विचार / ब्लग

सर्वाधिक अर्बपति ब्लु स्टेटमा:

सर्वाधिक अर्बपति ब्लु स्टेटमा:

रिपब्लिकन 'प्रो-बिजनेस' को नेपाली बुझाइ कति पानीभित्र, कति बाहिर ?


हरेक वर्ष विश्वका अर्बपतिहरूको सूची फोर्ब्स नामक पत्रिका (अहिले अनलाइन पनि) ले प्रकाशित गर्दै आइरहेको छ।

केही महिनाअघि सार्वजनिक फोर्ब्सको सूची अनुसार यो वर्ष विश्वमा तीन हजार चार सय २८ जना अर्बपतिहरू छन्। नेपाली वा भारतीय रूपियाँ, चिनियाँ युआन वा अरू अन्य मुद्राका अर्बपति होइनन् यी। यिनीहरू त विश्वमा सर्वग्राह्य अमेरिकी डलरमा एक अर्बभन्दा बढी सम्पत्ति हुनेहरूको सूची हो।

Advertisement

यीमध्ये नौ सय ८९ जना अमेरिकी छन्। विश्वका अर्बपतिहरूको हातमा मात्र कुल सम्पत्ति २० हजार अर्ब डलर छ। यीमध्ये अमेरिकी अर्बपतिहरूको सम्पत्ति मात्र ८ हजार चार सय अर्ब डलर छ।

अमेरिकामा रहेका झण्डै एकहजार अर्बपतिहरू कहाँ बस्छन्? कस्ता घरमा बस्छन्? यिनीहरूले यतिका धेरै सम्पत्ति के गरेर खर्च गर्लान्? धेरैको चासो अनि सरोकार देखिन्छ। तर आज यहाँ चर्चा गर्न लागिएको उनीहरूको सम्पत्तिभन्दा पनि कुन राज्यमा बस्छन् वा कुन राज्यबाट उनीहरूको अर्बपति पहिचानको उदय भयो भन्ने विषय हो। अनि यसैको साङ्गोपाङ्गोमा रिपब्लिकन मात्र व्यवसायमैत्री हुन् भन्ने एउटा राजनीतिक भाष्य अर्थात् प्रचारित भाषालाई केलाउने प्रयास हो।

अमेरिकाका ५० राज्यहरूमध्ये ४७ वटामा अर्बपतिहरू छन्। तीनवटा राज्यहरू अलास्का, डेलावेयर र वेस्ट भर्जिनियामा एक जना पनि अर्बपतिहरू छैनन्। यी तीनमध्ये अलास्का र वेस्ट भर्जिनिया सोलिड रिपब्लिकन राज्य हुन् भने डेलावेयर डेमोक्रेटिक पार्टी शासित राज्य हो।

बाँकी ४७ राज्यहरूमध्ये सबैभन्दा बढी अर्बपतिहरूको बसोबास वा व्यवसाय रहेको राज्य क्यालिफोर्निया हो। अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियामा झण्डै दुईसय अर्बपतिहरू बस्छन्। प्रविधिको हब सिलिकन भ्यालीदेखि लिएर मनोरञ्जनकै केन्द्र हलिउडसम्म यही राज्यमा छन्। टेक्नोलोजीदेखि बायोटेक र मनोरञ्जन उद्योगको केन्द्रका रूपमा क्यालिफोर्निया चिनिँदै आएको छ।

दोस्रो धेरै अर्बपतिहरू बस्ने वा व्यवसाय भएको राज्य न्यूयोर्क हो। न्यूयोर्कमा एकसय ४० जना अर्बपति छन्। न्यूयोर्क वित्तीय कारोबार, रियलस्टेट, वाल स्ट्रिट, मिडिया इण्डस्ट्रिजको केन्द्र हो। न्यूयोर्क जो चौबीसै घण्टा जाग्राम रहने संसारको आर्थिक राजधानीका रूपमा परिचय छ।

तेस्रो धेरै अर्बपति फ्लोरिडामा छन्। जहाँ एकसय १५ जना अर्बपति छन् भने क्यालिफोर्निया, न्यूयोर्क र फ्लोरिडापछि चौथो धेरै अर्बपति भएको राज्यमा टेक्सस गणना हुँदै आएको छ। टेक्ससमा ८८ जना अर्बपति छन्।

यी चार राज्यबाहेक इलिनोय, मासाचुसेट्स, पेन्सिल्भेनिया, जोर्जिया, नेभाडा, कनेक्टिकट, वासिङ्टन, एरिजोना, कोलोराडो लगायतका राज्यहरूमा दुई अङ्कका अर्बपतिहरू छन्।

रिपब्लिकन मात्र व्यवसायमैत्री पार्टी हो?

