मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
न्युयोर्क   

एनआरएनए अमेरिकाको नेतृत्वका निम्ति प्रतिस्पर्धा सुरू

एनआरएनए अमेरिकाको नेतृत्वका निम्ति प्रतिस्पर्धा सुरू

अर्जुन र डिलु चुनावी मैदानमा उत्रिए


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै चुनावी पारो तात्न थालेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, आगामी दुइ वर्षे कार्यकाल (सन् २०२३–२५)का लागि यही आउँदो जूलाई को १६ र १७ तारिख निर्वाचन हुने भएको छ।

सदस्यता विस्तार अभियानसँगै सुरु भएको चुनावी चहलपहलको पारो चुनावको मिति घोषणा गरेसँगै तातेको छ। केन्द्रदेखि च्याप्टरसम्म चुनावको चर्चा परिचर्चा, गुटबन्दी, साँठगाँठ, तालमेल, उमेदवारी घोषणा, घोषणा पत्र जारी, प्रचारप्रसार, समर्थन लगायत क्रियाकलापहरुले तीब्रता पाउन थालेका छन्। उमेदवारका आकांक्षीहरु शक्ति केन्द्रहरुको समर्थन जुटाउन, उमेदवारी घोषणा गर्न, आफ्नो पक्षमा चुनावी माहोल तयार गर्न र मतदाताहरुसँग मत माग्न सुरु गरिसकेका छन्।

यसै बीच संघको राष्ट्रिय समन्वय परिषद, अमेरिकाको नेतृत्वको बागडोर सम्माल्नका लागि संघका पूर्व बरिष्ठ उपाध्यक्ष तथा गत निर्वाचनमा पनि अध्यक्ष पदका प्रत्याशी बनेका डा. अर्जुन बन्जाडे चुनावी मैदानमा उत्रिएका छन्। उनले जुन ११ तारिख आइतवार टेक्ससको अर्भिङमा एक औपचारिक कार्यक्रमको आयोजना गरी संघको राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदका लागि आफ्नो उमेदवारी घोषणा गरेका छन्। संघको संस्थागत विकासका लागि अझ बढी पारदर्शी, समावेशी, विश्वसनीय र अपनत्व महसुस हुने गरी रूपान्तरण गर्न आवश्यक भएको र त्यसका लागि आगामी निर्वाचन मार्फत कुशल नेतृत्व चयन गर्नु अपरिहार्य भएको जिकीर गर्दै डा.बन्जाडेले त्यसका लागि आफू योग्य भएकाले नै नेतृत्व लिन तयार भएर उमेदवारी घोषणा गरेको प्रस्टिकरण दिएका छन्।

पारदर्शी, समावेशी र विश्वसनीय परिवर्तन अपरिहार्य छ भन्ने मूल नाराका साथ बन्जाडे चुनावी मैदानमा उत्रिएका छन्। उनले पारदर्शीता, समावेशीता, विश्वसनीयता र अपनत्वलाई आफ्नो चुनावी प्रमुख एजेण्डा बनाएका छन्। यस पटकको अधिवेशनले एनआरएनए अमेरिका संस्था विभाजनको कारक नभइ एकताको संवाहक हो भन्ने सन्देश विश्वव्यापी रुपमा पुर्याउनु पर्ने ऐतिहासिक जिम्मेवारी भएकाले, सोका लागि एकता र सहमतिबाटै अधिवेशन सम्पन्न गर्नु पर्दछ भन्नेमा डा. बन्जाडेले जोड दिएका छन्। उनले उमेदवारी घोषणासभालाई सम्बोधन गर्दै भने, ‘अब अमेरिकाको एनआरएनएले एकताको सन्देश दिन जरुरी छ। फुटाउने हैन जुटाउने अभियानमा जोडिन जरुरी छ।’ सकेसम्म सर्वसम्मत भएर अघि बढ्न सबैलाई अनुरोध गर्दै उनले त्यसका लागि आफू सदैव तयार रहेको बताएका छन्।

उनले उमेदवारी घोषणाका क्रममा आफ्ना अल्पकालीन र दिर्घकालीन भावी लक्ष्य तथा कार्ययोजनाहरुको संक्षिप्त खाकासमेत सार्वजनिक गरेका थिए।उनले सार्वजनिक गरेको भावी लक्ष्य तथा कार्ययोजनाहरुमा संस्थाको नाम तथा पहिचान, एनआरएन कार्ड, संस्थागत विकास, स्वास्थ्य, शिक्षा, व्यापार, नेपाली नागरिकताको निरन्तरता, गैर आवासीय नागरिकता, संघको सदस्यताको आवश्यकता तथा त्यसको मूल्य, नेपालबाट आउने तथा अमेरिकामै रहेका नेपाली/प्रवासी नेपालीहरुका लागि हेल्प डेस्कको व्यवस्था, सामाजिक सुरक्षा भत्ताको सहज उपलब्धतालगायत जल्दाबल्दा विषयहरुलाई प्राथमिकताका साथ उठाएका छन्। यसैक्रममा डा. बन्जाडेले आफूलाई समर्थन गर्दै आफ्नो प्यानबाट मैदानमा उत्रिएका सबै उमेदवारहरुलाई साथ सहयोग गरिदिन अनुरोध समेत गरेका छन्।

