मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
विचार / ब्लग    

एनआरएनए अमेरिकाको चुनावमा ‘नो भोट’को सन्देश

एनआरएनए अमेरिकाको चुनावमा ‘नो भोट’को सन्देश

सुजन पण्डित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गैर आवासीय नेपाली संघ, अमेरिकाको चुनाव भर्खर सकियो। करिब एक महिनासम्म चलेको चुनावी सरगर्मी र उम्मेदवारहरुको प्रचारात्मक रफ्तार सोमवार बिहानै चुनावी नतिजा सार्वजनिक भएसंगै विश्राम लिएको छ। नतिजा अनुसार डा. अर्जुन बन्जाडे अध्यक्ष पदमा निर्वाचित भइसकेकाछन्।

चुनाव स्थानीय स्तरको होस् वा राष्ट्रियस्तरको, त्यसले ल्याउने चासो र चस्का आकारमा फरक भएपनि प्रभाव उस्तै खालको हुनेगरेको छ।

प्रत्येक चुवाव पछि अमेरिकाको एनआरएनए प्राय विवादको भूमरीमा फस्दै आइरहेको छ। चुनाव पछि हार्ने उम्मेदवारहरु अदालत धाउने वा फरक गुट संचालन गर्दै आइरहेको उदाहरण छ। २०२१-२०२३ को चुनाव पछि हार्ने समुह अदालत त गएन तर केहीले स्वघोषित र अवैधानिक तबरले राष्ट्रिय समन्वय परिषदकै समानन्तर समिति बनाएर काम गरे। यस अघि अमेरिकामा एउटा बैधानिक र दुईवटा अवैधानिक राष्ट्रिय समन्वय परिषद सक्रिय देखिए। जसका कारण सर्वसाधारण एनआरएनहरु समग्र एनआरएन अभियानप्रति नै नकारात्मक हुने वातावरण बन्यो। अन्तराष्ट्रिय समन्वय परिषदमा तीन-तीन जना अध्यक्ष भएको बेला अमेरिकामा पनि दुईवटा स्वघोषित सहित तिनवटा राष्ट्रिय समन्वय परिषद सक्रिय रहे। यी सबै नकारात्मक माहौलका बिच एनआरएनए अमेरिकाको चुनाव सम्पन्न भएको छ र नयाँ नेतृत्व चुनिएर आएको छ।

यो पटकको चुनावमा दुबै स्वघोषित समितिमा आबद्धहरु समेत सहभागी भएको देखिएकाले चुनाव पछि अर्को समुह नबन्ला भन्ने अपेक्षा त गर्न सकिन्छ तर नेपालका राजनीतिक दलका भातृ संगठनका कार्यकर्ताहरु सल्बलाइरहने अमेरिकाको एनआरएनए अभियानमा फेरि कुन बेला धमिरा लाग्ने हो यसै भन्न सकिन्न।

‘परिवर्तन अपरिहार्य छ’ भन्ने नारा लिएर चुनावी अभियानमा होमिएका डा. बन्जाडेले एनआरएनए अमेरिकामा कस्तो परिवर्तन गर्लान्? पराजित अध्यक्षका उम्मेदवार सहित उनको अभियानसंग जोडिएकाहरुसंग कस्तो सहकार्य गर्लान् भनेर सबैले चासोपूर्वक हेरिरहेकाछन्। उनको सफलता आगामी दिनमा उनले गर्ने कामले नै निर्धारण गर्नेछ।

डा. बन्जाडे र दिलु पराजुलीले छुट्टा-छुट्टै समुह बनाएर चुनाव लडेका भएपनि चुनावी परिणाम मिश्रित आएको छ। तसर्थ मतदाताहरुले आफ्नो मत मार्फत मिलेर परिवर्तनको एजेण्डा पुरा गर्न नव निर्वाचित अध्यक्षलाई सुझाएकाछन्।

एनआरएनए अमेरिका चुनाव-मत विश्लेषण

एनआरएनए अमेरिका चुनाव-मत विश्लेषण
उम्मेदवारहरुलाई मन नपराएर None of the Above अप्सन प्रयोग गर्नेहरु करीब १५ प्रतिशत

