मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

ड्यालसमा भव्य भवनमा सर्यो मन्दिर (भिडियो सहित )

ड्यालसमा भव्य भवनमा सर्यो मन्दिर (भिडियो सहित )


युलेस (टेक्सस) । झण्डै एक दशक अघि नेपाली समुदायको सकृयतामा अर्भिंगमा सञ्चालन भएको पशुपतिनाथ तथा बुद्ध मन्दिर शनिबारदेखि औपचारिक रुपमा युलेस सरेको छ ।

अर्भिंगमा एक दशक अघि पुरानो भवन किनेर त्यसैमा सञ्चालन भएको मन्दिर नयाँ भवनका साथ युलेस स्थान्तरण भएको हो । कोरोना, निर्माण सामग्री र कामदारको अभावले गर्दा निर्धारित समयभन्दा झण्डै डेढ वर्ष ढिला भएपनि नयाँ मन्दिर सुरुवातको पहिलो दिन ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सवासी नेपाली समुदाय खुशीले गदगद थिए ।

युलेसको हाइवे टेनसँगैको विशाल जमिनमा पहिलो चरणको भवन निर्माण पुरा भएर मन्दिर सरेको हो । अर्भिंगको मन्दिर भवन एक वर्ष अघिनै बिक्री भैसकेको छ । नयाँ भवनमा प्रयाप्त कोठाहरु हुनुका साथै कार्यक्रम गर्नका लागि हलहरु समेत छन् । ठूलो र अत्याधुनिक भान्छा, अफिस कोठाहरु, स्वास्थ क्लिनिक सञ्चालनका लागि अलग्गै संरचनाहरु छन् । मूर्तिमा प्राण प्रतिष्ठा गर्न बाँकी भएपनि शनिबार पहिलो दिन खुलेको नियमित पूजामा सहभागी सयौं नेपालीहरुले एक अर्कामा वधाई साटासाट गरेर खुशीयाली मनाएका थिए । ‘ठूलो भारी बोकिएको थियो । गन्तव्यको एउटा बिसौनीमा आइपुगेका छौं’ मन्दिर बोर्ड अफ ट्रष्टीका पूर्ब उपाध्यक्ष मनोज सिग्देलले भने । पहिलो चरणको निर्माण कार्य पुरा भएर मन्दिर सरेपनि योजना अनुसारको मन्दिर पुरा हुन भने दोस्रो र तेस्रो चरणको निर्माण पुरा हुनुपर्छ ।

योजना अनुसार दोस्रो चरणमा काठमाडौंकै जस्तो ठ्याक्कै आकार र प्रकारको पशुपतिनाथ मन्दिर बन्नेछ । त्यस्तै गुम्बज शैलीको अलग्गै बौद्ध स्तुपा बन्नेछ भने त्यसभित्र ध्यान गर्न, शिवीर सञ्चालन गर्न समेत मिल्नेगरि बनाउने योजना रहेको पदाधिकारीहरुले जानकारी दिए । यसका लागि केही महिना अघि पुरातत्वविद तथा आर्किटेक्ट इन्जिनियर अमृत शाक्यलाई ड्यालस झिकाएर मन्दिरका पदाधिकारीहरुले निकै गहन छलफल गरेका थिए । त्यतिखेर दिइएको जानकारी अनुसार पशुपतिनाथ मन्दिरकै नमूना अनुसार बनाइने र पशुपतिकै मुलभट्टलाई ल्याएर उदघाटन गर्ने योजना पदाधिकारीहरुको छ ।

तेस्रो चरणमा विश्रामस्थल, पार्क लगायतका निर्माणकार्य हुनेछन् । तेस्रो चरणको पुरा भइसक्दा शनिबारदेखि सञ्चालनमा आएको मन्दिरको भवन भने पुरै सामुदायिक कृयाकलाप गर्न मिल्नेगरि परिवर्तन हुनेछ ।
अमेरिकामा रहेका पाँचलाखको हाराहारीमा नेपालीहरुले गौरब गर्ने हिसाबले मन्दिरको डिजाइनिंग र निर्माण गर्न ड्यालसको नेपाली समुदाय कटिवद्ध रहेको छ । पहिलो चरणको निर्माण कार्य सम्पन्न भएर अब दोस्रो र तेस्रो चरणको निर्माणका लागि आवश्यक पर्ने बजेट जुटाउन समिति सकृय हुने योजनामा छ । यसका लागि सहयोग आव्हान, सदस्यता खुल्ला र विस्तार गर्ने योजनामा मन्दिर सञ्चालक समिति पुगेको छ । ‘मन्दिर बनाउन सरकारी बजेट पाउने भन्ने कुरा हुँदैन, हामीले हाम्रै समुदायका सदस्यहरु सबैको केही न केही योगदान होस् भन्ने उद्वेशयले सहयोग आव्हान, महापुराण आयोजना गर्दैछौ’ मन्दिरका अध्यक्ष सीता सापकोटाले भनिन् ।

अहिले ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स र वरिपरी झण्डै एकलाख नेपाली रहेको अनुमान छ । कोरोनाका कारण न्यूयोर्कबाट ठूलो संख्यामा नेपालीहरु यहाँ सरेका छन् । त्यस्तै सस्तो बसाईका कारण क्यालिफोर्नियाबाट पनि धेरै नेपालीहरु सरेका छन् । डिभी, विद्यार्थी भिसामा आएर यतै काम गरेर बस्नेको संख्या पनि बर्षेनी केही हजारका दरले थपिँदो क्रममा छ । अहिले बनिसकेको मन्दिरको भवन र बाँकी बन्ने भवनले आउँदो ५० वर्षको चापलाई थेग्नसक्ने गरि बनाईको छ । यसै साता युलेस सिटीले सबै आवश्यक निरीक्षण सम्पन्न गरेर स्विकृती दिएका कारण शनिबारदेखि पूजा सुरु भएको हो । मन्दिर सरेको र मूर्तिहरुमा प्राण प्रतिष्ठा गर्ने कार्य भने मे महिनाको ५ देखि ७ तारिकसम्म तीनदिन भव्य कार्यक्रम राखिएको निवर्तमान अध्यक्ष सुरेशचन्द्र पोखरेलले जानकारी दिए ।