अमेरिकाका नेपाली समुदायबीच एउटा धारणा छ। विशेषगरी न्याचुरलाइज प्रक्रियाबाट अमेरिकी नागरिकता लिएका नेपालीभाषीमा अमेरिकी राजनीतिमा त्यो छाप गढेको देखिन्छ।

नेपाली समुदायमा मात्र होइन अमेरिकामा रिपब्लिकन पार्टीको राजनीति गर्ने केही नेताहरूमा पनि आफूलाई प्रो बिजनेस फ्रेन्डली भनेर विज्ञापन गर्ने गज्जबको शैली देखिन्छ। चुनावी समयमा कतिपय क्याम्पेन एड (चुनावी विज्ञापन) मा डेमोक्रेटिक पार्टी व्यवसायी विरोधी भन्दै आरोप लगाउँदै रिपब्लिकन पार्टीका नेताहरूले दाबी गरेको देखिन्छ।

अनि नेपाली समुदायका विशेषगरी ग्यास स्टेसनका मालिकदेखि लिएर रेस्टुरेन्टका साहुहरूमा रिपब्लिकन पार्टी उनीहरूको व्यवसाय बढाउने र फलिफाप मात्र गर्ने नीति भएको दल हो भन्ने बुझाइले जरा गाडेको छ। डेमोक्रेटिक पार्टी भनेको बढी कर लगाउने दल हो र रिपब्लिकन भनेको कर छुट दिने पार्टी हो भनेर नेपालबाट आएका साना तथा मझौला व्यवसायीको बुझाइ हुँदै आएको छ।

डेमोक्रेटिक पार्टी काम नगर्ने वर्गलाई फुडस्टाम्प र सरकारी सहुलियत दिने दल हो भन्ने बुझाइ अझै केहीमा देखिन्छ। आफूले तिरेको कर सिधै काम नगर्ने वर्गलाई सरकारले दिन्छ भन्ने सोचाइ पनि उनीहरूमा छ।

साँच्चै माथि उल्लिखित धारणा सही हो त?

यो तथ्य भित्रैदेखि बुझ्न सुरुमा उल्लिखित अर्बपतिहरूको सूचीमा फेरि फर्किनुपर्ने हुन्छ। अमेरिकामा सबैभन्दा बढी अर्बपति बस्ने राज्य क्यालिफोर्निया हो भन्ने तथ्य र सङ्ख्या माथि नै उल्लेख भइसक्यो। झण्डै दुईसय अर्बपतिहरू रहेको राज्य क्यालिफोर्निया अमेरिकामा डेमोक्रेटिक पार्टी शासित सोलिड ब्लु स्टेटका रूपमा परिचित छ। डेमोक्रेटिक पार्टीको सबैभन्दा ठूलो शक्ति नै क्यालिफोर्निया हो। यही राज्यमा संसारकै धनी इलोन मस्क फस्टाएका थिए।

क्यालिफोर्नियाले लिएको क्लिन इनर्जी र विद्युतीय सवारी साधन प्रवर्धनको नीतिबाटै मस्कको व्यवसायले गुणात्मक फड्को मारेको हो। वायुमण्डलमा कार्बन उत्सर्जन कम गरेर पृथ्वीलाई ग्लोबल वार्मिङबाट जोगाउने दीर्घकालीन नीति बनाएर हरेक विद्युतीय कारलाई ८ हजार डलर सरकारी अनुदान दिने नीति डेमोक्रेटिक पार्टीकै कार्यकालमा पारित भएको थियो। यसले टेस्ला कारको माग बढाएको थियो। भलै धेरै धनी भएपछि कर तिर्नबाट मुक्ति लिनका लागि अहिले मस्क र उनको कम्पनी राज्यको आयकरमुक्त टेक्सस सरेका छन्। तर उनको व्यवसायको सुरुआतदेखि पिक पोइन्टसम्म पुगेको वा पुग्न मद्दत गरेको ब्लु स्टेट क्यालिफोर्नियाले हो।

इलोन मस्क मात्र एक्ला होइनन्। सोसल मिडिया जायन्ट अर्थात् अर्का अर्बपति फेसबुकका मालिक मार्क जुकरबर्गले कमाएको र हैसियत बनाएको पनि क्यालिफोर्नियामै हो। संसारकै सबैभन्दा मूल्यवान् कम्पनी एप्पलले सुरुआतदेखि अहिलेसम्म जे जति गरेको छ त्यो पनि ब्लु स्टेटमै रहेर गर्दै आएको छ।

