र उनी यतै जन्मे, हामीजस्ता धेरै आप्रवासीका आफैं वा बा/आमा यता आए। धेरै आमा-बासंगै अमेरिका आए र केही यतै जन्मे। अमेरिकी सपनाले डोऱ्याएका लाखौं आप्रवासीले सदियौंदेखि अमेरिकी समृद्धिका लागि आफ्नो ज्ञान, सीप र श्रम लगाएकाछन् र, त्यसको बदला आफ्नो र परिवारको आर्थिक अवस्था सुधार पनि गरेकाछन्। ट्रम्प जस्ता उग्र आप्रवासी विरोधी अमेरिकी राष्ट्रपति हुनु भनेको अमेरिकी शासन सन्तुलनमै थप समस्या आउनु पनि हो। अमेरिका विकसित र समृद्ध हुनुमा आप्रवासीहरु कै मु्ख्य भूमिका रहँदै आएको छ।

कागजात विहीन आप्रवासीहरुलाई मास डिपोर्टेसन गर्ने योजना सुनाएका ट्रम्पले कठिन श्रम आवश्यक पर्ने कृषि र निर्माण क्षेत्रमा कार्यरत लाखौं आप्रवासीहरुलाई कागजात नभएको निहुँमा डिपोर्ट गर्ने हो भने अमेरिकी श्रम बजारमा कामदारहरुको हाहाकार हुने पक्का छ। आप्रवासी हुनु भनेको लागुऔषध कारोबारी, हत्यारा वा ग्याङ्गस्टर हुनु होइन। ट्रम्पले आप्रवासीहरुप्रति घृणा ओकल्दा होस् वा मास डिपोर्टेसन गर्छु भन्दा नेपालीलाई चाहिं गर्दिन कहीं भनेको सुनिएको छैन। तसर्थ एक आप्रवासी भएकाले ट्रम्पलाई भोटदिनु भनेको समग्र आप्रवासीहरुप्रति नै अनादार गर्नु जस्तै हो। ट्रम्पलाई भोट नदिनु भनेको समग्र रिपब्लिकन पार्टीका राम्रा लागेका उम्मेदवारलाई पनि भोट नदिनु भन्ने होइन। व्यक्तिगतरुपमा ट्रम्पको छुद्रता र गोरा जातीको वर्चस्वप्रति बढि सक्रिय देखिने विभेदकारी व्यवहारप्रति असहमति जनाउनु प्रत्येक आप्रवासीहरुको प्राथमिकतामा पर्नुपर्ने विषय हो।

सर्वसाधारण नागरिककालागि हो भने एउटामात्र अपराध प्रमाणित भएपनि बाँकी जीवन कष्टकर हुने अमेरिकामा ३४ वटा अपराधमा दोषी पाइएका ट्रम्प खुल्लम-खुल्ला राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्दैछन् र आफ्नो प्रतिद्वन्द्वीप्रति भए नभएको आरोप र लान्छना लगाउन छोडेका छैनन्। ट्रम्प इतिहास मै कलंकित हुने गरी अमेरिकी संसदमा भएको हुलदङ्गा र अवैधानिक हमला हुन निकै उक्साएकाले जनवरी ६, २०२१ मा भएको क्यापिटल हिल आक्रमणको जिम्मेवार समेत हुन्। संसारलाई कानुनी राज्यव्यवस्था, लोकतन्त्र, जन निर्वाचित शासन प्रणालीको वकालत गर्ने अमेरिकामा जनवरी ६ को सो घटना निकै शर्मनाक थियो। विश्व नै स्तब्ध भएको सो घटना ट्रम्पले जनताको मतलाई अस्वीकार गर्दै अराजक भीडलाई समेत निर्वाचित राष्ट्रपति बाइडेनको विजयलाई नमान्न उक्साएकाले भएको थियो। लोकतन्त्रको मानक मानिएको अमेरिकाको राष्ट्रपतिले शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न आनाकानी गरेको घटना हामी सबैको अघि झलझल्ती आइरहेकै छ।

