मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

पिसाबको गुन

पिसाबको गुन


उसको नाम भिक्टर । उ ठ्याक्कै कहाँ बस्छ, के काम गर्छ एकिन नभएपनि म काम गर्ने ग्याँस स्टेशनको यतै नजिकतिर उ बस्छ । बिहानको कफी देखि लिएर साँझ कहिलेकाँही बियर किन्न आइरहन्छ ।

अजङ्गको शरिरको धनी उ । अश्वेत वर्णको उसको लवाई पनि अजीवको लाग्छ, ह्वाङ्लाङ्ग परेको हुडी, शरिरभन्दा पनि ठूलो पाइन्ट, डिङ्गो जुत्ता । उसको बोलेको अंग्रेजी बुझ्न सुरुसुरुमा त मलाई कम्ति सकस परेन । सास खिचेर पछिल्ला शव्दहरूनै नबुझिने गरि उच्चारण गरिने उसको अंग्रेजी शव्द पछिपछि त अनुमान गरेरै बुझ्ने भएको थिएँ ।देख्दा लावारिस जस्तो भएपनि उ सभ्य र व्यबहारिक छ ।

‘म्यान आइ डोन्ट ह्याभ मनी । क्यान आइ पे दिस इभिनिंग ?’ बिहान सामान किन्दा नगद भएन भने उ यसैगरि उधारो माग्थ्यो । तर बेलुकी आएर इमान्दारिताका साथ तिर्थ्यो । काम के गर्छ ? कहाँ गर्छ ? उसले अहिलेसम्म मलाई केही बताएको छैन । अमेरिकामा व्यक्तिगत नीति, खोजी गर्नुलाई राम्रो नमानिने कारणले मैले सोधेको पनि छैन ।

फुर्सद हुँदा स्टोरभित्रै बसेर कफी पिउँदै हिमाल, लुम्बिनीका बारेमा मसँग कुराकानी गर्न खोज्थ्यो । नेपाली खानेकुरा मम कतै चाख्ने अवसर पाएको रहेछ उस्ले । उ ममको असाध्यै प्रशंसा गर्छ । उ भन्थ्यो-‘रियल्ली एमेजिङ्ग फूड ।’

अमेरिकाको यो एकान्त सानो सिटीको म एक्लो नेपाली । एकजना पाकिस्तानी साहुको यो स्टोरको सञ्चालन गर्ने जिम्मा लिएर म आएको । हप्ता, १० दिनमा पाकिस्तानी साहु आएर जान्छ । सकिएको सामानको अर्डर गर्ने, बिक्रीको हरहिसाब बनाउने, बैक गएर नगद जम्मा गर्ने सबै काम मेरो जिम्मामा छ । यस्तो बेलामा भिक्टर आउँदा कहिलेकाँही अमेरिकी जनजीवन, राजनीतिको कुरा गर्ने साथी मिलेको छ मलाई ।

बाइडेनले अर्थतन्त्रमा नियन्त्रण गर्न नसक्दा बजारभाउ बढेको उसको गुनासो थियो । रुस युक्रेन युद्धमा अमेरिकाले गरेको सहयोग दुरुपयोग भएको बुझाई पनि उसको छ ।

‘अभी, तिमीले एउटा ठूलो सहयोग गरिदिनुपर्यो मलाई आज’ यतिखेरै भिक्टरले एकाबिहान ८ बजे नै स्टोरमा आएर भन्यो । मेरो पुरा नाम अभिजित भएपनि उसले छोटकरीमा अभी मात्र भनेर संबोधन गर्छ।

मलाई लाग्यो आज चाँही उसले ठूलो रकमको सामान उधारो माग्न खोज्दैछ । के सहयोग हो भनेर तत्काल सोध्न पनि सकिन । किनकी ठूलो रकमको सामान लगेर पैसा दिएन भने मेरै थाप्लोमा पर्छ ।

आ …अहिलेसम्म बेइमान गरेको रेकर्ड छैन । फेरि त्यति खाएर कहाँनै जाने हो र यो ? यति सोच्दै मैले सोधे-‘के सहयोग चाहियो तिमीलाई ?’

‘अभी, मलाई तिम्रो पिसाब चाहियो ?’ उसले भन्यो ।

उसको कुरा सुनेर म चित खाएँ ।

‘मलाई यतिखेर, अहिलेनै तिम्रो फ्रेस पिसाब चाहियो । लौ रेष्टरुममा गएर यो बोतलको आधा जति भरिने गरि पिसाब गरेर मलाई दिइहाल ।’

‘के नचाहिँदो कुरा गर्छौ भिक्टर ? बिहानै मलाई दिमाग खाने काम नगर त । बरु फ्रेस कफी तयार छ पिएर जाउ’ मैले उसलाई पन्छाउन खाेजेँ ।

‘मैले सिरियसली तिम्रो पिसाब माग्दैछु । मैले जिस्किएको होइन । मसँग समय छैन । १५ मिनेटमात्र समय छ मसँग । लौ तुरुन्त रेष्टरुम गइहाल’ उसले यति भन्दै सानो प्लास्टिकको बोतल मेरो हातमा जबरजस्ती राखिदियो ।

मेरो दिमागले केही सोच्न सकेन । डर पनि लाग्यो । आ… ट्वाइलेटमा फ्लश गरेर बगाउने मेरो मुत लगेर जे सुकै गरोस् । कुनै औखतीका रुपमा प्रयोग गरोस्, पियोस् कि, कतै लगेर जे सुकै गरोस् भन्ने सोच्दै ट्वाइलेट पसेँ। उसको हातमा आधा बोतल पिसाब राखिदिएँ । उ बत्तिएर स्टोरबाट निस्कियो ।

