मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

टेक्ससको अस्टिनमा बन्यो पशुपतिनाथ मन्दिर

टेक्ससको अस्टिनमा बन्यो पशुपतिनाथ मन्दिर

सुजन पण्डित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अस्टिन (टेक्सस) – टेक्ससको राजधानी शहर अस्टिन नजिकैको शहरहुट्टोमा नेपालीहरुको धार्मिक/ सासंकृतिक आस्थाको केन्द्र श्रीपशुपतिनाथको भव्य मन्दिर उद्घाटन भएको छ।

महाशिवरात्री पर्वका अवसरमा हिजो मार्च ८ का दिन आयोजित विशेष समारोहमा हुट्टो शहरका मेयर माइक स्नाइडरद्वारा पशुपति मन्दिरको उद्धाटन भएको छ। नेपाली समुदायद्वारा स्थापित भगवान श्री पशुपतिनाथको मन्दिरहरु मध्ये ग्रेटर अस्टिनमा बनेको मन्दिर निकै भव्य र नेपालकै पशुपतिनाथ शैलीको मन्दिर संभवत अमेरिकामा नै पहिलो हो।

मन्दिर उद्घाटन समारोहलाई सम्बोधन गर्दै हुट्टोका मेयर स्नाइडरले भने—“आफ्नो आस्था अनुसारको पशुपतिनाथ मन्दिर र सामुदायिक केन्द्रका लागि हु्ट्टो शहरलाई चुनेकोमा नेपाली समुदायलाई धन्यवाद।” “हुट्टो शहर विविधतामा विश्वास गर्छ यो मन्दिर साँस्कृतिक एवं धार्मिक विविधताको राम्रो उदाहरण हो”, मेयर स्नाइडरले भने। उद्घाटन समारोहमा सरिक भएपछि सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस समेत लेखेका मेयर स्नाइडर भन्छन्—“कस्तो गजब!

आफ्नै मन्दिरको उद्घाटन गरेकोमा पशुपतिनाथ मन्दिर र नेपाली समदायलाई हुट्टोमा स्वागत छ। हुट्टो विविधतालाई माया गर्छ !”

मन्दिर उद्घाटन समारोहमा विशिष्ट पाहुनाका रुपमा उपस्थित नजिकैको सिटीसेडार पार्कका मेयर जिम पेनीमनमोरिनले नेपाल जाँदा पशुपतिनाथ मन्दिर प्रवेश गर्न नपाएको तर यहाँ अस्टिनमै त्यस्तै शैलीको पशुपतिनाथ मन्दिरमा आउन र मन्दिर भित्र जान पाएकोमा निकै खुसी लागेको बताए।

ग्यान्सद्वारा आयोजित पशुपतिनाथ मन्दिर उद्घाटन समारोहमा अध्यक्ष भोजराज भट्टले मन्दिर निर्माणका समग्र पक्षहरुका बारेमा जानकारी गराएका थिए।

जमीन किन्ने बेलादेखि मन्दिरको पहिलो चरण बनाउने बेलासम्म सयौंको संख्यामा नेपाली समुदायका सदस्यहरुको असाधारण सहयोग प्राप्त भएको छ। आर्थिक सहयोग त छँदै छ, त्यसबाहेक पनि निर्माणस्थलमै आएर दिनरात खट्ने सामुदायिक अगुवाहरुको जति प्रशंसा गरेपनि कम नै हुन्छ। ग्यान्सको अध्यक्षका हैसियतले आफू बस्ने शहरमै भगवान पशुपतिनाथ मन्दिरको उद्घाटन गर्ने दिनसम्म आइपुग्नु मेरा लागि अहोभाग्य भएको छ। सामुदायिक कामबाट यति धेरै खुसी हुन सकिन्छ भन्ने महशुस भइरहेको छ”, अध्यक्ष भट्टले मन्दिर निर्माणका सन्दर्भहरु स्मरण गर्दै संलग्न सबैलाई धन्यवाद दिए।

गैरआवासीय नेपाली संघ, अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारी, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, ग्यान्सका पूर्व अध्यक्ष देवराज न्यौपाने, सामुदायिक एवं आध्यात्मिक समितिका सदस्य रामकुमार महतो, मन्दिरलाई सर्वाधिक दान गर्ने स्थानीय समाजसेवी निर्मल श्रेष्ठ र विना श्रेष्ठ, लगायतका व्यक्तिहरुले मन्तव्य राखेका थिए।

सामुदायिक एवं आध्यात्मिक समितिका संयोजक एवं ग्यान्सका पूर्व अध्यक्ष गेहेन्द्र केसीको अध्यक्षतामा आयोजित समारोहको संचालन महासचिव विदुर खतिवडाले गरेका थिए भने प्राण प्रतिष्ठा समापन एवं उद्घाटन समारोहमा सरिक सबै पाहुना र भक्तजनहरुलाई मन्दिर संचालक समितिका डा. कमल अधिकारीले स्वागत गरेका थिए।

