मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

अमेरिकाको समरभिल सिटी प्राङ्गणमा नेपालको राष्ट्रिय झण्डा फरफरायो

अमेरिकाको समरभिल सिटी प्राङ्गणमा नेपालको राष्ट्रिय झण्डा फरफरायो


नेपाली पात्रो र समय अनुसार गत २०८१ साल वैशाख १ गते शनिवार बिहान सवा दुइ र अमेरिकाको पात्रो र समय अनुसार सन् २०२४, अप्रिल १२ तारिख सुक्रवार मध्याह्न १२ बज्दै थियो। अमेरिकाको म्यासाच्युसेट्स राज्यको समरभिल सिटीको प्राङ्गणमा प्रवासी नेपालीहरुको उपस्थिति र चहलपहल बाक्लिदै थियो। उनीहरु तन नेपालबाट टाढा भएतापनि मनमा नेपाल र नेपालीप्रतिको प्रगाढ मायाका कारण, नेपाल र नेपालीको गौरवपूर्ण गाथा र पहिचान बोकेको चन्द्र र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिने कार्यक्रममा सक्रिय सहभागिता जनाउन जुटेका थिए।

कार्यक्रम गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको म्यास्याच्युसेट्स च्याप्टर र समरभिल सिटीको पहलकदमीमा आयोजना गरिएको थियो। सहभागीहरु आफ्नो व्यस्त दैनिकी र चलिरहेको चिसो सिरेटोको पनि पर्वाह नगरी नेपालको झण्डा फरफराएको ऐतिहासिक महत्वपूर्ण क्षणको साक्षी बस्न र त्यस ऐतिहासिक अमूल्य दृश्य हेर्दै गर्वले प्रफुल्लित हुन लालायित भएर प्रतिक्षा गरिरहेका थिए। जब समरभिल सिटी अन्तर्गतको आप्रवासी मामिला विभागमा कार्यरत आप्रवासी सेवा संयोजक परशुराम फुयालले कार्यक्रम सञ्चान गर्न सुरु गरे, तब उनीहरुको अनुहारमा खुशीको चमक छाउन थाल्यो। कार्यक्रमको शुभारम्भमा नेपाली राष्ट्रिय गान र अमेरिकाको राष्ट्रिय गान गाइएको थियो। कार्यक्रम आयोजक संस्था एनआरएनए, एनसिसि, अमेरिकाको म्यास्याच्युसेट्स च्याप्टरकी सचिव सलोनी भण्डारीले प्रमुख अतिथि, अतिथिहरु र सहभागीहरुलाई संस्थाको तर्फबाट स्वागत् गरेकी थिइन् भने, कार्यसमितिकी सदस्य नित्या शर्माले एनआरएनए , नेपाली समुदाय, नेपाली नयाँ वर्ष र नेपालको राष्ट्रिय झण्डाका बारेमा संक्षिप्त रुपमा प्रकाश पारेकी थिइन्।

महावाणिज्यदूत विष्णुकुमारी अधिकारी शुभकामना मन्तव्य दिदै ।

नेपाली नयाँ वर्ष बिक्रम संवत् २०८१ साल प्रारम्भ भएको शुभसाइत पारेर आयोजना गरिएको कार्यक्रमकी प्रमुख अतिथि नेपाली महावाणिज्यदूतावास न्यू योर्ककी महावाणिज्य दूत विष्णुकुमारी अधिकारी र समरभिल सिटीकी मेयर क्याट्जना बालेन्टाइन (Katjana Ballantyne)ले संयुक्त रूपमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए। झण्डोत्तोलन गरिदै गर्दा नेपथ्यमा बजेको ‘रातो र चन्द्र सूर्य’ बोलको बहुचर्चित गीतमा लोलीमा लोली मिलाउदै सहभागीहरुले नेपाल र नेपालीप्रति श्रद्धा र माया दर्शाइरहेका थिए।

कार्यक्रमकी प्रमुख अतिथि अधिकारीले नेपाली नयाँ वर्ष २०८१ सालको शुभ अवसर पारेर आयोजना गरिएको ऐतिहासिक र महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा प्रशंसा गर्दै समरभिल सिटी र एनआरएनए, म्यास्याच्युसेट्स च्याप्टरलाई धन्यवाद व्यक्त गरिन्। कार्यक्रममा सम्बोधन गर्दै उनले प्रवासी नेपालीहरुले नेपाल र अन्य देशहरुका बिच सुसम्बन्ध स्थापित गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको जिकिर गरिन्। प्रमुख अतिथि अधिकारीले ऐतिहासिक काम गरेकोमा एनआरएनए, म्यास्याच्युसेट्स च्याप्टर परिवारलाई बधाई ज्ञान गर्दै समरभिल सिटीकी मेयर एवम् सिटी परिवारलाई कार्यक्रम सफल बनाउनसाथ सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन्। उनले सम्बोधनका क्रममा नेपली नयाँ वर्ष २०८१ सालको अवसरमा सबैलाई शुभकामनासमेत व्यक्त गरेकी थिइन्।