अन्तराष्ट्रिय समन्वय परिषदको अगुवाइमा अष्ट्रेलियास्थित कम्पनी ‘भेरो’ को सफ्टवेर प्रयोग गरेर पहिलो पटक फेसियल भेरिफिकेसन पद्धति अपनाएर गरिएको अनलाइन चुनावमा कुल १३,६९२ मध्ये ११,२६९ (८२.३%) सदस्यहरुले मतदान गरेका थिए भने करिब १,६०० आजीवन सदस्यहरुले समय मै आफ्नो प्रोफाइल अपडेट नगरेका कारण मताधिकारबाट बन्चित भएका थिए।

यस पटक फेसियल भेरिफिकेसन मात्र होइन प्रत्येक पदका उम्मेदवारहरु मन नपरेको भए None of the Above ( NOTA) भन्ने अप्सन समेत छान्न पाइने व्यवस्था मिलाइएको थियो। पहिलो पटक आफूलाई सम्बन्धित पदका कुनैपनि उम्मेदवार मन नपरेको कुरा मतद्वारा अभिव्यक्त गर्न पाइने व्यवस्थासहित भएको एनआरएनए अमेरिकाको चुनावमा उल्लेख्य मतदाताहरुले आफूलाई कुनै पनि उम्मेदवार मन नपरेको जानकारी गराउन पाएका थिए।

यो चुनावमा अध्यक्षका उम्मेदवार बाहेक कसैले पनि खसेको मतको ५० प्रतिशत मत कटाउन सकेनन्। डा. बन्जाडेले खसेको मत मध्ये झण्डै ५१ प्रतिशत ( ५०.९३) अर्थात ५,७३९ पाएका छन् भने उनका प्रतिस्पर्धी दिलु पराजुलीले खसेको मतको ४२.६५ प्रतिशत (४,८०६) मत पाएकाछन्। अध्यक्ष पदमा ६.४२ प्रतिशत (७२४ जना) सदस्यले दुबै उम्मेदवारलाई मन नपराएको देखियो। उनीहरुले इलेक्ट्रोनिक मतपत्रमा उल्लेखित ‘None of the Above- NOTA’ को विकल्प रोजेका थिए। डा. बन्जाडेले पहिलो बोर्ड अफ डिरेक्टरमा चुनाव जितेका बेला पाएको सर्वाधिक मतको रेकर्ड यो पटक अध्यक्ष हुँदा समेत कायम गरेका छन्।

अध्यक्ष पछि सर्वाधिक मत महासचिवमा निर्वाचित रामहरी अधिकारीले पाएका छन्। उनले खसेको मतको ४६ प्रतिशत (५,१९७) मत पाएकाछन्। अध्यक्ष पछि पाँचहजार मत कटाउने उनी मात्र एक निर्वाचित पदाधिकारी हुन्। कोभिडको बेला न्यूयोर्क च्याप्टरको अध्यक्षका हैसियतले प्रभावित नेपाली समुदायलाई उनले गरेको सहयोग सायद मतदाताहरुले सम्झेको हुनुपर्छ।

तर १४ प्रतिशत (१,५७४ जना) मतदाताले अधिकारी र महासचिवमा पराजित गोपेन्द्र भट्टराई दुबैलाई मन पराएनन्। महत्वपूर्ण पदका उम्मेदवारहरु प्रति मतदाताको यो अस्वीकारोक्ती एनआरएन अभियानमा लागेकाहरुले बुझ्नु पर्छ।

वरिष्ठ उपाध्यक्षका दुबै उम्मेदवारहरुलाई मन नपराएर ‘NOTA’ अप्सन प्रयोग गर्नेहरु पनि १४ प्रतिशत (१,५७८) नै रहेकाछन्।

