काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद् अर्जुननरसिंह केसीले नेपालमा राजनीतिक दलहरुले नै क्रान्तिबाट संसद् र लोकतन्त्र स्थापना गरेको प्रसङ्ग उल्लेख गर्दै लोकतन्त्रका आधारभूत मूल्य तथा मान्यतामा सम्झौता गर्न नसकिने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सांसद् केसीले लोकतन्त्रको पद्धति कसैले मिच्न नहुने धारणा व्यक्त गरे । सरकारको नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्र बनाउनेलगायत व्यवस्था सकारात्मक भएको उल्लेख गर्दै उनले त्यसको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद् केसीले कतिपय कार्यान्वयनयोग्य नभएका विषयलाई संशोधन गर्न सुझाव दिए । उनले नीति तथा कार्यक्रम सरकारको घोषणापत्र भएकाले पर्याप्त समय दिएर यसमा छलफल हुनुपर्ने माग गरे ।
सांसद् केसीले संसद् बैठक संविधान, नियमावली, परम्परा, अभ्यास र नजिरबाट सञ्चालन हुने उल्लेख गर्दै नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह सहभागी हुनुपर्ने धारणा व्यक्त गरे ।
सांसद् केसीले आर्थिक सुशासनका लागि पारदर्शिताको अपरिहार्यतामाथि जोड दिँदै वर्तमान सरकारले गठन गरेको २०४७ सालदेखिका उच्च पदाधिकारीको सम्पत्ति छानबिन आयोगको स्वागत गरे । उच्च पदाधिकारीका अकुत सम्पत्तिमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै उनले भने, ‘मैले यसअघि धेरैपटक यही विषय उठाएको थिएँ कुनै पनि सरकारले सुनेनन् ।’
विदेशमा रहेको नेपालीको अवैध सम्पत्तिमाथि पनि छानबिन गरिनुपर्ने सांसद् केसीको भनाइ थियो ।












प्रतिक्रिया