एनभिडिया उठेको र जेन्सन ह्वाङले जे जति गरेर संसारकै सबैभन्दा शक्तिशाली चिप्स निर्माता बनेको पनि क्यालिफोर्नियामै हो। अनि ल्यारी पेजले स्थापना गरेर अहिले संसार हल्लाउने गुगल वा मोबाइल फोनको अपरेटिङ सिस्टम एन्ड्रोइड पनि क्यालिफोर्नियाकै ब्लु स्टेट हावापानीमा हुर्किएको हो।

न्यूयोर्क जस्तो अर्को ब्लु हावापानीमा माइकल ब्लुमबर्गदेखि लिएर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प फस्टाएका हुन्।

माइक्रोसफ्ट फस्टाएर बिल गेट्सलाई वर्षौंसम्म संसारकै सर्वाधिक धनी व्यक्ति सिर्जना गर्ने अर्को डेमोक्रेटिक पार्टी शासित राज्य वासिङ्टन हो। जहाँ अमेजनका मालिक जेफ बेजोसदेखि लिएर स्टारबक्सका होवार्ड शुल्चसम्म धनी बने। विश्वलाई ठूला व्यावसायिक हवाइजहाज उत्पादन गरेर दिने बोइङको प्रधान कार्यालय र उत्पादन प्लान्ट पनि वासिङ्टनमै छ।

कुन चाहिँ ब्लु स्टेटले अर्थात् डेमोक्रेटिक पार्टीले व्यवसाय प्रवर्धनमा भाँजो हालेको छ? भलै माथि इलोन मस्कको लोभ र लालसाको सन्दर्भमा उल्लेख गरिसकेँ कि धनी भएपछि कर तिर्न नपरे हुन्थ्यो, सरकारी सहुलियत चाहिँ पाइराखौँ, तर कर चाहिँ कमभन्दा कम तिर्नुपरोस् भन्ने मानसिकताले अमेरिकाका अर्बपतिलाई पनि गाँजेको छ। चुनावमा आफू निकट उम्मेदवारलाई जिताउन लाखौँ डलर चन्दा दिने व्यवसायीहरू कर तिर्नभन्दा छुट लिन अग्रपङ्क्तिमा रहने गरेका छन्।

सोही कारण कर कम तिर्नका निम्ति उनीहरू अलि कम कर भएका राज्यहरू टेक्सस र फ्लोरिडा सरिरहेका छन्। अमेजनका मालिक जेफ बेजोस, जो तीन वर्षअघिसम्म संसारकै धनी व्यक्ति थिए, उनी अहिले रेड स्टेट फ्लोरिडा सरेका छन्।

टेक्सस, फ्लोरिडा जस्ता रेड स्टेट अर्थात् रिपब्लिकन शासित राज्यहरूमा आवश्यक रकमका लागि राज्यका अन्य स्रोतहरू दरो भएकाले आयकरबाट मुक्ति दिइएको छ। टेक्ससले राज्यको आयकरको सबैभन्दा ठूलो हिस्सा घर वा सम्पत्ति करबाट असुल्दै आएको छ। टेक्सस अमेरिकाको उच्च प्रोपर्टी ट्याक्स रहेका राज्यहरूको सूचीमा सातौँ नम्बरमा छ। जहाँ कुल मूल्याङ्कनको १.६३ प्रतिशत प्रोपर्टी ट्याक्स लाग्दै आएको छ। टेक्ससले गत वर्ष प्रोपर्टी ट्याक्सबाट मात्र ८९ अर्ब डलर राजस्व आर्जन गरेको थियो।

अमेरिकामा टेक्सससँग सबैभन्दा बढी प्राकृतिक ग्यास (पेट्रोलियम) को भण्डार छ। जसले गर्दा यसबाट टेक्ससले २० देखि २७ अर्ब डलर राजस्वमा योगदान गरिरहेको छ। यही स्रोतका कारण राज्यले आयकरमा वार्षिक ३० हजार डलर पनि मुस्किलले कमाउने मजदुरदेखि अर्बौँ डलरको कारोबार हुने व्यवसायीलाई समेत आयकरबाट छुट दिन सकेको हो।

