मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   
सूचना प्रविधि   

स्मार्ट सिटी अवधारणा र अभ्यास सम्बन्धी वेबिनार

स्मार्ट सिटी अवधारणा र अभ्यास सम्बन्धी वेबिनार

सुजन पण्डित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, ०२ मार्च ।  जय नेपाल इन्टरनेशनल फाउण्डेशनले “स्मार्ट सिटी: विश्वव्यापी परिप्रेक्षदेखि स्थानीय अभ्याससम्म” भन्ने विषयमा वेबिनार आयोजना गरेको छ । हिजो शनिवार भर्च्युअल माध्यमबाट आयोजित कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञ लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा तिनजना विषय विज्ञहरुले आ-आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। पहिलो कार्यपत्र प्रस्तुतकर्ता पालुङ्गटार नगरपालिकाका पूर्व प्रमुख एवं इन्जिनियर दीपक बाबु कँडेलले स्मार्ट जनता, शासन, पूर्वाधार र अर्थतन्त्रबाट स्मार्ट सिटी प्राप्त गर्न सकिने भएको हुँदा समष्टिगत विकासको अवधारणा लिएर जानुपर्नेमा जोड दिएका थिए।

यसैगरी अमेरिकाको दक्षिणी राज्य टेक्ससको सबभन्दा ठूलो शहर सिटी अफ ह्युस्टनका मेनिजिङ्ग इन्जिनियर सतीश त्रिपाठीले आफ्नो प्रस्तुतिमा  स्मार्ट सिटीको लागि स्मार्ट भौतिक पूर्वाधारमा लगानी गर्ने, डेटा कलेक्सन र स्टोरेज तथा मास्टर प्लान बनाएर अगाडि बढेमा स्मार्ट सिटीको अवधारणा अनुरूप काम गर्न सकिने तर्क प्रस्तुत गरेका थिए। नेपालमा अहिले पनि सन् १९७० भन्दा अगाडिको स्वरूपमा योजना बनाउने काम जारी रहेकाले जतिसक्दो छिटो  स्मार्ट सिटीको सुरुवात गर्न आवश्यक रहेको विषय समेत त्रिपाठीले आफ्नो प्रस्तुतिमा समेटेका थिए।

नेपाल सरकारको विद्युतीय सुशासन आयोगका कार्यकारी निर्देशक दीपेश विष्टले नेपालमा भर्टिकल समन्वय र डेटा प्रशस्त भएको तर हराइजन्टल (समतलीय) रूपमा डेटा ट्रान्सफर र समन्वयको कमी रहेको भन्दै यस्तो कमजोरी सुधार नगरेसम्म स्मार्ट सिटीको अवधारणा अनुरुपको लक्ष्य हासिल गर्न गाह्रो हुने धारणा प्रस्तुत गरेका थिए। स्मार्ट सिटी अवधारणा अनुरूप नतिजा प्राप्त हुनका लागि राजनैतिक नेतृत्व, कर्मचारी लगायत सबैलाई प्रविधिको प्रयोग गर्न सक्ने बनाउनु पर्ने, नागरिक सरकारकोमा हैन, सरकार नागरिककोमा पुग्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका थिए।

छलफलमा प्यानलिष्टका हैसियतमा धादिङ जिल्लास्थित नीलकण्ठ नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना, बुटवल उप महानगरपालिकाका प्रमुख खिलराज पाण्डे, गोरखा नगरपालिकाकी उपप्रमुख सपना, अमेरिकी राजधानी शहर डिसी महानगर क्षेत्रमा कार्यरत सार्वजनिक यातायात विज्ञ डा. देशराज संयोक र योजनाविद् एवं जिआइएस विज्ञ डा. केशव भट्टराईले स्मार्ट सिटी अवधारणा अनुरूप काम हुन सके अमेरिकाका भन्दा धेरै अधिकारसम्पन्न नेपालका स्थानीय निकायहरुले छिट्टै आफूलाई स्मार्ट सिटीमा परिवर्तन गर्न सक्ने विचार व्यक्त गरेका थिए।

वक्ताहरुले शिक्षासँगै रोजगारीको सुनिश्चितता गर्न नसक्दासम्म युवा पुस्तालाई देशमा नै बस्ने वातावरण बनाउन नसकिने र यही क्रममा युवाहरु बाहिरिने क्रम बढेमा केही वर्षमा नेपाल सिनीयर सिटिजन्सको देश हुने खतरा औंल्याएका थिए। युवाहरुलाई आफ्नै देशमा अड्याउने ढंगबाट स्मार्ट सिटीको अवधारणा आउनु पर्ने र कार्यान्वयन पक्षमा युवाशक्ति, रोजगारी र उद्यम विकासमा विशेष ध्यान दिनुपर्नेमा उनीहरुको जोड् थियो।

फाउण्डेशनको तर्फबाट डा. नीरज श्रेष्ठद्वारा संचालित कार्यक्रमको नेपाल संयोजन जय नेपाल फाउन्डेशन नेपालका अध्यक्ष बद्री अर्यालले गरेका थिए भने फाउण्डेशनका अध्यक्ष डा. यादव पण्डितले निकै महत्वपूर्ण विषयमा आयोजित वेबिनारमा सहभागी एवं प्रस्तुतकर्ताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।

यसै शृंखलाको दोश्रो चरणको कार्यक्रम आउँदो अप्रिल ६ मा आयोजना गरिने फाउन्डेशनका महासचिव अग्नि चौलागाईंले हिमालय खबरलाई जानकारी गराएकाछन्।