छोरीको दीक्षान्त समारोह नजिकिँदै थियो । त्यसका लागि म अमेरिकाको सानफ्रांसिस्को जानुपर्ने तर मेरो स्वास्थ्यका कारण डाक्टरले मलाई हवाई यात्रा निषेध गरेका थिए । फलस्वरूप म चिन्तित थिएँ । बिहानै भगवान पुकार्दै डाक्टरकोमा पुगेँ र सोधेँ – के म उँड्न सक्छु ? केहीबेरको परीक्षणपछि डाक्टरले हाँस्दै भन्नुभयो – तपाईँ मजाले हवाईयात्रा गर्न सक्नुहुन्छ । निदाँउरो अनुहार लगाएर गएको म खुसी हुँदै फर्किएँ ।
त्यत्तिकैमा छोरीको फोन आयो । सोधी – “आर यु कमिङ ?” । मैले भने – यस डिएर आई एम कमिङ । उसले खुसी हुँदै फोन राखी । सोच्न थालेँ उस्लाई के उपहार दिऊ ! ऊ हामीले दिएको उपहार लिँदैनथिई । उस्लाई लाग्थ्यो हामीले आवश्यकता भन्दा बढी नै ऊनीहरूका लागि गरिरहेका थियौँ । भन्थी – यो हजुरहरूले कमाएको आफ्नै लागि खर्चिनुस् । रोजेको विश्वविद्यालयमा पढाइ दिनुभएको छ । हामीलाई पुग्यो !
सामाजिक संजालका भित्ताहरू दीकान्त समारोहका तस्बीरले भरिन थाले । मेरो मन कति हर्षित भयो भने म घरबाहिर गएर चिच्याउँदै भगवानलाई धन्यबाद दिन चाहन्थेँ । किनभने हजारौ नेपालीका सन्तान विख्यात् विश्वविद्यालयबाट दीक्षित भइरहेका थिए ।
मेरो आखा न्यानो आसुँले रसाउँदै चिसो हुँदै गए । म झसङ्ग भएँ । ती हजारौका संख्यामा दीक्षित अधिकांश युवाले नेपाल सरकारको सामान्य जागिर पनि खान पाउने छैनन् । किनभने उनीहरूका बाबुआमाको वंशज नागरिकता राज्यले खोसेर दिएको गैरआवासीय नागरिकताले परिचयपत्रको मात्र काम गर्छ । त्यसले न त प्रतिनिधि छान्न सक्छ न प्रतिनिधि बन्नै सक्छ, न त राहदानी पाइन्छ न त सरकारी जागिर । आफैँलाई प्रश्न गर्छु – यो कस्तो नागरिकता हो ?
किन राज्य यस्ता होनहार युवालाई देश फर्काउन चाहँदैन ? मेरो छेउमै एक नेता थिए । उनलाई सोधेँ – के साच्चै ई युवाले सरकारी जागिर खान पाउँदैनन् ? केही मानिस भन्छन् – विदेशी नागरिकता छोडे आफ्नो नागरिकता पुनःप्राप्त भइहाल्छ । दुवै हातमा लड्डु त हुन्न नि ! यस्ता अदूरदर्शी बहस ले हामी कहीँ पुग्दैनौ ।
डा. गोविन्द केसीको आन्दोलनमा उहाको असल नियत र निष्ठामा प्रश्न गर्ने ठाउँ छैन । तर, राम्रो नियतले गरिएको आन्दोलनले स्वास्थ्य क्षेत्र तहसनहस भयो । गैरआवासीय नागरिकता पनि स्वास्थ्य क्षेत्रजस्तै महत्त्व पूर्ण विषय हो । देशको भविष्य र अर्थतन्त्र जोडिएको दूरगामी प्रभाव पर्ने विषय हो यो
नेपाल सरकारको बजेटको १०४ बुँदामा – विदेशीको लगानी स्वदेशमा अन्तर्गत गैरआवासीय नेपालीको पुँजी, प्रविधि र सीपलाई मातृभूमिसँग जोड्ने जन्मस्थानमा र उनीहरूका सन्ततिलाई नेपालको भूगोल, कला र संस्कृतिसँग परिचित हुन पुर्खौली थलो मा गैरआवासीय नेपाली अभियान सञ्चालन गरिने लेखिएको छ ।
यस्तो हास्यास्पद वाक्य बजेटजस्तो दस्तावेजमा नलेखेको भए हुन्थ्यो । जे लेखे पनि राज्य चलाउनेहरू वंशज गैरआवासिय नेपालीलाई स्वदेश फर्काउनै चाहँदैनन् । अधिकार पनि कस्तो हिजो विवाहका कारण नेपाली भएका बुहारी वा ज्वाइँले राज्यको ५ प्रमुख पदबाहेक सम्पूर्ण अधिकार पाउने तर वंशज गैरआवासीय नागरिक भने अधिकार विहीन ! गैरआवासीय वंशज नागरिकलाई तेस्रो दर्जाको नागरिक बनाउने सर्तमा उनीहरू फर्किएलान् ? राज्य १० लाख पर्यटक भित्र्याए भनेर दङ्ग छ । तीमध्ये झन्डै ४ लाख त विभिन्न देशमा रहेका गैरआवासीय नेपाली र तिनकै सन्तान होलान् !