वार्षिक खर्बौँ डलरको कारोबार हुँदा केही प्रतिशत मात्र राज्य आयकरबाट मुक्ति पाउँदा अर्बौँ डलर बच्ने भएपछि ठूला अर्बपतिहरू केही रेडस्टेटमा सर्न लाम लागेका हुन्। देशको मायाले, जनतालाई रोजगारी दिने चाहनाले हुँदै होइनन्। उनीहरू रेड स्टेट सरेकै कारण रिपब्लिकन पार्टीलाई व्यवसायमैत्री पार्टी भनेर गरिएको दाबी पत्याइहाल्ने विषय चाहि होइन। यसका लागि रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति भएको समयको अमेरिकाको आर्थिक वृद्धिदर, रोजगारी सिर्जना जस्ता तथ्याङ्कलाई केलाउँदा छर्लङ्ग हुने विषय हो।

अर्थशास्त्री एलन ब्लाइन्डर (Alan Blinder) र मार्क वाट्सन (Mark Watson) ले प्रिन्स्टन विश्वविद्यालयका लागि गरेको अध्ययन अनुसार दोस्रो विश्वयुद्धपछिको इतिहास हेर्दा डेमोक्रेटिक राष्ट्रपतिहरूको कार्यकालमा अमेरिकी अर्थतन्त्रको समग्र प्रदर्शन रिपब्लिकनको तुलनामा उल्लेखनीय रूपमा राम्रो रहेको छ ।

उनीहरूका अनुसार, अमेरिकामा विगत ८० वर्षको आर्थिक अवस्था केलाउँदा रिपब्लिकन राष्ट्रपतिको कार्यालयमा औसत आर्थिक वृद्धिदर २.४ प्रतिशतदेखि २.५ प्रतिशतसम्म मात्र थियो। जबकि डेमोक्रेटिक राष्ट्रपतिको कार्यकालमा ४.२ देखि ४.६ प्रतिशतसम्म भएको थियो। अधिकांश रिपब्लिकन राष्ट्रपतिको कार्यालय आर्थिक मन्दीले गुज्रिएका थिए। निजी क्षेत्रको लगानी रिपब्लिकनको कार्यकालमा सुस्त थियो भने वार्षिक रोजगारी वृद्धि एक प्रतिशतभन्दा माथि उक्लिएन।

यदि रिपब्लिकन व्यवसायमैत्री हुन्थ्यो त वेस्ट भर्जिनिया र अलास्कामा पनि थुप्रै अर्बपतिहरू हुनुपर्ने हो। ती राज्यहरूमा एकजना पनि अर्बपति किन भएनन् भने पार्टीको कारणले भन्दा पनि अवसरको कमीले हो।

अमेरिकामा डेमोक्रेटिक पार्टी शासित अर्थात् ब्लु स्टेटहरूमा ४४० जना अर्बपतिहरू छन्। जबकि रिपब्लिकन शासित अर्थात् रेडस्टेटहरूमा २८० जना मात्र अर्बपति छन्। यदि रिपब्लिकन मात्र व्यवसायमैत्री हुन्थ्यो त अर्बपतिको सङ्ख्या ब्लुस्टेटभन्दा रेडस्टेटमा धेरै हुनुपर्ने होइन र?

अनि रिपब्लिकन मात्र व्यवसायमैत्री दल हुन्थ्यो त रेडस्टेटबाट कुनै पनि ठूला, मझौला र साना व्यवसायहरू बन्द नहुनुपर्ने हो। सन् २०२५ मा मात्र ८ हजार २ सय ७० रिटेल स्टोरहरू अमेरिकामा बन्द भएका छन्। बिग लट्स, पार्टी सिटी, राइट एड, ९९ सेन्ट ओन्ली, फरेभर ट्वान्टीवान जस्ता कम्पनीले टाट पल्टिएको घोषणा गर्दै स्टोर बन्द गरेका छन्। रिपब्लिकन र डेमोक्रेटिक शासित दुवै राज्यहरूमा बन्द भएका छन्।

पछिल्लो समयमा केही रेड स्टेटहरूले फुडस्टाम्प अर्थात् स्न्याप कार्डबाट सोडाजन्य पेय पदार्थ, चिप्स जस्ता चिजहरू किन्न नपाउने नीति बनाएपछि सयौँ स्टोरहरू बन्द भइसकेका छन्। यसबाट नेपाली समुदायका व्यक्तिहरूले सञ्चालन गरेका साना व्यबसायहरू वित्तीय रूपमा अप्ठेरो स्थितीमा पुगेका छन् । किनकी ग्रामीण क्षेत्रका ग्यास स्टेसन, ग्रोसरी स्टोरहरूका ग्राहकहरू फुडस्टाम्पवाहक हुन्। उनीहरूले सोडा, चिप्स जस्ता चिजमा खर्च गर्न नपाएपछि स्टोरको कारोबारमा असर परेर धमाधम बन्द भएका छन्।

