मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

अमेरिकाका प्रवासी नेपालीहरुले, दशैंको बेलामा नेपाल, नेपाली र आफन्त सम्झिए

अमेरिकाका प्रवासी नेपालीहरुले, दशैंको बेलामा नेपाल, नेपाली र आफन्त सम्झिए


विविध कारणले नेपाल छोडेर अमेरिका बस्दै आएका प्रवासी नेपालीहरुले, नेपालीहरुको महान चाड बडा दशैंका बेलामा नेपाल, नेपाली र आफन्तलाई सम्झिएका छन्। उनीहरुले ग्रेटर बोस्टन नेपाली कम्युनिटीले अमेरिकाको बोस्टनमा आयोजना गरेको ‘दशैं तिहार धमाका -२०८०’ मा सहभागी हुदै नेपाल, नेपाली र आफन्तलाई सम्झिएका हुन्। कार्यक्रम गत अक्टोबर २१ तारिख शनिवार साँझ क्याम्ब्रिज सिटीको 400 Cardinal Medeiros Avenue, Cambridge मा सम्पन्न भएको थियो। नेपालीहरुको धर्म, संस्कृति, परम्परा, रितिरिवाज, नेपालीपन र नेपाली पहिचानको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने, शुभकामना आदानप्रदान गर्दै आपसमा भाइचाराको सम्बन्धलाई गाढा बनाउने र सांगीतिक माहोलमा रमाउदै सामुहिक रुपमा दशैं मनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा कलाकारहरुले महान चाड ‘दशैं र तिहार’को महत्व, आकर्षण र प्रवासी नेपालीहरुको अवस्थालाई सुन्दर ढंगबाट दर्शाएका थिए।

सांगीतिक माहोलमा रम्दै झुम्दै गरेका सहभागीहरु, कलाकारहरुले गाएका/बजाएका गीत संगीतहरुसंगै भावनामा डुबेका थिए। नेपाली राष्ट्रिय गान बज्दा उठेर सम्मान व्यक्त गरेका उनीहरुको अनुहारमा, नेपालीत्व प्रकट भएको थियो। कलाकारहरुले पस्किएका अर्को दशैं पक्का आउछु…, वर्षमा दिनमा लै लै…, यो मन त मेरो नेपाली हो……, अहिलेको दशैंमा …,नेपाल फर्की जाँउ …… जस्ता नेपाल, नेपाली, नेपाली चाड पर्व र आफन्तप्रतिको सामिप्यता, सम्मान र महत्व दर्शाउने गीतहरुले दर्शकहरुलाई निकै भावुक बनाएको थियो।

वरिष्ठ अभिनेत्री पूजा चन्द र नव अभिनेत्री प्रमिला कार्की(प्राप्ति)समेत उपस्थित रहेको उक्त कार्यक्रममा, स्थानीय कलाकारहरुले अन्य मनोरञ्जनात्मक नेपाली गीतहरु गाएर र नृत्यहरु गरेर माहोललाई उल्लासमय बनाएका थिए। आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष संदिप भट्टलाईले डिजेको भूमिका निर्वाह गर्दै पस्किएका सुमधुर गीत संगीतहरुमा नाच्दै गाउदै सभागीहरुले भरपूर मनोरञ्जन लिन चुकेनन्। सांगीतिक माहोलसहित नेपालमय बनेको कार्यक्रम स्थलका सहभागीहरुले, एकआपसमा आत्मीय सामिप्यता प्रकट गर्दै शुभकामनासमेत आदानप्रदान गरेका थिए।

सजना अधिकारी र प्रमिला धमला बन्जराको साथमा आयोजक संस्थाका महासचिव सोनाम शेर्पाले सञ्चालन गरेको कार्यक्रममा, संस्थाका कार्यक्रमहरुलाई सफल बनाउन र संस्थाको गरिमालाई बढाउन अमूल्य साथ, सहयोग र योगदान पुर्याएको भन्दै सामाजिक व्यक्तित्व, पत्रकार, फोटोग्राफर, कलाकारलगायतलाई संस्थाकी अध्यक्ष अन्जु थापाले कदर स्वरुप प्रशंसा-पत्र प्रदान गरेकी थिइन्। त्यसैगरी, अतिथि द्वय अभिनेत्री पूजा चन्द र प्रमिला कार्की(प्राप्ति)लाई खादा ओडाए सम्मान गरेकी थिइन्। जिबिएनसिले हरेक वर्ष नियमित रुपमा गर्दै आएको ‘दशैं तिहार’ कार्यक्रमले निरन्तरता पाएको र सबैलाई एउटै ठाँउमा जम्मा भएर मनोरञ्जन गर्दै शुभकामना आदानप्रदान गर्न पाएकोमा सहभागीहरुले खुशी व्यक्त गरेका छन्। कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै सहभावी ६५ वर्षीया भगवती कार्कीले भनिन्, ‘कार्यक्रम निकै महत्वपूर्ण र मनोरञ्जनात्मक लाग्यो।

नेपाल, नेपाली र आफन्तहरुलाई सम्झाउने गीतहरु र यो जमघटले निकै भावुक बनायो।’ कार्यक्रम आयोजना गर्ने आयोजकलाई धन्यवाद दिदै उनले भनिन्, ‘कार्यक्रम निकै महत्वपूर्ण छ। आयोजकलाई धन्यवाद छ। र, निरन्तरताका लागि अनुरोध पनि गर्छु।’ संस्थाका महासचिव सोनाम शेर्पाले कार्यक्रम सफल भएको प्रतिक्रिया दिदै साथ सहयोग गर्ने सबैलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्। उनले भने, ‘हाम्रो तर्फबाट कार्यक्रम सक्दो प्रभावकारी र मनोरञ्जनात्मक बनाउने कोसिस गर्यौ। सहभागीहरुको प्रतिक्रिया अनुसार कार्यक्रम सफल भएको मानेका छौं। सबैलाई धन्यवाद ! ‘

प्रवासी नेपालीहरु आवद्ध विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, कलाकारहरु तथा प्रवासी नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा, नेपालीपन, पहिचान र स्वादका विभिन्न स्वादिष्ट परिकारहरुको पनि व्यवस्था गरिएको थियो। कार्यक्रमलाई सनसेट डेकोड, जेन ट्राभल्स डटकम, चौबन्दी बुटिक, आइ ब्रोज, ब्लु डोर मोर्टगेज, इ एण्ड एन सर्भिसेस् आइएनसिलगायतले प्रायोजन गरेका थिए।