मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

विश्व साइकल यात्री बराल ड्यालसमा

विश्व साइकल यात्री बराल ड्यालसमा


ड्यालस (टेक्सस) । कोभीडको असरले सन् २०१९ मा रोकिएको आफ्नो विश्व साइकल यात्रालाई पोखराका अजित बरालले अमेरिकाबाट निरन्तरता दिन सुरु गरेका छन् ।

उनले गत महिना अमेरिकाको सूर्योदयको राज्यका नामले चिनिने फ्लोरिडाबाट विश्व साइकल यात्रा फेरि थालेका छन् । फ्लोरिडाको मायामीबाट साइकल यात्रा थालेका उनी १८ औं दिनमा टेक्ससको ड्यालस आइपुगेका छन् ।

ड्यालस आएका उनले आइतबार नेपाली समुदायसँग आफ्नो साइकल यात्राका बारेमा अनुभव शेयर गर्ने कार्यक्रम रहेको छ । आइतबार दिउँसो हस्र्टमा रहेको हब्र्स नेपाली रेष्टुरामा आफ्नो विश्व साइकल यात्राका बारेमा अनुभव शेयर गर्दैछन् ।

३५ बर्षिय बरालले अहिलेसम्म साइकलबाटै विश्वका ७० देशको यात्रा गरिसकेका छन् । सन् २०१५ मा नेपालको पूर्बी नाका काँडकभिट्टाबाट पानीट्यांकी हुँदै भारत प्रवेश गरेर उनको यात्रा सुरु भएको थियो । वातावरण संरक्षण प्रति जागरुक बनाउने यो साइकल यात्राको उद्वेश्य रहेको उनले बताए ।

नेपाल बाहेक ७० देशको यात्रा गर्दा उनले संसारका धेरै भूगोल देखे । धेरै मानिसहरुसँग कुराकानी गरिसकेका छन् । तर जहाँ जाँदा पनि आत्मियता मिलेको देखेर उनी असाध्यै खुशी छन् । सुरुको चरणमा पोखराकै शंकर पौडेल, पेशाले चिकित्सक अमृत बराल समेत भएर यात्रा सुरु गरेका थिए । सन् २०१६ मा अमेरिका आइसकेपछि भने अरु दुईले यात्रा टुंगाए । पौडेल जापानमा साइकल यात्रा गदैगर्दा दुर्घटनामा परेर अन्त्य गरे भने अमृतले अमेरिकाबाट समाप्त गरेर नेपालमै अहिले स्वास्थ सेवामा छन् ।

अजित भने यसपटक अमेरिकाको पूर्बदेखि पश्चिम र उत्तरदेखि दक्षिणको ७ हजार किलोमिटर यात्रा एकल रुपमा गर्नेगरि आएका छन् । यात्रा सुरु गरेको नवौ दिनमा बिहारको सीतामणीमा दुई साइकल चोरी भएको देखि लिएर कार्गो डुंगामा चढेर सात दिनमा माल्दिभ्स पुगेको, अनकंटार लाओसमा नेपाली भेटिएको देखि लिएर कम्बोडियाको अध्यागमनकै कर्मचारीले ५ सय डलर लुटेका जस्ता दर्जनौ घटनाहरु उनले भोगिसकेका छन् ।

लकडाउनको समयदेखि लिएर हालैका दिनसम्म नेपालमा रहँदा उनले लुकेका र संभावना भएका पर्यटकीय स्थानहरुमा साइकलबाटै यात्रा गरे । उनका अनुसार ती स्थानमा पनि पर्यटक पुर्याउन सकियो भने धेरै विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।

उनी साइकल यात्राको क्रममा जापानदेखि अष्ट्रेलिया, न्यूजील्याण्ड, फिजी, युरोपका अधिकांश देशहरु पुगिसकेका छन् । दक्षिण अमेरिकामा पर्ने अर्जेन्टिना, ब्राजिल। उरुग्वे लगायतका देशहरु पनि पुगिसकेका छन् । यसपटक अमेरिकाको ७ हजार किलोमिटर दुरी यात्रा गरेपछि क्यानडा र मेक्सिको जाने योजना उनले बनाएका छन् ।

दुर्घटनामा परेर शरिरको एकभाग नचल्ने उनी आँट गरेरै विश्वयात्रा निस्किएका हुन् । दैनिक औसत ७० देखि ८० माइल साइकल चलाउँछन् ।

यात्राको क्रममा म्यानपावरका दलालले कोरिया लगिदिने लोभ देखाएर लाओसमा पुर्याएका चितवनका युवा भेट्दा उनलाई ज्यादै खुशी पनि लाग्यो । तर उनको व्यथा सुन्दा नमिठो पनि लागेको उनले बताए ।