मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ड्यालसमा नेपाल अमेरिका कुटनैतिक सम्बन्धको चर्चा

ड्यालसमा नेपाल अमेरिका कुटनैतिक सम्बन्धको चर्चा


ड्यालस (अमेरिका) । नेपाल अमेरिका कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ बर्ष पुरा भएको अवसरमा शुक्रबार ड्यालसमा भव्य कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली समाज टेक्ससको आयोजना भएको कार्यक्रमको प्रमुख अतिथि अमेरिकी दातृसंस्था युएसएडको उपसहायक अञ्जली कौर थिइन् । कार्यक्रमको विशेष अतिथिमा नियुक्त भएपछि पहिलो पटक टेक्सस आएका नेपाली राजदूत श्रीधर खत्री पनि थिए ।

कार्यक्रममा उपसहायक कौरले युएसएआइडीले नेपालको विकासमा झण्डै सात दशकदेखि सहकार्य गरिरहेको चर्चा गर्दै आउँदो पाँच वर्षमा एक अर्ब २० करोड डलरको परियोजनाहरु पाइपलाइनमा रहेको उल्लेख गरिन् । नेपाल र नेपालीका विषयमा उल्लेख गर्दै कौरले वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले नेपाललाई प्राथमिकतामा राखेको समेत जानकारी दिइन् ।

कार्यक्रममा नेपाली राजदूत खत्रीले अमेरिका र नेपालबीचको सम्बन्ध पछिल्ला वर्षहरुमा अतिनै प्रगाढ बन्दै गएको र नेपालमा बैदेशिक लगानीको लागि अमेरिका चौथो ठूलो देश भएको बताए ।

नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा टेक्सस राज्यका सांसद सुलेमान ललानी, सलमान भोजनी, युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल, ह्युस्टन नेपाली समुदायका तर्फबाट सुजन पण्डित, लबक नेपाली सोसाइटीका रेशम घर्ती, प्राध्यापक उत्तम गौली, अञ्जन श्रेष्ठ, सन्देश उप्रेती, प्रभात दीक्षित, डा. अर्जुन बञ्जाडे लगायतले नेपाल र अमेरिका सम्बन्धका ७५ वर्षका विषयमा धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी लगायत विशिष्ठ अतिथीलाई पञ्चकन्याले स्वागत गरेका थिए । त्यस अवसरमा अलिशा श्रेष्ठ र बन्दना नेपालले नृत्य प्रस्तुत गरेका थिए ।

शुक्रबारको कार्यक्रमलाई नेपाली समाज टेक्ससले आयोजना गरेको कार्यक्रमहरुमध्यमा समसामयीक र निकै भव्य अनि सभ्य रुपमा भएको टिप्पणी सहभागीहरुको छ । पछिल्लो समयमा नेपाली समाज टेक्सस र अमेरिकाको स्टेट डिपार्टमेन्ट, युएसएआइडी, टेक्ससको संसदबीच सहभागिता आदान प्रदानको क्रम बढेको छ ।

नेपालीहरुको बसोबास उल्लेख्य रहेको टेक्ससमा अमेरिकी सरकारका निकायहरुको नजर पनि पछिल्लो समयमा बढिरहेको छ । केही महिना अघि मात्र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु ड्यालस आएर नेपाली समाजको कार्यक्रममा सहभागी भएका थिए ।

त्यस्तै अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिकेनले दीपावलीका अवसरमा आयोजना गरेको कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले र निवर्तमान अध्यक्ष दिनेश शर्माले सहभागिता जनाएका थिए ।

कार्यक्रमको अन्तिममा नेपाल अमेरिका पत्रकार संघ (नेजा) को समन्वयमा कौर र राजदूत खत्रीका बीचमा प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । त्यस क्रममा सञ्चारकर्मीहरुले राखेका विभिन्न जिज्ञासाहरुको कौर र खत्रीले जवाफ दिएका थिए ।

अध्ययन केन्द्र स्थापनाः
कार्यक्रमकै क्रममा नेपाल र अमेरिकाबीच अध्ययन, अनुसन्धान गर्नेगरि नेपाल अमेरिका अध्ययन केन्द्र स्थापना भएको घोषणा गरियो । दिनेश शर्माको संयोजकत्वमा गठन भएको अध्ययन केन्द्रको टास्कफोर्समा प्रभात दीक्षित, शैलेशराज आचार्य, अञ्जन श्रेष्ठ, निरज श्रेष्ठ, वेदराज बस्नेत र भीम कार्की (सिपिए) सदस्य चयन भएका छन् ।

प्रश्नावली भरिदिनुस्ः
कार्यक्रममा नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकामा नेपालीको संख्या एकिन गर्न, कुन पेशा र व्यबसायमा संलग्न छन् भन्ने बारेमा तथ्यांक राख्न र कुन राज्यमा कति छन् भन्ने बारेमा जानकारी राख्न प्रश्नावली भर्न आव्हान गरे । दूतावासको वेवसाइटमा राखिएको विवरण भरेर सहयोग गरिदिन उनले आव्हान समेत गरेका छन् ।

‘यसमा व्यक्तिगत विवरण केही पनि भनुपर्र्दैन । खासमा नेपाल सरकारले अमेरिकामा कति नेपाली छन् र कुन राज्यमा कति छन् भन्ने बारेमा एकिन विवरण राख्नका लागि र भविष्यमा कार्यक्रम अघि बढाउनका लागि यो प्रश्नावली राखेको हो । यसलाई भरेर नेपाल सरकारलाई सहयोग गरिदिनुहोला’ खत्रीले भने ।

कौर र खत्रीद्वारा मन्दिर र सामुदायिक केन्द्रको अवलोकनः
यसैबीच युएसएडकी उपसहायक कौर र नेपाली राजदूत खत्रीले युलेसमा नवनिर्मित पशुपतिनाथ तथा बुद्ध मन्दिर एवं सामुदायिक केन्द्रको समेत अवलोकन गरेका छन् । उनीहरुले नेपाली समुदायको कार्यको निकै प्रशंसा गरेका थिए ।

अवलोकनका क्रममा मन्दिर ट्रष्टी अध्यक्ष रमेश पोखरेल तथा समितिकी अध्यक्ष सीता सापकोटाले वर्तमान अवस्था र भावी कार्यक्रमका बारेमा जानकारी दिएका थिए । कौर र खत्रीलाई मन्दिरका पुजारीहरु डा. शेखर पण्डित र मेघराज निरौलाले अभिशेकका साथै प्रसाद वितरण गरेका थिए ।