मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

ह्युस्टनमा नयाँ वर्ष उत्सव

ह्युस्टनमा नयाँ वर्ष उत्सव

सुजन पण्डित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन, टेक्सस

युवाहरु सकर मैदानमा खेल कौसल देखाइरहेका थिए। साउथ इगलका खेलाडीहरु जीतको खुसीमा रमाइरहेका थिए। केटाकेटीहरु बाउन्सिङ -क्यासलमा रमाइरहेका, नेपाली खाना बेचिरहेका स्थानीय नेपाली रेष्टुँराको स्टलमा सेलरोटी र मम खान लामबद्ध भीड, बेला बेला राफल चिठ्ठा किन्न उक्साइ रहेका मेनुका कार्की र लिण्डा श्रेष्ठको आवाज! गज्जबको रमाइलो मेला माहौल! अनि नेपाली सामानका बिक्री स्टल, स्थानीय कलाकारहरुको कन्सर्ट तथा भि-केयर क्लिनिक र शाक्य इमिग्रेसन ल फर्मको सूचनामुलक स्टल।

समग्रतामा हिजो शनिवार नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) को आयोजनामा ह्युस्टनस्थित पशुपति मन्दिर परिसरमा रहेको हिमालयन कल्चरल सेन्टरमा एक बृहत् नेपाली नयाँ वर्ष उत्सव एवं रमाइलो मेलाको सुखद दृष्य हो यो।

नेपालतिर हुने गरेका रमाइलो मेलाको झल्को दिने नयाँ वर्ष उत्सवमा ह्युस्टन वरिपरिबाट सयौंको संख्यामा सहभागीहरु आइपुगेका थिए। रमाइलो मेला शैलीमामा आयोजित नयाँ वर्ष उत्सवमा सहभगी भएर ह्युस्टनका नेपालीहरुले नेपाली नयाँ वर्ष २०८१ लाई भव्य स्वागत गरेका थिए।

नेपाली परिकारमा रमाउँदै सहभागीहरु साना बाल-बालिकाहरुको नृत्य, बांसुरी बादन, गायन लगायतको कला प्रस्तुतिको तारिफ गरिरहेका देखिन्थे। साइप्रसका युवाहरुले स्थापना गरेको नेपाली पञ्चे-बाजा समुहको प्रस्तुति विशेष मन पराइएको थियो। स्थानीय युवाहरुको व्याण्डले प्रस्तुत गरेको आधुनिक र रक-शैलीका साङ्गीतिक प्रस्तुतिले पनि निकैको ध्यान खिचेको थियो।

साङ्गीतिक कार्यक्रमकै बीचमा खोलिएको राफल-चिठ्ठाको नतिजाले केही बेर माहौल तताएको थियो। ह्युस्टन-काठमाण्डू-ह्युस्टनको दुईवटा हवाइ टिकट, ल्यापटप र आइप्याड पुरस्कार रहेको राफलमा हवाइ टिकट विजेता बन्न सफल साई लामाले प्रकट गरेको खुसीमा सहभागीहरु समेत मिसिएका देखिन्थे। यसैगरी केही अघि संचालित एनएएच नयाँ वर्ष भलिबल प्रतियोगितामा प्रथम र द्धितीय हुने टोलीहरु क्रमश ‘साइप्रस-ए’ र ‘साइप्रस- बि’लाई ट्रफी एवं मेडल प्रदान गरिएको थियो। एनएएचका अध्यक्ष रविन श्रेष्ठले विजेता र उपविजेता टोलीका खेलाडीहरुलाई मेडल र ट्रफी प्रदान गरेका थिए।

अमेरिकाका विभिन्न शहरमा रहेका नेपाली संघ-संस्थाहरुले स्थानीय अनुकुलता अनुसार नेपाली नयाँ वर्षलाई उत्सवका रुपमा मनाएकाछन्। स्यानफ्रान्सिस्कोमा बृहत नेपाल-डे परेडको आयोजना गरेर नयाँ वर्ष मनाइएको जानकारी प्राप्त भएको छ भने म्यासाचुसेट्स राज्यस्थित समरभिल सिटीकी मेयर र नेपाली महावाणिज्यदूतले संयुक्तरुपमा चन्द्र-सूर्य अंकित नेपाली झण्डाको झण्डोत्तोलन गरेर नेपाली नयाँ वर्ष २०८१ लाई स्वागत गरेको सुखद समाचारहरु समेत आएकाछन्।

“नेपाल बाहिर रहेका नेपालीहरुले नेपाली भाषा, संस्कृतिलाई छोडेका छैनन् रहेछ, नयाँ वर्ष यति भव्य मनाएको देखेर धेरै खुसी लाग्यो”,  भर्खर नेपालबाट आएका भवानी वाग्लेको प्रतिक्रिया थियो। “अमेरिकामा नेपालीहरुले पशुपतिनाथको मन्दिर, नेपाली सामुदायिक केन्द्र बनाइरहेको समाचार सुनिएको थियो, आज यहाँ आफैंले देखियो। नेपाल बाहिर नेपालीको पहिचान भनेकै नेपाली भाषा र नेपाली सांस्कृतिक पर्वहरु हुन्, यसलाई बचाउन लागिरहेका ह्युस्टनका नेपालीहरुलाई धेरै धन्यवाद”— वाग्लेको टिप्पणी थियो।

वाग्ले बुबाको टिप्पणीलाई सार्थक बनाउन लागिरहेका सबै नेपाली संघ-संस्था र सामाजिक अगुवाहरुलाई विशेष धन्यवाद सहित नेपाली नयाँ वर्ष २०८१ को शुभकामना।