टेक्सास, अमेरिका — टेक्सासमा अब गाडी दर्ता वा नवीकरण गर्न अनएक्सपायर्ड आइडी/फोटो परिचयपत्र अनिवार्य गरिएको छ। टेक्सास डिपार्टमेन्ट अफ मोटर भेहिकल्सले अद्यावधिक गरेको नियम अनुसार म्याद सकिएका आइडी अब स्वीकार्य नहुने बताएको छ। नियम तत्काल लागू भइसकेको टेक्सास डिपार्टमेन्ट अफ मोटर भेहिकल्सले जनाएको छ।
नयाँ निर्देशिका अनुसार, गाडी सम्बन्धी सेवाका लागि अनएक्सपायर्ड ड्राइभर लाइसेन्स, पासपोर्ट, वा राज्य सरकारले जारी गरेको फोटो आइडी मध्ये कुनै एक प्रस्तुत गर्नुपर्नेछ। पहिला केही प्रक्रियामा पुरानो वा म्याद सकिएको आइडी प्रयोग गर्न मिल्थ्यो, तर अब त्यस्तो सुविधा हटाइएको छ।
कागजातविहीन आप्रवासी प्रभावित हुने अनुमान

यो नियमले कागजातविहीन बसोबासीहरू प्रभावित हुने चिन्ता बढेको छ। टेक्सासमा काम, विद्यालय र स्वास्थ्य सेवामा आवत–जावतका लागि निजी सवारी साधन आवश्यक मानिँदै आएको छ। अनएक्सपायर्ड आइडी/फोटो परिचयपत्र नभएपछि हजारौँ व्यक्तिले कानूनी रूपमा सवारी किन्न, दर्ता गर्न वा स्वामित्व कायम राख्न नसक्ने स्थिति सिर्जना हुनसक्ने आप्रवासी अधिकार समूहहरूले चेतावनी दिएका छन्।
टेक्सास डिपार्टमेन्ट अफ मोटर भेहिकल्सका अधिकारीहरूले यो नियम सवारी दर्ता प्रणालीलाई सुरक्षित र पारदर्शी बनाउन आवश्यक कदम भएको दाबी गरेका छन्। उनीहरूले चोरी र कागजात दुरुपयोग रोक्न तथा स्वामित्व प्रमाणिकरण स्पष्ट बनाउन यसले मद्दत गर्ने बताएका छन्।












प्रतिक्रिया