फेरि राष्ट्रपति हुने दौडमा रहेका ट्रम्पको चुनावी सभाहरु नियाल्दा केही गरी उनले चुनाव जिति हाले भने २०१७-२०२० को पहिलो कार्यकालमा भन्दा अराजक र असहिष्णु हुने पक्का जस्तै छ। डेमोक्रेट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पसंगको पहिलो टेलिभिजन बहसमा ट्रम्पलाई राष्ट्रिय सुरक्षा, आर्थिक अपचलन, कर घोटाला सहित यौन दुर्व्यवहारको मामिलामा दोषी पाइएको व्यक्ति भएको प्रष्टरुपले भनेकी थिइन् र, त्यो सार्वजनिक बहसमा ट्रम्प निकै‘डिफिसेन्सिभ’ देखिएका थिए।

प्रजेक्ट २०२५-म्याण्डेट फर लिडरशीप-दि कन्जरभेटिभ प्रमिस

ट्रम्प २०२० मा दोश्रो कार्यकालका लागि राष्ट्रपति उम्मेदवार भएका बेला नै अतिवादी रिपब्लिकनहरुको अगुवाइमा तयार पारिएको अवधारणालाई अध्यावधिक गरेर बनाइएको ‘प्रजेक्ट २०२५’ भनिने ‘म्याण्डेट फर लिडरशीप-दि कन्जरभेटिभ प्रमिस’ले ट्रम्प र रिपब्लिकनहरु के गर्न चाहन्छन् भन्ने प्रष्ट बोलेको छ। ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए भने पहिलो दिनदेखि नै कसरी कन्जरभेटिभ्सको वर्चस्व रहने शासन संचालन गर्ने भन्ने अतिवादी योजना हो त हेरिटेज फाउण्डेसनको प्रजेक्ट २०२५। ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए भने कसरी अमेरिकी शासन व्यवस्थालाई एकपक्षीय ढंगले संचालन गर्ने भन्ने मार्गचित्र सहितको प्रजेक्ट २०२५ ले अमेरिकी शासन व्यवस्थामा ‘एनार्किज्म’ ल्याउने निश्चित छ। हुन त ट्रम्प क्याम्पेनले ऱ्याडिकल रिपब्लिकनहरुले बनाएको प्रजेक्ट २०२५ आफ्नो क्याम्पेन अवधारणा होइन भनेपनि प्रजेक्ट २०२५ बनाउने कार्यमा संलग्न रिपब्लिकनहरुको लिष्टले नोभेम्वर ५ मा ट्रम्पले जिते भने त्यही डकुमेण्टको अवधारणा अनुसार नै ट्रम्पले शासन गर्ने सहज अनुमान गर्न सकिन्छ। सो दस्तावेजमा ट्रम्प राष्ट्रपति भएभने उनको क्याबिनेट र नियुक्त हुने सहयोगी समुहका व्यक्तिहरु समेत छनौट गर्ने र तालिम दिनेसम्मको अवधारणा अघि सारिएको छ। ट्रम्प राष्ट्रपति भएभने ट्रम्प प्रशासनले राज्य संयन्त्र नै कन्जरभेटि स्टाइलमा संचालन गर्ने योजना प्रस्तुत गरेको छ। सरकारी संयन्त्रहरुको पुनर्संरचना, सामाजिक सुरक्षा, स्वास्थ्य वीमा एवं गर्भपतन सम्बन्धी व्यवस्था परिवर्तन, क्लाइमेट चेन्जसंग सम्बन्धित नीति, नियमन अवधारणामा परिवर्तन, डिपार्टमेण्ट अफ एडुकेसन लगायतका संघीय सरकारका केही निकायहरुको खारेजी प्रजेक्ट २०२५ ले निर्दिष्ट गरेका केही प्राथमिक कामहरु हुन्