डा.बन्जाडेको प्यानलबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष विकास उप्रेतीले वरिष्ठ उपाध्यक्ष पदका लागि आफ्नो उमेदवारी घोषणा गरेका छन्। भने वर्तमान कार्यसमितका अर्का उपाध्यक्ष गोपेन्द्र भट्टराईले महासचिव पदमा उमेदवारी घोषणा गरेका छन्। त्यसैगरी, विधानले व्यवस्था गरे अनुसार चार उपाध्यक्ष पदका लागि उमेदवारी घोषणा गर्नेहरुमा प्रेम तामाङ, नेत्र पाण्डे, ज्ञानेन्द्र गुरुङ, सुनिता कँडेल र रामचन्द्र पन्त रहेका छन्। महिला सचिव पदमा शान्ति वाग्ले पौडेल, युवा संयोजक पदमा तेज पौडेल (बिनोद), महिला संयोजकमा सुनिता खत्रीले उमेदवारी घोषणा गरेका छन्।
बोर्ड अफ डाइरेक्टरमा अाइतबार श्रीकृष्ण गाैतम, दीपक सापकोटा र रितादेबी प्रधानले बञ्जाडे प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन् ।

यसैगरी वर्तमान कार्यसमितिका उपाध्यक्ष डिलुराम पराजुलीले पनि संघको राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले जुन १० तारिख शनिवार आफ्नै गृह राज्य केन्टकीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उमेदवारी घोषणा गरेका हुन्। पराजुलीले आफ्नो उमेदवारी घोषणाका क्रममा गैर आवासीय नेपाली नागरिकताको उपलब्धतालाई सहज बनाउन र वंशजको आधारमा नेपाली नागरिकता दिलाउन पहल गर्ने, अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरुको एकिन विवरण तयार पार्ने र उनीहरुलाई सक्दो सहयोग गर्ने, अमेरिकी सरकारसंग सहकार्य गर्ने, नेपाली र अमेरिकी स्थानीय निकायहरुका बिच समन्वय गराउन पहल गर्ने, नेपाल र नेपालीलाई सहयोग जुटाउने लगायत विषयहरु समेटिएका २१ बुँदे चुनावी घोषणापत्र समेत जारी गरेका थिए।

गैर आवासीय नेपालीका साझा सरोकार र संस्थागत विकासलाई थप उचाइ दिन सक्षम, गतिशील र प्रतिबद्ध नेतृत्व आजको आवश्यकता भएको जिकीर गर्दै उनले त्यसका लागि आफू पूर्ण रुपमा योग्य रहेको दावी गरेका छन्। सामाजिक कार्य गर्नका लागि पर्याप्त इच्छा शक्ति, समय, साधन, श्रोत र पारिवारिक सहयोग चाहिने र त्यस हिसाबले आफू नेतृत्व लिन योग्य भएकाले मतदाताले नेतृत्व सुम्पिने विश्वास व्यक्त गरे। संघले दिएको जिम्मेवारी पुरा गर्ने क्रममा मेम्बरसीप ड्राइभको चेयरका हैसियतले विभिन्न राज्यहरुमा पुगेर आफ्नो जिम्मेवारी पुरा गरेको र त्यही क्रममा मतदाताहरुको मनोभावना बुझेरै संस्थाको नेतृत्व लिन आफू अघिबढेको पराजुलीको भनाइ छ।

उमेदवारी घोषणासभामा आफूले अध्यक्ष पदमै उमेदवारी दिनु पर्नाको कारण प्रस्ट्याउने क्रममा पराजुलीले आफू पदको लोभी नभएतापनि, संस्थालाई परिवर्तन गर्न, पारदर्शी र परिणाममुखी बनाउन आधिकारिक पद नै चाहिने रहेछ भन्ने महसुस गरेकाले अध्यक्ष पदमा उमेदवारी दिनु परेको तर्क प्रस्तुत गरेका थिए। गफ होइन काम, समर्पण र साथ सहयोगले मात्र समाजको सुख दु:खमा सच्चा सारथि बन्न सकिन्छ भन्ने चुनावी मुल नारा बनाएर चुनावी मैदानमा उत्रिएका पराजुलीले, उमेदवारी घोषणा कार्यक्रममा आफू एकलैको उमेदवारी घोषणा गरेका थिए। स्रोतले जनाए अनुसार उनी पनि केही दिनभित्रै आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिने तयारीमा रहेका छन्। संस्थाको विधान अनुसार विभिन्न पदहरुमा आफ्नो उमेदवारी घोषणा गर्ने क्रम जारी छ।

संस्थाका अनुसार, सन् २०२१ को मे २९ (शनिवार) र मे ३०(आइतवार) का दिन दुइ वर्षीय कार्यकाल (२०२१-२३)का लागि भएको निर्वाचनमा अमेरिकाको २९ राज्यमा रहेका कुल २० हजार १ सय ३८ सदस्यहरु मध्य १५ हजार ७ सय ६८ ले मात्र मतदानमा भाग लिएका थिए। तर यसपटक भने विविध कारणले संस्थाको सदस्य संख्या ७ हजार २ सय ४३ ले घटेको छ। हाल संस्थामा १२ हजार ८ सय ९५ जना सदस्यहरु रहेका छन्। यस मध्य के कतिले मतदानमा भाग लिने हुन् र कसकसले बाजी मार्ने हुन् ? त्यो भने प्रतिक्षाकै विषय भएको छ ।