समरभिल सिटीकी मेयर क्याट्जना बालेन्टाइन शुभकामना मन्तव्य दिदै ।

समरभिल सिटीकी मेयर क्याट्जना बालेन्टाइन( Katjana Ballantine) ले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली नयाँ वर्षको पावन अवसरमा नेपाली समुदायका सामु उपस्थित हुन पाँउदा गौरव महसुस गरिरहेको प्रतिक्रिया दिइन्। लामो समयदेखि नेपाली समुदाय समरभिल सिटीको अभिन्न अंग भएको र नेपाली समुदायको बढ्दो संख्याले समरभिल सिटीलाई सबल र सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेको जिकिर गर्दै मेयर बालेन्टाइनले नेपाली नयाँ वर्षको अवसरमा सबैलाई शुभकामना व्यक्त गरिन्।

कार्यक्रममा, एनआरएनए, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका उपाध्यक्ष प्रेम तामाङ, एनआरएनए, न्यू हेम्पसायर च्याप्टरका अध्यक्ष कमल ढुंगाना, समरभिल सिटी अन्तर्गतको आप्रवासी मामिला सम्बन्धी कार्यालयकी निर्देशक मारिया टेरेसा, ग्रेटर बोस्टन नेपाली कम्युनिटी(GBNC)की अध्यक्ष अन्जु थापा, पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्ग्ल्याण्ड(PABFONE)का बोर्ड अफ ट्रष्टिजका अध्यक्ष सुशील पौडेल, बोस्टनका लागि नेपाल पर्यटन प्रवर्धक मिलन गुरुङ, तमु समाज बोस्टनका अध्यक्ष रबिन गुरुङ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास),अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष महेश्वर पन्त, ब्लड डोनर्स अफ अमेरिका, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष राम थापा, एनडब्लुजिएन(NWGN) की सल्लाहकार रुक्मिणी कार्की, अर्जुन पौडेल लगायतले आयोजित कार्यक्रमको प्रशंसा गर्दै एनआरएनए र समरभिल सिटी परिवारलाई धन्यवाद व्यक्त गरेका थिए। शुभकामना मन्तव्य दिने वक्ताहरुले नेपाली नयाँ साल २०८१ को शुभकामनासमेत व्यक्त गरेका थिए। कार्यक्रममा नेपाली समुदायका विभिन्न संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु र प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो। यस अवसरमा सहभागीहरुले गर्व महसुस गर्दै आयोजकहरुलाई धन्यवाद दिनुकासाथै एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए।

झण्डोत्तोलन कार्यक्रम आयोजक संस्था एनआरएनए, एनसिसि, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचणड श्रेष्ठले अथक प्रयासपछि सबैको साथ र सहयोगमा ऐतिहासिक र गर्वीलो कार्य गर्न सफल भएकोमा खुशी व्यक्त गरे। उनले कार्यक्रमकी प्रमुख अतिथि महावाणिज्यदूत विष्णुकुमारी अधिकारी एवम् न्यू योर्क स्थित नेपाली महावाणिज्यदूतावास परिवार, यस अभियानमा साथ सहयोग गर्ने समरभिल सिटीकी मेयर क्याट्जना बालान्टिन एवम् सिटी परिवार, एनआरएनए परिवार, नेपाली समुदायका संघ संस्था, नेपाली समुदायलगायतलाई धन्यवाद ज्ञापन गरे। नेपाल र नेपालीका लागि ऐतिहासिक एवम् महत्वपूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सकिएकोमा गर्व महसुस भइरहेको प्रतिक्रिया दिदै अध्यक्ष श्रेष्ठले नयाँ वर्षको सबैलाई शुभकामना व्यक्त गरे।

नेपाली समूदायको उल्लेखनीय बसोबास रहेको यस समरभिल सिटि कार्यालयसंग नेपाली समुदायको लामो समयदेखि संस्थागत सम्बन्ध कायम रहदै आएको छ। ग्रेटर बोस्टन नेपाली कम्युनिटि(जिबिएनसि-GBNC)ले समरभिल सिटिको साथ र सहयोगमा सन् २०१२ बाट ‘नेपाल उत्सव (Nepal Festival) मनाउन सुरु गरेको थियो।बिचमा विविध कारणले रोकिएको कार्यक्रम सन् २०१७ मा दोस्रो, सन् २०१९ मा तेस्रो र सन् २०२२ मा चौथो ‘नेपाल उत्सव’ कार्यक्रम सम्पन्न गरेको थियो। गत वर्ष भने कार्यक्रम स्थल र नाममा परिवर्तन गरी एभरेट सिटिसंगको सहकार्यमा खुला मैदानमा बृहत ‘नेपाल डे(Nepal Day) मनाइएको थियो। यसका अतिरिक्त समरभिल सिटीले मुख्य कामकाजी भाषा अंग्रेजी रहे पनि सहयोगी भाषाका रुपमा नेपाली भाषालाई मान्यता दिदै आएको छ।

एनआरएनए,एनसिसि, अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठ शुभकामना तथा धन्यवाद मन्तव्य दिदै ।

यसरी, नेपाल,नेपाली भाषा, भेषभुषा, संस्कृति, परम्परा, रितिरिवाज र नेपाली भाषीहरुलाई प्राथमिकता दिदै सहयोग र सहकार्य गर्ने क्रममा समरभिल सिटिले अहिले गैर आवासीय नेपाली संघ, मासाच्युसेट्स च्याप्टरसंग सहकार्यको हात मिलाएको हो। एनआरएनएले दिएको जानकारी अनुसार, आगामी जुन १ तारिख शनिवारका दिन समरभिल सिटी र एनआरएनए, मासाच्युसेट्सको आयोजनामा नेपाली सांस्कृतिक पर्व(Nepali Cultural Festival) कार्यक्रम गर्ने तयारी भैरहेको छ।