नेपाल बाहिर नेपालीहरु भावनाको नेपाल बाँच्छन् र आफूसंगै नेपाल र नेपालीको संस्कृति, परम्परा र धार्मिक एवं सांस्कृतिक धरोहरको स्थापना र विकासमा समेत योगदान दिइरहेका हुन्छन्। नेपालीहरुको बसोबास भएको सबै अमेरिकी शहरहरुमा अहिले नेपालीहरुको धार्मिक/साँस्कृतिक आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर र सामुदायिक केन्द्र बनाउने लहर नै चलेको छ। कतिपय स्थानमा पशुपतिनाथ संगै बुद्ध मन्दिर समेत स्थापना भएकाछन्। टेक्ससमा सबभन्दा धेरै नेपाली भएको शहर ड्यालसमा भव्य पशुपतिनाथ र बुद्ध मन्दिर निर्माण हुँदैछ भने ह्युस्टनमा सानो आकारमा भएपनि निकै पहिलेदेखि पशुपतिनाथ मन्दिर संचालनमा छँदै छ।

त्यसैगरी भर्जिनियाको नेपाली समुदायले निकै बृहतस्तरमा बहुतले सामुदायिक भवन निर्माण गरिरहेको छ भने बोस्टनको नेपाली समुदायले पनि आफ्नै मन्दिर र सामुदायिक भवन संचालनमा ल्याइसकेको छ। लसएन्जलसमा पशुपतिबुद्ध फाउण्डेशनले झण्डै एक दशक अघि नै पशुपतिनाथ एवं बुद्ध मन्दिर संचालनमा ल्याएको थियो भने ड्यालसमा दशक पुरानो नेपाली मन्दिर र सामुदायिक भवन नयाँ ठाउँ र स्वरूपमा बनिरहेको छ। गुरु योजना अनुरूप निर्माण सम्पन्न भएमा ड्यालसको पशुपतिनाथ र बुद्ध स्तुपा नेपालीअमेरिकी समुदायले नै गर्व गर्न लायक धार्मिक एवं सांस्कृतिक तिर्थस्थल हुने निश्चित छ। नेपालीहरुको आफ्नै मन्दिर र सामुदायिक भवन बनाउने अभियान स्यानफ्रानसिस्को, न्युयोर्क लगायतका शहरहरुमा पनि जारी छ।

मन्दिरले अमेरिकीनेपाली समुदायलाई सहजै एकताबद्ध गराउँछ भन्ने सबभन्दा पछिल्लो उदाहरण ग्रेटर अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपालीहरु हुन्। आफ्नो आस्था मिल्ने सन्दर्भमा गरिने सार्वजनिक निर्माणमा अस्टिनको नेपाली समुदायले गरेको निकै अनुकरणीय काम होभगवान पशुपतिनाथको मन्दिरको निर्माण र संचालन।ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) ले तीन वर्ष पहिलेमात्र मन्दिर र सामुदायिक भवनका लागि किनेको करिब ३ एकड (करिब २५ रोपनी) जमीनमा अहिले नेपाल कै झैं देखिने भव्य पशुपतिनाथको मन्दिर निर्माणको पहिलो चरण सम्पन्न गरेको छ।

मन्दिरको बृहत्तर योजनाअनुरुपको काम र निर्माण कार्य जारी रहने गरी तीनदिने प्राण प्रतिष्ठा कार्यक्रम हिजो महाशिवरात्री पर्वका दिन मन्दिर उद्घाटन समारोहका साथ सम्पन्न भएको ग्यान्सका पूर्व अध्यक्ष देवराज न्यौपानेले जानकारी गराएकाछन्। ग्रेटर अस्टिन वरपर बसोबास गर्ने नेपाली समुदायबाट करिब ११ लाख डलर संकलन भइसकेको मन्दिर निर्माणमा प्रत्यक्ष संलग्न रहेका सामुदायिक एवं आध्यात्मिक समितिका उपसंयोजक न्यौपानेले बताए। न्यौपानेका अनुसार मन्दिर परिसरमा हालसम्म सम्पन्न कामका लागि करिब सात लाख डलर खर्च भइसकेको अनुमान छ। अन्य शहरहरुमा पनि पशुपतिनाथको मन्दिर बन्ने क्रममा छन, तर बनिसकेको मन्दिरमा अस्टिनको पशुपति मन्दिर नै संभवत सबभन्दा ठूलो पशुपतिनाथको मन्दिर हुनुपर्छ, न्यौपानेले भने।

अमेरिकामा नेपालीहरुको सामुदायिक भवन र मन्दिरले विदेशमा नेपालीहरुको पहिचान बढाउन निकै सहयोग पुगेको छ। यस्ता सामाजिक गतिविधिमा अमेरिकी मुलधारका स्थानीयस्तरका नेताहरुरुको सहभागिताले झनै नेपालीहरुको सांस्कृतिक उपस्थितिलाई प्रोत्साहित गर्ने छ।

उद्घाटन समारोहमा सरिक अतिथि एवं भक्तजनहरुलाई अस्टिनको भव्य पशुपतिनाथ मन्दिरले निकै आकर्षित गरेको पाइन्थ्यो।नेपाल बाहिर पनि नेपालकै पशुपतिनाथ मन्दिरमा गएजस्तै लाग्यो’, एक सहभागीको कथन थियो।

नेपाल कै पशुपतिनाथ मन्दिर जस्तै देखिनुमा त्यसमा प्रयोग भएको अधिकांश निर्माण सामग्री नेपालबाट ल्याइएकोले हो, निर्माण कार्यमा संलग्न ग्यान्सका पदाधिकारीको भनाई थियो।

(अस्टिनबाट हिमालय खबर सहकर्मी भिषण न्यौपानेको सहयोगमा तयार पारिएको। )