मनन् गर्नै पर्ने कुरा के हो भने युवा र सशक्त उम्मेदवार भनिएकाहरुलाई समेत १५ प्रतिशत भन्दा बढी मतदाताले अस्वीकार गरेको पाइयो। सह-कोषाध्यक्ष पदका दुबै उम्मेदवारलाई ११,२६९ मध्ये १७ प्रतिशत (१,९१९) मतदाताले अस्वीकार गरेकाछन् भने कोषाध्यक्ष, सचिव र महिला सचिव पदका उम्मेदवारलाई १५ प्रतिशत बढीले अस्वीकार गरेको पाइयो।

युवाहरुको नेतृत्व भन्दै आइरहेका युवाहरु उम्मेदवार भएको युवा उपाध्यक्षका उम्मेदवारलाई १३ प्रतिशत बढी मतदाताले अस्वीकार गरेकाछन्।

भारतीय सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै भारतीय चुनाव आयोगले २०१४ को आम चुनावदेखि NOTA को व्यवस्था सहित चुनाव गर्दै आएको छ भने कोलम्बिया र युक्रेनमा पनि चुनावका बेला मतदातालाई कुनै पनि उम्मेदवारलाई मत दिन्न भन्ने छनौट गर्न पाउने चुनावी व्यवस्था रहेकोछ। तर नेपालमा भने सर्वोच्च अदालतले उम्मेदवारलाई अस्वीकार गर्ने व्यवस्था लागु गर्न भनेपनि अहिलेसम्म लागु हुनसकेको छैन।

उम्मेदवारहरु मन नपर्ने मतदाताले ‘म कसैलाई पनि मत दिन्न’ भन्न पाउने अप्सन हुनु पर्छ भन्ने मान्यताको विकास भइरहेका बेला एनआरएनए अमेरिकाको हालै सम्पन्न चुनावमा ‘None of the Above- NOTA’ अर्थात ‘माथिका कसैलाई पनि मत दिन्न’ भन्ने विकल्प छान्न पाउने व्यवस्था हुनु निकै सकारात्मक परिवर्तन मान्नु पर्दछ।

तर यो सबै सकारात्मक परिवर्तनका बिच एनआरएनए अमेरिकाको चुनावमा १५ प्रतिशत भन्दा बढी मतदाताहरुले उम्मेदवारहरुलाई मन नपराएको नतिजा आउनु एनआरएनए अभियानमा लागेकाहरुका लागि चिन्ताको विषय हो। जो उम्मेदवारहरुलाई धेरै मतदाताले अस्वीकार गरे उनीहरुले आफूलाई सच्याउनु पर्ने रहेछ भनेर बुझ्ने अवसर भएको छ भने अभियानको नेतृत्व गर्नेहरुले अमेरिकामा एनआरएनएको नेतृत्व गर्न राजनीति उत्प्रेरित गुट बनाएर हिंड्ने र चुनावमा पराजित हुनासाथ संस्थालाई नै मुद्दा हाल्ने, अवैधानिक र समानान्तर समुह खडा गर्ने हर्कत बन्द गर्न पर्ने रहेछ भनेर बु्झ्न पनि सघाउने छ।

सबै पदमा उम्मेदवार भएकाहरुलाई अस्वीकार गर्ने मतदाताहरुको उल्लेख्य संख्या छ। यो अस्वीकार्यता एनआरएन अभियानमा शुद्धिकरणका लागि हो, परिवर्तनका लागि हो भनेर बुझ्न अब पनि ढिला गर्ने हो भने आगामी चुनावमा यो अस्वीकार्यताको दर अझ बढ्नेछ र त्यसले गैर आवासीय नेपाली संघको औचित्य माथि नै प्रश्न खडा गर्नेछ। तसर्थ यो पटक मतदाताहरुले छनौट गरेको ‘नो भोट’ वा ‘नोटा’ सुधारको लागि संकेत हो, सुध्रिनका लागि मतदाताहरुले एनआरएनए नेताहरुको कानमा बजाएको घण्टी हो।

घण्टीको आवाज नसुन्नेहरुले अर्को चुनावमा नगराको आवाज सुन्नुपर्ने अवस्था नआओस् भनेर नव निर्वाचित नेतृत्व सजग होस्। हाम्रो शुभकामना।

सुजन पण्डित
सुजन पण्डित