मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

नेपाल-अमेरिका मैत्री सम्बन्धको ७५ वर्ष

नेपाल-अमेरिका मैत्री सम्बन्धको ७५ वर्ष

टेक्सस हाउसबाट फेब्रुअरी १६ लाई नेपाल दिवस घोषणा

सुजन पण्डित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुधवार, फेब्रुअरी १५ का दिन टेक्ससको क्यापिटल विल्डिङमा एउटा ऐतिहासिक अवसरको साक्षी हुने मौका मिल्यो। टेक्सस हाउस अफ रिप्रेन्टेटिभ्सको नियमित सत्र संचालन भइरहेको थियो। सांसदहरु आ-आफ्ना कार्यसूचीका सार्वजनिक महत्वका प्रस्ताव प्रस्तुत गरिरहेका थिए। सभामुख डेड फेलन आवश्यकता अनुसार प्रस्ताव पारित वा अस्वीकृत भएको घोषणा गरिरहेका थिए। दर्शक दीर्घामा विभिन्न पेशा, समुदायका मानिसहरु आ-आफ्ना सांसदहरुले उनीहरुसंग सम्बन्धित प्रस्तावहरु सदनमा प्रस्तुत गर्दा र पारित हुँदा समर्थनको ताली बजाउने, फोटो-भिडियो खिच्ने गरिरहेका देखिन्थे।

बुधावार टेक्ससमा बस्ने नेपालीहरुको लागि एउटा महत्वपूर्ण दिन थियो। दर्जनौं नेपालीहरु दौरा-सुरुवाल र साडी चोलोमा टेक्ससको संसद भवनको दर्शक दीर्घामा महत्वपूर्ण घडीको पर्खाइमा थिए । यो वर्ष नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ७५ वर्ष पुरा भएको छ। सन् १९४७ को अप्रिल २५ का दिन नेपाल र अमेरिकाबीच वाणिज्य तथा मैत्री सम्बन्ध स्थापना भएको थियो भने सन् १९४८ फेब्रुअरी ३ दिन अमेरिकी विदेश विभागले (विदेश मन्त्रालय) राजदूत स्तरमा कुटनीतिज्ञहरुको आदान-प्रदान गर्ने घोषणा गरेको थियो । र, सोही बमोजिम बेलायतका लागि नेपाली राजदूत केशर शम्सेर जबराले अमेरिकाको लागि समेत नेपाली राजदूतको हैसियतमा १९४८ फेब्रुअरी १९ दिन वासिंङ्गटन डिसीमा राष्ट्रपति ह्यरी टुम्यान समक्ष आफ्नो ओहोदाको प्रमाण पत्र बुझाएका थिए भने भने सोही वर्षको मे ३ का दिन भारतका लागि अमेरिकी राजदूत हेनरी एफ. ग्र्याडीले नेपालको लागि समेत अमेरिकी राजदूतको हैसियतमा राजा त्रिभुवन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए । यसरी वाणिज्य तथा मैत्री सम्झौतामा हस्ताक्षर भएको एक वर्ष पछि कुटनैतिकस्तरमा समेत नेपाल-अमेरिकाबीच सम्बन्ध कायम हुन सक्यो। राजदूतहरुको आदान-प्रदानबाट कुटनैतिक सम्बन्ध शुरु भएको १० वर्ष पछि नेपाल सरकारले १९५८ को फेब्रुअरी ३ का दिन वालिङ्गटन डिसीमा नेपाली राजदूतावास खोलेको हो भने लगत्तै अर्को वर्ष १९५९ को अगष्ट ६ का दिन नेपालमा पनि संयुक्त राज्य अमेरिकाको दूतावास नेपालमा खुलेको हो।

कुटनीतिक स्तरमा मित्रता कायम भएको ७५ वर्ष पुरा भएको अवसरमा नेपाल र अमेरिकामा राज्य र स्थानीय स्तरमा समेत विभिन्न औपचारिक कार्यक्रमहरु भइरहेका छन्।

यसै सन्दर्भमा अमेरिकामा बस्ने नेपालीहरुले आ-आफ्नो सहर र राज्यस्तरमा समेत विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन्। टेक्ससमा अहिले त्यो चहल पहल स्थानीय सिटीहरुका औपचारिक कार्यक्रमबाट राज्य संसदसम्म पुगेको छ । टेक्ससको हाउस अफ रिप्रेन्टेटिभ्स, डिस्ट्रिक्ट १०५ की सांसद टेरी मेजाको विशेष प्रस्तावमा टेक्ससको हाउस अफ रिप्रेन्टेटिभ्सले फेब्रुअरी १६ लाई ‘नेपाल डे’ घोषणाको प्रस्ताव पारित गरेको हो ।