रिपब्लिकनलाई प्रो बिजनेस फ्रेन्डली दाबी गर्नुका पछाडि उसको कामदार अमैत्री नीति एउटा कारण हो। रिपब्लिकनहरू तल्लो तहका कामदारको हकहितभन्दा पनि लगानीकर्ताको हकहिततर्फ बढी केन्द्रित छन्। कामदारको हक अधिकार, युनियनमा भन्दा पनि कामबाट निकाल्न सक्ने नीतिलाई सजिलो अनि बलियो बनाउनुपर्छ भन्ने मान्यता यो दलको रहिआएको छ। उपभोक्ताको पक्षमा भन्दा पनि उत्पादकको पक्षमा रहेर सरकारी नियमन खुकुलो बनाउने नीति रिपब्लिकनको रही आएको छ।

मध्यम र साना व्यवसायभन्दा पनि ठूला कर्पोरेटका पक्षमा रिपब्लिकनका नीतिहरू हुन्छन्। ठूला व्यवसायीलाई बढी कर छुट दिने नीतिमा रिपब्लिकन अगाडि छन्। उनीहरूको मान्यता देखिन्छ— कर छुट दिएको रकम व्यवसायीले फेरि व्यवसायमै लगानी गर्छ र बढाएर रोजगारी सिर्जना गर्छ। उनीहरू सप्लाइ साइड इकोनोमिक्समा विश्वास गर्छन्। उद्योगीलाई छुट दिएपछि त्यसको फाइदा तलसम्म पुग्छ (ट्रिकल डाउन) मा उनीहरूको विश्वास देखिन्छ। तर यो मान्यता अहिलेको ग्लोबलाइजेसनको युगमा प्रत्युत्पादक भइरहेको छ।

जबकि डेमोक्र्याटहरू मागपक्ष (डिमान्ड साइड इकोनोमिक्स) लाई जोड दिन्छन्। उपभोक्ता अर्थात् जनताको क्रयशक्ति वा आम्दानी वृद्धिले बजारमा वस्तु तथा सेवाको माग बढाउँछ। त्यसले बिक्री बढाउँछ। त्यसले व्यवसायलाई नै फाइदा पुर्‍याउँछ भन्ने नीति डेमोक्र्याटहरूको देखिन्छ।

रिपब्लिकनहरूले कर छुटले व्यवसायीले फेरि लगानी गर्छ भन्ने भाष्य बोकेको पाइन्छ। जबकि सरकारबाट पाएको कर छुटको फाइदा अमेरिकाभन्दा बाह्य मुलुकहरूले लिइरहेका छन्। इलोन मस्कको कम्पनी टेस्लाले चीन, जर्मनी, मेक्सिको र भारतमा १० देखि १५ अर्ब डलर लगानी गरेको छ। त्यस्तै स्पेस एक्स र स्टारलिङ्कले पनि अमेरिका बाहिर डेढ अर्ब डलर लगानी गरेको इन्टरनेटका विभिन्न स्रोतहरूमा उल्लेख छन्।

उता फेसबुकको प्यारेन्ट कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले आयरल्यान्डमा ठूलो क्षेत्रफलको जमिनसहितको विलासी घर ३ करोड ५० लाख डलरमा किनेका छन्। अमेरिकामा कर छुट लिएर बाहिर सम्पत्ति जोड्न दिन हुने कि नहुने विषयमा अमेरिकामा बहस सुरु भएको छ।

निष्कर्ष

‘रिपब्लिकन मात्र व्यवसायीमैत्री हुन्’ भन्ने भनाइ एउटा राजनीतिक र प्रचारित भाष्य (Narrative) मात्र हो। यदि कर कटौती र नियमनमुक्तिलाई मात्र व्यवसायको दायरा मान्ने हो भने रिपब्लिकनहरू अग्रस्थानमा देखिन्छन्। तर, बलियो बजार माग, पूर्वाधार विकास, आर्थिक स्थिरता, उच्च कुल ग्राहस्थ उतपादनको वृद्धि र सेयर बजारको दीर्घकालीन प्रतिफललाई मापदण्ड बनाउने हो भने डेमोक्र्याट नीतिको योगदान झन् प्रभावकारी देखिन्छ। सफल व्यावसायिक वातावरणका लागि नीतिगत सन्तुलन, उपभोक्ताको क्रयशक्ति र पूर्वाधार उत्तिकै आवश्यक पर्ने भएकाले कुनै एक दललाई मात्र ‘व्यवसायीमैत्री’ मान्नु तथ्यगत आधारमा एकाङ्गी ठहरिन्छ।