व्यक्तिगत स्वतन्त्रता, प्रजातन्त्र, मानवाधिकार लगयातका विषयमा विश्व नेतृत्व गरिरहेको अमेरिकामा एकल जातीय वर्चश्व र आप्रवासीहरुप्रति हेयको भावना राख्ने ट्रम्पले फेरि राष्ट्रपति हुने मौका पाए भने उनी निर्वाचित तानाशाह बन्ने खतरा बढेको छ। सार्वजनिक मञ्चहरुबाट आप्रवासन, विदेश नीति, नेटो लगायत विश्व सुरक्षाका सन्दर्भमा उनले व्यक्त गर्ने विचारहरुले ट्रम्प फेरि ह्वाइट हाउसमा पुगे भने त्यो अमेरिका र बाँकी विश्वका लागि समेत सहज नहुने निश्चित छ। २०१६ देखि २०२० सम्म राष्ट्रपति हुँदा नै ट्रम्पले अमेरिकी राजनीति र समाजलाई निम्नस्तरको जातीय र वर्गीय विभाजनको अवस्थामा लगेका थिए। जसको श्रीमती आफैं आप्रवासी हुन् र पनि ट्रम्पले आप्रवासीहरुप्रति व्यक्त गर्ने घृणा बुझ्न नसकिने खालको छ।

डिभी खारेजी, पारिवारिक स्पोन्सरसीपमा हुने आप्रवासनमा कडाइ, कागजात नभएकाहरुलाई मास डिपोर्टेसन, टिपिएस सुविधा खारेजी, आप्रवासीहरुप्रति लचिलो व्यवहार गर्ने शहरहरुमा व्यापक धरपकड, अध्यागमन कानुन परिवर्तन लगायत कैयन आप्रवासन सम्बन्धी नीतिहरुमा फेरबदल गर्ने घोषणा गरेका ट्रम्प केही गरी राष्ट्रपति निर्वाचित भइहाले भने उनको अतिवाद पहिलो कार्यकालमा भन्दा निकै बढी हुने आंकलन गरिएको छ

हुन त प्रजेक्ट २०२५ का निर्देशक पल ड्यान्सले गत अगष्ट मै आफू त्यो प्रजेक्टबाट अलग भैसकेको भनेकाछन्। तर प्रजेक्ट २०२५ मा संलग्न कठोर कन्जरभेटिभहरुले रिपव्लिकन राष्ट्रपति भएभने आफूहरुले वर्षौं लगाएर बनाएको करिब हजार पृष्ठको दस्तावेजको मार्गचित्र अनुरुप काम गर्न राष्ट्रपतिलाई दबाव दिने निश्चित छ।

अमेरिकी चुनावका सन्दर्भमा नेपाली समुदायका मतदाताहरुको ‘भोटिङ प्रिफरेन्स’का बारेमा जानकारी लिने उद्देश्यले भएका केही प्रतिनिधिमूलक कुराकानीका सारांश श्यर गर्नु उचित लागेकाले यहाँहरु समक्ष प्रस्तुत गरेको छु। कुराकानीका दौरान केही नेपाली अमेरिकन यस्ता पनि भेटिए जो ट्रम्पको मेक अमेरिका ग्रेट अगेन (मागा) अभियानको प्रवक्ता भन्दा पनि बढी सुनिए।

केही नेपालीहरु बाइडेनले जो पायो त्यसैलाई अमेरिका आउन दिएर हामीजस्ताको रोजगारी खोसेको छ। हाम्रा छोराछोरीको जागिर धरापमा पारेको छ भन्दै ट्रम्पलाई भोट हाल्नुपर्छ भन्दै हिंडेको पनि देखियो। एकजना यस्ता पनि भेटिए जो भन्दै थिए—‘अब अरुलाई आउन दिनु हुन्न, डिभी बन्द गर्नु पर्छ, बुढा-बुढी, भाइ भतिजा ल्याएर थुपार्ने ठाउँ हो अमेरिका?’ उनले बाइडेन प्रशासन माथि रिस पोख्दै भने—‘डिभीले सबै काम नलाग्ने मान्छे ल्याएर अमेरिकालाई डम्पिङ साइट बनायो। झन् आमा-बा, दाजु भाइलाई समेत ग्रिन कार्डमा आउन दिएर त खत्तमै बनायो नि!’