त्यो दिनभरि उ स्टोरमा आएन । मलाई लाग्यो कतै त्यही पिसाब पिएर लठ्ठ भएर त सुतेन । पहिले कताकता मान्छेको पिसाब पिउँदा अनेक रोग निको हुन्छ भन्दै साधुसन्तहरुले भनेको चर्चा थियो । कतै भिक्टरले त्यही सुनेर शुद्ध र ताजा पिसाब मागेको त होइन ? मेरा मनमा अनेक तर्कना खेलिरहे ।

भोलीपल्ट बिहान पनि आएन उ स्टोर । एकैपटक बेलुकी आइपुग्यो । उ निकै खुशी थियो । १६ प्याकको बडलाइट किन्यो । अघिपछि दुईवटा चिप्सका प्याकेट किन्ने उसले आज पाँचवटा किन्यो ।

‘अभी तिमीलाई म रेष्टुरेन्टमा डिनर ख्वाउँछु । तिम्रो कहिले फुर्सद मिल्छ ?’

अघिपछि दुई क्यान बियर समेत उधारो माग्ने भिक्टरले आज मलाई डिनरको प्रस्ताव राख्दैछ । मलाई पत्याउन गाह्रो भइरहेको छ । उसले दोहोर्याएर सिरियसली भनेपछि विश्वास गरेँ ।

शनिबार साँझ सिटीको चल्तीको स्पेनिस रेष्टुरामा उसले लिएर गयो । बिफ र पोर्क नखाने कारण उसले मेरा लागि केही चिकन र केही माछाका परिकार अर्डर गर्यो । आफ्ना लागि भने एक पेग ह्विस्की र केही विफ, चिकनका परिकार अर्डर गर्यो ।

‘तिम्रो पिसाबले मेरो जीवन बदलिँदै छ अभी । तिमीलाई धेरैधेरै धन्यवाद । म धेरै आभारी छु तिमी प्रति’ खाँदै गर्दा उ बोल्यो । उसको भनाइको छेउटुप्पो मैले केही बुझिन ।
‘तिम्रो कुरा मैले बुझिन भिक्टर ।’

‘हिजो एउटा कम्पनीमा मेरो ड्रग टेष्ट थियो । मैले काम पाउन त्यो ड्रग टेष्टमा उत्तिर्ण हुनैपर्थ्यो । तर मेरो पिसाबबाट ड्रगटेष्ट गरेको भए म कन्फर्म फेल हुनेथिएँ । किनकी म पारिवारिक पीडा र तनावले गर्दा केही चिजको लतमा फँसेको छु । पानी बाहेक केही नपिउने तिम्रो पिसाबले गर्दा मैले जागिर पाउने कन्फर्म भयो ।’

उसले आफ्नो पिसाब राख्नुपर्ने बोतलमा मेरो पिसाब राखेछ । त्यसले गर्दा उ ड्रगटेष्टमा पास भएको रहेछ ।

उसको कुरा सुन्दै गर्दा मलाई नै डर लाग्न थाल्यो । कतै यो गलत कार्यको सजायँ मैले भोग्नु पर्ने त होइन ? मलाई तनाव भयो ।

‘मैले नशा लिन सुरु गरेको गर्लफ्रेण्डले छाडेर गएपछि हो । त्यसको केही महिना पछि मेरो टेक्निसिएनको जागिर गयो । त्यसपछि मैले नशा लिन थालेँ’ उसले आफ्नो पीडा सुनाउँदै गयो ।

कतिपय ठाउँमा काम पाएपनि ब्लड टेष्ट गर्दा नशाको मात्रा देखिएपछि अयोग्य भएको रहेछ उ । कतिपय ठाउँमा पिसाबमा नशा लिने गरेको संकेत पिसाबमा देखिँदा पाइसकेको नियुक्तिपत्र समेत रद्ध भएको रहेछ ।

कसैले सुनादिएछ स्टोरहरूले मान्छेका पिसाब समेत त्यस्तै कामका लागि बेच्छन् । त्यही थाहा पाएर एक पटक स्टोरमा बेच्न राखिएको पिसाब किनेर पनि लगेछ उसले ड्रगटेष्टको लागि । तर त्यो पिसाब चेक गर्दा प्रेगनेन्सी (गर्भवती) पोजेटिभको नतिजा देखिएछ । पुरुष मान्छे कसरी गर्भवती भन्दै किर्ते काम गरेको भन्दै झण्डै फँसेको रहेछ ।

‘यसपटक हातमा आइसकेको जागिर गुमाउन चाहन्नथे म । त्यही भएर मैले तिमीसँग त्यसदिन बिहानै बोतलमा पिसाब मागेको हो । किनकी म ढुक्क थिएँ ड्रग्स त के सोडा, बियर, वाइन, ह्विस्की समेत कहिल्यै नपिउने तिम्रो जति शुद्ध पिसाब अरु कसैको हुनै सक्दैन ।’
भिक्टरको कुराले म ट्वाल्ल परेँ ।

‘यो जागिर गयो भने अर्को पटक कस्को पिसाब माग्छौ त ? म त पटक पटक पिसाब दिन्न’ मैले उडाउने पाराले सोधेँ ।

‘अभी अब म सुध्रिन्छु । म कुलतमा परेको पनि आर्थिक अभाव, गर्लफ्रेण्डले छाडेका कारण हो । अब म सुध्रिन्छु, कमाएको रकममध्य केही वचत पनि गर्छु । तिम्ले मात्र होइन, अरु कसैले पनि मलाई पिसाब दिनुपर्दैन । तिमीले लगाएको पिसाबको गुन पहिलो र अन्तिम हुनेछ ।’