पहिलो पुस्ताका नेपालीलाई समयमै पूरा नागरिक अधिकार दिएर सम्बोधन नगरिए राज्यलाई ठूलो नोक्सान हुनेछ । युरोप, अमेरिकामा कामदारको टूलो अभाव छ । भीसा पाउन गाह्रोजस्तो देखिए पनि धेरै नेपाली अस्ट्रेलिया, अमेरिका ,क्यानडा र युरोप गइरहेका छन् ।
लाखौंको संख्यामा रहेका उनीहरूले आफ्ना नातेदारलाई ‘ग्रिन कार्ड’ भरिदिएका छन् । अब एकजना नेपालीले औसतमा ५ जनाका दरले आफ्ना परिवार का सदस्यलाई नेपालमै ग्रिनकार्ड दिलाए भने २० लाख नेपाली केही वर्षमै सदाका लागि अमेरिका पुग्नेछन् । अरू देशले र खाडीका मुलुकले समेत ग्रिन कार्ड र स्थायी बसोवासका लागि नयाँ नियम लागु गर्दैछन् ।
विदेशमा रहेका शिक्षित, अनुभवी र सिप भएका अनि धन लिएर फर्किन चाहने नेपालीलाई सरकार रोकिरहेको छ । सरकारलाई लाग्दो हो गैरआवासीय नेपालीले यो नागरिकता ग्रहण गरेका छन् । किनभने उनीहरूले न त खुलेर विरोध गरे न आन्दोलन । तर, कारण के हो उनीहरूलाई थाहा छ सरकारले सुन्दैन ।
अब यो आन्दोलन गैरआवासीय नेपालीले होइन उनीहरूका आमाबुवा, दाजुभाइ र नातेदारले गर्नेछन् । किनभने बुढेसकालको सहारा सरकारले खोसिरहेको छ । अहिलेकै अवस्थामा केहीले गैरआवासीय नागरिकता लेलान् तर आफूले वर्षौं लगाएर कमाएको सामाजिक भत्ता सकिने गरी नेपाल फर्किने अवस्था आउँदैन ।
पूर्ण अधिकारसहित गैरआवासीय नेपालीलाई नागरिकता दिएमा अधिकांश पहिलो पुस्ताका नेपाली नेपाल फर्किनेछन् । यसो भएमा पाँच लाखभन्दा बढी नेपाली नेपाल फर्किन सक्छन् । तिनमा डाक्टर, इन्जिनियर, वैज्ञानिक, प्रोफेसर, वकिललगायत विभिन्न विधामा महारथ प्राप्त नेपालीको भिड लाग्नेछ नेपालमा ।
यिनले ल्याउने सामाजिक सुरक्षा भत्तामात्र मासिक २०औँ हजार डलरमा हुन्छ । सरदर एक व्यक्तिले मासिक तीन हजार डलर ल्याए भने २ खर्ब रुपैयाँ मासिक नेपाली बजारमा आउँछ । उनीहरूले आफू आउँदा कम्तीमा पनि ५ लाख डलर लिएर आए भने खर्बौं रुपैयाँ नेपालमा पुँजीको रूपमा भित्रिन्छ ।
तिनले उद्योग व्यवसायमा लगानी गरेर प्रतिव्यक्ति १० जनालाई रोजगारी दिए भने १८ लाख नेपालीले रोजगारी पाउनेछन् र ३६ अर्ब बजारमा आउनेछ । पुँजी र रोजगारी थिपँदा बजारमा एकपछि अर्को सकारात्मक प्रभाव पर्छ । ठूला आईटी कम्पनीमा काम गरेका नेपालीले नेपालमै आफ्ना कम्पनी खोल्नेछन् ।
स्वाथ्य क्षेत्रको रिसर्च सेन्टर खुल्नेछ । कम्पुटरको चिप्स नेपालीले नै अमेरिकामा बसेर बनाइरहेका छन् । उनीहरूले चाइनामा बनाउनुको सट्टा नेपालमै बनाउने छन् । विश्वको सबैभन्दा व्यस्त लसएन्जलस एयरपोर्ट बनाइरहेका नेपालीले नेपालको त्रिभुवन विमनस्थललाई प्रविधिसहित विश्वस्तरको बनाउने छन् । बालीमा उम्रने घाँसबाट कृषकलाई छुटकारा दिलाइरहेका नेपाली वैज्ञानिकको सेवा नेपालले पाउनेछ ।
अब नेपाली जनताले भन्नुपर्छ पूर्ण अधिकार सहितको गैरआवासीय नागरिकता विदेशमा बस्नेलाई चाहिएको हो कि नेपालको आवश्यकता हो ?
(खुमलटार, ललितपुर)
प्रतिक्रिया