मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी तीव्र

सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी तीव्र

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सौराहा, चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । चितवन हात्ती महोत्सवलाई रुपान्तरण गर्दै यहाँका व्यवसायीहरुले पर्यटन महोत्सव गर्न लागेका हुन् । क्षेत्रीय होटल संघ चितवन सौराहाले पर्यटन विकासका लागि पौष १० गतेदेखि १४ गतेसम्म मैनाहा चौरमा सो महोत्सव गर्न लागेको हो ।

शुक्रबार संघले पत्रकार सम्मेलनको आयोजना गरी चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७औँ संस्करण सुरू गर्न लागेको जानकारी दिएको छ । कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन । २०८० साल सुरू भएपछि सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए ।

चालू आर्थिक वर्षमा मात्र सौराहामा स्वदेशी तथा विदेशी गरी २ लाख २५ हजार पर्यटक आएका छन् । तीमध्ये एक लाख ३० हजार जना पर्यटकले निकुञ्ज अवलोकन गरेको तथ्याङ्कले देखाएको छ । इतिहासमै पहिलोपटक कोरोनाकालमा बन्द भएको सौराहाको पर्यटन चलायमान हुन थालेपछि यहाँका व्यवसायीहरुले पर्यटन गतिविधि सुरू गरेका हुन् ।

साबिकको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो हटाइएको छ । अधिकारकर्मीहरुले प्रश्न उठाउन थालेपछि व्यवसायीहरुले उक्त तीन प्रतियोगिता हटाएका हुन् । पाँच दिनसम्म सञ्चालन हुने उक्त महोत्सवअन्तर्गत हात्ती श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोज र डुङ्गा दौड प्रतियोगितालाई यथावत् राखिएको छ ।

महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तक्र्रिया कार्यक्रम राखिएको छ । खस्किएको चितवनको पर्यटनलाई माथि उठाउन स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरी दायित्व बोध गराउन अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक ओमप्रकाश पाण्डेले जानकारी दिए ।

महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसँग बिटुबी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला–संस्कृतिको संरक्षण, कलाकारहरुको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रवद्र्धनात्मक कार्यक्रम गरिने उनले बताए ।

महोत्सवको उद्घाटन समारोहमा संरक्षण र पर्यटन विकासमा योगदान दिएका अग्रज, उत्कृष्ट नेचर गाइड, संरक्षणकर्मी, माउते, डुङ्गा चालक, जिप सफारी चालक तथा कलाप्रेमीहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । सफारी पर्यटनका हिसाबले परिचित सौराहालाई थप उचाइमा लैजान पर्यटन महोत्सवको रुपमा अगाडि बढाउन थालिएको उनको भनाइ छ ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान सौराहा सह–आयोजक रहेको सो महोत्सवमा नेपाल पर्यटन बोर्ड र सांस्कृतिक, पर्यटन तथा सहकारी मन्त्रालय प्रवद्र्धक तथा रत्ननगर नगरपालिका संरक्षक रहेका छन् ।