मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुमफिर   
मुख्य समाचार   
विचार / ब्लग    

मुस्ताङ यात्रा : हत्केलामा ज्यान

मुस्ताङ यात्रा : हत्केलामा ज्यान

बिटु केसी बराल

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकाबाट नेपाल जाने योजना तयार भएसँगै मुस्ताङ घुम्न जाने पनि तय भैसकेको थियो हाम्रो । सैनिक भाइ (नेपाली सेना) कृपा तामाङको सौहार्द आमन्त्रणले पनि हामी दुबै थप उत्साहित भएका थियौं । बिसौं वर्षपछि एकाएक दबेका रहरहरु आकासिए । जोमसोमको यात्रा भन्ने वित्तिक्कै मन ढक्क फूल्ने रहेछ । एउटा विकट र असहज यात्रा !

” जोमसोमे बजारमा हावा चल्यो सरर ” यो लोकप्रिय गीतले पनि बिच बिचमा साँच्चै जोमसोम प्रतिको कौतुहलतालाई थप उक्साएको हो । सन २००४ मा तत्कालीन मुस्ताङ जिविस सभापतिले आधिकारिक पत्र पठाएका थिए जोमसोम भ्रमणको लागि । त्यतिबेला म ट्रेड युनियन काँग्रेसको मिडिया विभागमा थिएँ । तर अमेरिका प्रस्थानको अवसरले त्यो इच्छा अधुरै रहेको थियो ।

जतिसुकै कठिन यात्रा भएपनि तय गरि छाड्ने अठोटका साथ यसपाली हामी बुढाबुढीले मन दह्रो बनाइसकेका थियौं । पोखरामा चन्द्रबिक्रम अधिकारी र दुर्गाजीको घरमा पाएको न्यानो आतिथ्य ग्रहणपछि फुरुङग हुँदै हामी दुबै जोमसोम उड्यौ । तर त्यो बीस मिनेटको हवाई यात्रामा करिब तीन सेकेन्डको अनुभुति अत्यन्त दुर्लभ र अनौठो थियो मेरो लागि ।

जोमसोम बजार
जोमसोम बजार    

तारा एयरको फुच्चे विमान अद्भुत हिम शृङ्खला र विकट पहाडहरुको बिचबाटै तिनीहरुलाई छिचोल्दै हाम्रो गन्तव्यमा अवतरण गर्‍यो । चारैतिर हिमाल र डाँडाले घेरिएको सानो समथल भूभाग ( उपत्यका जस्तो ) नै जोमसोम रहेछ । सानो एयरपोर्टबाट पछाडि फर्केर हेर्दा निलगिरी हिमाल हाम्रो स्वागतमा मुस्कुराइ रहेको थियो । जमिनबाट यति नजिक हिमाल देख्न पाएको मेरो जीवनकै पहिलो अनुभव थियो ।

जोमसोम विचरा आफैमा फुङग उडे पनि यसले मानापाथी , निलागिरी लगायत अरु थुप्रै हिमालको सौन्दर्य सापटमा लिएर आफ्नो छविलाई सुन्दर बनाएको रहेछ । धमिलो कालीगण्डकी पनि छेवैमा पातलिएर बगेको थियो ।

दशैँ सकिए लगत्तैको मौसम राम्रो हुन्छ भनेर मौका छोपे पनि जोमसोमको अत्याधिक चिसोले जीउ खुलेको थिएन । मलाई त झन सामान्यतया बढी नै जाडो लाग्छ । पुष माघमा कति चिसो हुँदो हो ! बस्न नसकेर यहाँका मानिसहरु तल गाउँ र बेशी झर्ने रहेछन् । तीनचार महिना पर्यटन र व्यापार व्यवसाय सब हिउँसरि ठप्प हुँदो रहेछ ।
बाह्र बजेपछि चल्ने हावा मुस्ताङको अर्को विशेषता थियो । तर यो गीत जस्तो रमाइलो नभएर दिक्दार लाग्दो थियो ।

