मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   

नेपाल लोकतान्त्रिक र समावेशी शासनको बाटोमा अघि बढिरहेको छ : प्रम ओली

नेपाल लोकतान्त्रिक र समावेशी शासनको बाटोमा अघि बढिरहेको छ : प्रम ओली


नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लोकतान्त्रिक र समावेशी शासनको बाटोमा अघि बढिरहेको दावी गरेका छन्। प्रम ओलीले अमेरिकाको म्यासाच्युसेट्स राज्यको क्याम्ब्रिज सहर स्थित विश्व चर्चित हार्वर्ड युनिभर्सिटीमा गत सप्टेम्बर २७ तारिख सुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो दाबी गरेका हुन्।

हार्वर्ड केनेडी स्कुल इन्स्टिच्युट अफ पोलिटिक्सले ‘संक्रमणकालीन न्यायदेखि जलवायु न्याय : नेपालमा वर्तमान शासन र विकास’ विषयमा प्रम ओलीलाई मुख्य वक्ता बनाएर विशेष कार्यक्रमको आयोजना गरेको थियो। प्रधानमन्त्री ओलीले उक्त विषयमा सम्बोधन गर्दै नेपालले गरेका कार्यप्रगतिहरु, भोगेका अनुभवहरु, प्राप्त उपलब्धिहरु र भावी योजनाहरुका बारेमा प्रकाश पारेका थिए। सम्बोधनका क्रममा उनले नेपाल ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षाका साथ अघि बढिरहेको जानकारी गराउदै सहयोग र सदभावको अभिबृद्धका लागि अन्तर्राष्ट्रिय समुदायसंग अपिलसमेत गरेका थिए।

उनले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको र उक्त विधेयक पीडित केन्द्रित रहेको जिकिर गरेका थिए। उनले उक्त विधेयकमा जवाफदेहीता सुनिश्चित गर्ने, पिडितलाई क्षतिपूर्तिको व्यवस्था गर्ने र गम्भीर अपराधमा आम माफी नदिने व्यवस्था रहेको प्रस्ट पारेका थिए।

प्रधानमन्त्री ओली

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले हिमालय क्षेत्रलगायत जलवायु र वातावरणमा अपूरणीय क्षति पुगिरहेकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए। उनले नेपाललगायत अतिकम विकसित देशहरुले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान रहेको तर जलवायु परिवर्तन र ग्लोबल वार्मिङको प्रतिकूल असरहरु भने असमान रुपमा भोग्नु परिरहेको जिकिर गरे। उनले हरितगृह ग्यास उत्सर्जन धेरै गर्ने राष्ट्रहरुले जलवायु परिवर्तन रोक्न र वातावरण संरक्षण गर्न सोही अनुरुप प्रमुख भूमिका निर्वाह गर्नु पर्ने तर्क गर्दै उनीहरुलाई त्यसतर्फ अग्रसर हुन र नेपाललगायत अतिकम विकसित देशहरुलाई आर्थिक र प्राविधिक सहयोग प्रदान गरेर सहयोग गर्न आग्रह गरेका थिए।

कार्यक्रममा हार्वर्ड युनिभर्सिटीको एशिया सेन्टरका निर्देशक श्री माइकल पुएट र हार्वर्ड सेन्टर फर इन्टरनेशनल डेभलपमेन्टकी कार्यकारी निर्देशक सुश्री फातेमा सुमारले कार्यक्रमलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा हार्वर्ड युनिभर्सिटीका विद्यार्थीहरूसँग प्रधानमन्त्रीले ओलीले अन्तरक्रिया गर्दै विद्यार्थीहरुले कार्यक्रमको विषयमा केन्द्रित भएर राखेको जिज्ञासाहरुहरुलाई मेटाउने प्रयास गरेका थिए।

प्रधानमन्त्री ओली अमेरिकाको न्यू योर्कमा आयोजना भएको संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन गत सेप्टेम्बर २१ तारिख उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्सालसहित अमेरिका आएका थिए। उनले महासभाको दौरानमा नेपालको प्रतिनिधित्व गर्दै ‘समिट अफ द फ्युचर’ र महासभालाई सम्बोधन गर्नुका साथै समकक्षी, समकालीन र सरोकारवाला विश्व व्यक्तित्वहरुसंग भेटवार्तासमेत गरेका थिए। यसै दौरनमा अमेरिकाको बोस्टनमा आइपुगेका उनी सेप्टेम्बर २९ तारिख आइतबार नेपाल फर्किदै छन्। महासभाको समापन भने असोज १४ गते तदनुसार सेप्टेम्बर ३० तारिख सोमबार हुने छ।