तिनका अति स्वार्थी र उग्रवादी कुरा सुनेर यिनी चाहिं कसरी अमेरिका आएका रहेछन् भन्ने जान्न लाग्यो। पछि थाहा लाग्यो—उनले स्टुडेण्ट भिसामा आएर यतैको तीन सन्तानकी आमा भइसकेकी एक अस्वेत महिलासंग विवाह गरेर अमेरिका बस्ने कागज बनाएका रहेछन्। डिभी नपरेपछि विद्यार्थी भिसामा अमेरिका छिरेका उनको छुस्कर कुरा सुनेर मान्छेहरु कति स्वार्थी हुनसक्दा रहेछन् भन्ने थाहा लाग्यो।

अर्कों एउटा दृष्टान्त पनि छ—भिजिटर भिसामा अमेरिका छिरेर बिभिन्न तिकडम लगाएर कागज बनाएका र हाल एउटा ग्यास स्टेसनको साहु भएका एकजना नेपाली झन् उग्र ट्रम्प सपोर्टर भएर निस्केका रहेछन्। आफूलाई ‘ओएल एण्ड ग्यास’ क्षेत्रको व्यवसायी भन्न रुचाउने उनको तर्क छ—ट्रम्पले मात्र उनी जस्ता व्यवसायीको रक्षा गर्नेछन्। नत्र आफ्नो दुईलाख डुब्ने तर्क छ, उनको। तल्लोबाटो आएका, डिभी परेर आएका, भिजिटर भिसामा आएर यतै बसेका, विद्यार्थि भिसामा आएर बसेका, टिपिएसबाट अमेरिका बसेका वा वैधानिक तबरले अमेरिका आउनसक्ने हैसियत भएका आम नेपालीहरुप्रति समेत उनको सकारात्मक सोच देखिंदैन। अब त नेपाल जाँदा समेत अमेरिकाबाट आएको भन्न लाज हुने भैसक्यो, ह*ने-पा*ने सबै आएपछि के को इज्जत? उनको रिस उनका गाउँको उनीभन्दा कमजोर पृष्ठभूमिको गाउँले भाइ समेत अमेरिका आयो भन्नेमा रहेछ। डिभी परेर आएकाहरु त झन् खत्तम, दक्ष मान्छे डिभीबाट कहाँ आउँछ? तिनीहरुले त यता आए पनि अमेरिकालाई आर्थिक भार मात्र थप्ने हुन्, उनको तर्क थियो। सुन्दै अचम्म लाग्ने कुरा चाहिं के भने नि—उनी आफू अमेरिकी नागरिक भैसकेपछि आफू र श्रीमतीतिरका आमा-बा, दाजु-भाइ र दिदी बहिनीका परिवारहरुलाई फ्यामिली पेटिसन मार्फत अमेरिका भित्र्याउने चाँजो-पाँजो मिलाइसकेका रहेछन्। यता आएर दुईचार पैसा कमाउन थाल्नासाथ यिनीजस्ता नेपालीहरु ट्रम्प भन्दा पनि बढी अतिवादी देखिंदा भने उदेक लाग्ने रहेछ।

यो आलेखमा चर्चा गर्न खोजिएको मुख्य विषय ट्रम्पलाई भोट नदिनु भन्नु मात्र होइन। लोकतन्त्र, सुशासन, मानवाधिकार, महिला अधिकार तथा प्रजनस्वास्थ्य, अन्तरराष्ट्रिय सम्बन्ध लगायतका विषयमा उनीभन्दा असल कमला ह्यारिसलाई जिताउन सक्रिय हुन सबै आप्रवासी पृष्ठभूमिका मतदातालाई अनुरोध गर्नु पनि हो। कमला ह्यारिस राष्ट्रपति हुनु भनेको एक आप्रवासीको सन्तानले त्यसमाथि पनि अमेरिकाजस्तो देशको पहिलो महिला राष्ट्रपति भएर इतिहास रच्ने अवसर पाउनु पनि हो।

२०१६ देखि नै ट्रम्पको चुनावी अभियान र उनको चारवर्षे राष्ट्रपतीय शासन देखेको आप्रवासीका हैसियतले यहाँहरु समक्ष यति सोध्नु त जायज नै होला— के तपाईं अझै पनि ट्रम्पलाई भोट दिनु हुन्छ?