गत नोभेम्वरमा भएको चुनावबाट डिस्ट्रिक्ट ९२ को सांसद चुनिएका पाकिस्तानी मूलका पहिलो सासंद सलमान भुजनीको समर्थनबाट नेपाल-डे घोषणा प्रस्ताव पारित हुँदा टेक्ससको संसद भवन भित्र दर्जनौं नेपालीहरुले नेपाली झण्डा समेत फहराएका थिए भने सांसद भुजनीले नमस्कार, मेरो नाम सलमान भुजनी हो भन्दा दर्शक-दीर्घामा रहेका नेपालीहरुले तालीको गड्गडाहटले खुसी साटेका थिए ।

प्रवासमा बस्ने नेपालीहरुलाई खुसी हुन धेरै केही नचाहिने । कसैले नेपाली बोलिदियो, नेपाली भाषा, संस्कृति र चाड्बाडका बारेमा कुरा गरिदियो भने त खुसीको सीमा नै नहुने ।  झन् नेपालीहरुको सबभन्दा धेरै बसोबास भएको राज्य भनेर चिनिएको टेक्ससको संसदबाट नै फेब्रुअरी १६ लाई ‘नेपाल दिवस’ भनेर प्रस्ताव पारित हुनु भनेको नेपालीहरुको खुसी र गर्वको सबै सीमा र पर्खालहरु भत्कनु जस्तै हो । जहिल्यै नेपाली भाषा, धर्म, संस्कृतिका लागि अग्रसर भइरहेका पहिलो पुस्ताका नेपालीहरुले नेपाली समुदायलाई थप सक्रिय र एकताबद्ध बनाउन धेरै परिश्रम गरेका छन् । त्यसैको नतिजा हो कि अहिले नेपालीहरुको बाहुल्यता भएको सबै अमेरिकी शहरहरुमा नेपालीहरुको आफ्नै मन्दिर र सामुदायिक भवन बनिरहेका छ्न् वा बन्ने क्रममा छन् । ह्युस्टन, डालास र अस्टिनको नेपाली समुदायको विशेष सक्रियतामा टेक्ससको संसदले नेपाल दिवस घोषणा गर्ने दिनसम्म आइपुगको हो ।

टेक्ससका स्थानीय प्रतिनिधिहरुसंग प्राध्यापक प्रभात दिक्षितको निरन्तरको सम्पर्क र सहकार्यले टेक्सस हाउस डिस्ट्रिक्ट १०५ की सांसद टेरी मेजा मार्फत ‘नेपाल डे’ घोषणा हुन सकेको हो।

टेक्सस हाउस अफ रिप्रेजेन्टेटिभ्सले ‘नेपाल डे’को प्रस्ताव पारित गर्ने बित्तिकै रिप्रेजेन्टेटिभ टेरी मेजा, रिप्रेजेन्टेटिभ सलमान भुजनी, रिप्रेजेन्टेटिभ डा. सुलेमन ललानी समेतको उपस्थितिमा नेपाली समुदायका प्रतिनिधिहरुले नेपाल डे घोषणा भएको खुसियाली औपचारिक रुपबाट नै एक आपासमा साटेका थिए । स्टेट क्यापिटलमै एक समारोह आयोजना गरेर नेपाल डे घोषणाको दस्तावेज नेपाली समुदायका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको थियो।

समारोहमा रिप्रेजेन्टेटिभ मेजा, भुजनी र ललानीले नेपाली समुदायलाई बधाई र नेपाल डे घोषणाको शुभकामना दिए। उनीहरुले आफ्नो भाषा र संस्कृतिको जगेर्नाका लागि सक्रिय रहन नेपाली समुदायलाई आव्हान समेत गरेका थिए।

नेप्लिज सोसाइटी अफ टेक्सस (एनएसटी), नेप्लिज एसोसिएशन अफ ह्युस्टन (एनएएच) र ग्रेटर अस्टिन नेपाली सोसाइटी ( जिएएनएस-ग्यान्स) को संयुक्त अग्रसरतामा आयोजित कार्यक्रममा एनएसटीका अध्यक्ष राजेन्द्र वाग्ले, एनएएचका प्रथम उपाध्यक्ष द्रोण गौतम, ग्यान्सका अध्यक्ष भोजराज भट्ट, प्राध्यापक प्रभात दिक्षित, लबक नेपाली सोसाइटीका अध्यक्ष लगायतले नेपाल डे घोषणाको साक्षी हुन पाएकोमा गर्व र खुसी लागेको बताएका थिए । कार्यक्रम दिनेश शर्माले सन्चालन गरेका थिए ।

Live from State Capitol Austin !

रिप्रेजेन्टेटिभ मेजाको अगुवाईमा क्यापिटल विल्डिङ्ग अघिल्तिर मार्चपास गरेर नेपाल डे घोषणाको स्वागत गरिएको थियो । नेपाली राष्ट्रिय गान समेत गाइएको छोटो मार्चपासमा नेपाली भेषभुषामा नेपालीहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नु होला  >>

नेपालको १७८ देशसँग कूटनीतिक सम्बन्ध स्थापना