जोमसोमबाट अर्को दिन कागवेनी छुँदै हामी मुक्तिनाथ दर्शन गर्न गयौं । शान्त वातावरणमा अवस्थित मुक्तिनाथको मन्दिर मुस्ताङको मुख्य आकर्षण हो । नेपाली र भारतीय दर्शनार्थीहरुको यहाँ घुइँचो लाग्दो रहेछ । मुक्तिनाथबाट अलिक पर छेवैमा विशाल बुध्द मूर्ति स्थापना गरिएको थियो । यहाँबाट चारैतिर देखिने हिमालहरुले कसको मन नलोभ्याएको होला ! यही हिमाल हेर्न विदेशी पर्यटकहरु ट्रेकिङदेखि गाडी र हवाइ यात्रा गर्दै जोखिम मोलेरै आउने रहेछन् । हामीले पनि युरोपबाट घुम्न आएका केही पर्यटकसँग एकछिन भलाकुसारी गर्यौ , फोटो खिच्दै गर्दा । मुक्तिनाथ आउजाउ गर्ने पिच बाटो , सुन्दर हिमाल र फरक खाले नाङ्गा पहाडका दृश्यले कताकता युरोप यात्राको झझल्को दिलायो हामीलाई ।

धुम्बा लेक

कृपा तामाङ भाइ हाम्रो गाइड थिए , उनले जताजता जान ड्राइभरलाई निर्देश दिन्थे हामी उतै लाग्थ्यौं । अपर मुस्ताङ घुमाउन निकै उत्सुक देखिन्थे । हामीलाई नेपाल चीनको सिमाना देखाउने चाहाना थियो उनको । हेर्न त मन थियो त्यो सिमाना जहाँ कृपा भाइ आफै तैनाथ भै देशको लागि सुरक्षामा अहोरात्र खटिन्थे । तर लगातार चारघण्टा अपर मुस्ताङको उजाड नाङ्गा डाँडा गुडिसकेपछि भने मैले गाडी फर्काउन लगाएँ । पट्टयारलाग्दो फुङ्ग उडेका डाँडाहरु मात्र कति हेर्नु ! कतै छैन हरियाली , मात्र छ फुस्रुङगे पाखो । मेरा आँखा टट्याए , कवि हृदय धुरुधुरु रोयो ।

हामी लोमाङथान दरबार नजिक पुगेर डाँडैबाट दरबारको अवलोकन गर्यौं , फोटो खिच्यौं र फर्कियौं । ग्राभेल गरिएको अपर मुस्ताङको बाटो जोमसोम पोखराको बाटो भन्दा निकै सहज हो तर त्यहाँ पनि विना पुल तीनवटा खोलाहरुसँग हाम्रो गाडीले पौठे जोरी खेल्नु पर्‍यो । जिवनको अनौठो अनुभव थियो त्यो । ड्राइभरहरु कति जबर्जस्त हुन् , त्यस्तो असहज बाटोमा पनि गाडी कुदाउन सक्ने ! कस्तो अदम्य साहस !

हुन त खोज र अन्वेषण गर्नेहरुको लागि अपर मुस्ताङ कौतुहलको विषय हो । नेपालको भौगोलिक विविधताको अनुपम उदाहरण हो । यहाँ अवस्थित विशाल गुफाहरुलाई सडकबाटै नियाल्यौँ र केही किवंदन्तीहरु सुन्यौं । क्षणभर हेर्दा विचित्रको अद्भुत लाग्छ अपर मुस्ताङ तर लामो समय यी दृश्यहरु हेरिरहँदा भने विरक्त लाग्ने रहेछ । हराभरामा रम्ने मनहरु यो मरुभूमिमा एकैछिन टिक्न पनि असजिला भए ।

हाम्रो मुस्ताङ यात्राको अझ सबैभन्दा दु:खद पक्ष चाहीं पोखरा जोमसोमको सडक मार्ग नै थियो । अत्यन्त जोखिमपूर्ण सडक अनि बसको यात्रा !

मौसम राम्रो हुनाले बाटो विग्रने खतरा कम थियो । त्यसैले सडक यात्राबाट भौगोलिक दृश्यको लुफ्त पनि उठाइहालौं न त भन्ने लोभ जाग्यो ।

मुटु दह्रो बनाउँदै सडक यात्राको खतरा उठाउन तयार भयौं हामी । तर त्यो बिहान स्कर्पिओ जीपहरु सबै रिजर्भ भैसकेछ्न् । जीप नपाएपछि ढ्याङग्रे बुढो बसमा यात्रा गर्न विवश भयौं । करिब सात घण्टाको कच्ची बाटो मुटुलाई ढक्क , ढक्क बनाउँदै तय गर्यौं हामीले । एक त बाटो कठिन अर्को बिच बाटोबाट यात्रु कोचेर हैरान पार्ने रहेछन् । ओभरलोडले ढलपल गर्दै त्यो बसमा गुड्नुको कठिन यातना हामी भोग्नेलाई थाहा थियो । बीस वर्ष अगाडि दैलेख र पाल्पा जाँदा कठिन लागेको यात्रा सम्झें , त्यो भन्दा यो कैयौं गुणा कठिन र खतरनाक थियो । जिवनकै सर्वाधिक कठिन यात्रा !

