मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   
साहित्य / कला   

‘राष्ट्रियता अब भूगोलमा मात्र सिमित छैन’

‘राष्ट्रियता अब भूगोलमा मात्र सिमित छैन’


ड्यालस (अमेरिका) । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले राष्ट्रियतालाई अब भूगोलमा मात्र सिमित पारेर हेर्न र व्यबहार गर्न नहुने धारणा राखेका छन् ।

आइतबार अमेरिकाको टेक्सस राज्यको ड्यालसमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा राईले राष्ट्रियता अब संसारभरि फैलिइसकेको उल्लेख गरे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको स्वागत कार्यक्रममा राईले अमेरिकामा रहेका नेपालीहरुद्वारा सिर्जित साहित्यलाई नेपालसँग जोड्न जरुरी रहेको बताए ।

विगत केही सातादेखि अमेरिका भ्रमणमा रहेका कुलपति राईले आफ्नो अमेरिकाका बारेमा समेत त्यस अवसरमा अनुभव प्रस्तुत गरेका थिए । ‘अमेरिकामा श्रमलाई पूजा गरिने रहेछ, त्यही भएर यो देश बनेको रहेछ । नेपालमा भने चिया पिएर, गफ चुटेर बस्ने संस्कारका कारण हामी पछि परेका हौं कि जस्तो लाग्यो’ उनले भने ।

‘अमेरिकामा श्रम पूज्य रहेको तर नेपालमा भने अझै पनि भाग्यवादमा विश्वास गर्ने संस्कारले गर्दा नेपाल नबनेको हो भन्ने कुरा मैले अमेरिका देखेपछि अनुभव भएको छ’ उनले भने–‘अमेरिकालाई प्रकृतिले भन्दा पनि मानिसले बढी मेहनत गरेर बनाएका रहेछन् ।’

कार्यक्रममा प्राज्ञ बाबा बस्नेतले प्रवासको साहित्यले नेपाली साहित्यमा ठूलो गुन लगाएको चर्चा गरिन् ।

त्यस अवसरमा अनेसासं नेपाल च्याप्टरका पूर्ब महासचिव ऋषभदेव घिमिरेले मनमा जे उब्जन्छ त्यसलाई टिपोट गर्दै कुनै कृतिका रुपमा पछि प्रकाशित गर्दा त्यसले नेपाली साहित्यमा ठूलो गुन लाग्ने विचार राखे । ‘आज अमेरिकामा हुनुभएका तपाईले आफ्नो अनुभव, भोगाईका बारेमा लेखेर समाजलाई केही दिनुभयो भने आजको केही वर्षपछि त्यो कृतिले अर्को पुस्तालाई अहिलेका बारेमा जान्न मात्र नभएर इतिहास समेत हुनेछ’ उनले भने ।

अनेसासं ड्यालस फोर्टवर्थ च्याप्टरकी अध्यक्ष निर्मला राईको सभापतित्व र सुमन कार्कीको सञ्चालनमा भएको कार्यक्रममा अनेसासं ड्यालस फोर्टवर्थका संस्थापक अध्यक्ष भीम कार्कीले स्वागत मन्तव्य राखेका थिए ।