लोमाङथान

ठाउँ ठाउँमा खोला पसेर बाटो गाएब ! त्यही खोलाबाट जबर्जस्ति बस कुदाउँथे ड्राइभरहरु । बस गुड्दै गरेको पहाडको भित्ताबाट फुत्त ढुङ्गा खस्ला र लाग्ला वा पहिरो जाला भन्ने अर्को डर ! साघुँरो पहाडको बाटो अनि तल गहिरो कालीगण्डकी नदी ! कति पटक राम ! राम ! भनियो , कति पटक ज्यान माया मारियो ! अहिले सम्झदा पनि जीउ सिरिङ्ग हुन्छ ।
बल्ल बल्ल पोखरा बाग्लुङ राजमार्ग आएपछि मात्र लाग्यो अब बाँचियो ।

कस्तो नै होला भन्ने जोमसोमले खासै मेरो मन रत्याउन सकेन । बङबङी धुलो उडिरहेको निर्माणाधिन मुख्य बजारका उबड खाबड सडकले जोमसोम बजारलाई गिज्याइरहे जस्तो लाग्यो । तर केही अत्याधिक सुन्दर प्राकृतिक बरदानले गर्दा मुस्ताङले आफ्नो छुट्टै पहिचान पनि बोकेको छ ।

मुस्ताङको बयान गर्नुपर्ने अर्को ठाँउ धुम्वा लेक हो । जोमसोमबाट अलिकति उचाईमा करीब एकघण्टाको मोटर यात्रा गरेपछि चिटिक्क परेको यो लेक भने अलौकिक सुन्दर छ । चारैतिर मानापाथी र अन्य हिमालहरु विचमा अवस्थित यो सानो सुन्दर प्रकृतिको छ्टाले मलाई मन्त्रमुघ्ध बनायो ।प्राकृतिक सौन्दर्यमा पुलकित हुँदै एउटा गजल वाचन गरें त्यहीबाट । फेसबुकमा पोस्ट भैसकेको त्यो भिडियोको लिन्क तल छ , धुम्बा लेकको सुन्दरता नियाल्नु होला ।

प्रशिद्ध मुक्तिनाथ मन्दिर

ढुङ्गा छापिएका सफा चिटिक्क बाटो र घरहरुले सजिएको मार्फा गाउँ मुस्ताङको अर्को आकर्षण हो । प्राय यहीँबाट उत्पादन हुने रहेछ स्याउबाट बनेका प्रसिद्ध लोकल रक्सी ( मार्फा ) ।
कस्तो मिठो स्याउ ! न स्याउ खाएर अघाइन्छ , न लटरम्म स्याउ फल्ने बगैंचाहरु हेरेर अघाइन्छ ।
यावत राम्रा पक्षहरु हुँदा हुँदै पनि अप्ठ्यारो भौगोलिक बनावट त्यतिकै चुनौतीपूर्ण छ।
प्रकृति र विकासको तारतम्य मिलाउने हो भने पाँच वर्षमा जोमसोमले आफ्नो काँचुली फेर्न सक्छ ।

फेरि मुस्ताङ गइन्छ , गइन्न थाहा छैन । पहिले जस्तो अब त्यहाँ जाने धोको भने बाँकी रहेन । जोमसोमबाट प्राप्त एउटा फरक अनुभूति भने आफैमा अनौठो थियो , कालीगण्डकीमा बहुमुल्य सालीग्राम पाए जस्तै ।

जब हाम्रो जहाजले सुन्दर पोखराको भुइँ छोड्यो । झन् , झन् माथि उड्दै जाँदा हरिया पहाडहरु पनि छोड्दै गयो । हेर्दा हेर्दै झलझल अग्ला सुन , चाँदी जस्ता हिमालहरु देखिए अत्यन्त रोमाञ्चकारी यात्रा ! जहाजको उचाईसँगै हिमालहरु यति नजिक भए कि मलाई लाग्यो यदि जहाजका झ्यालहरु नभईदिए मैले ती हिमालहरुलाई हातले सजिलै छुन सक्थे जस्तो ।

जोमसोम एयरपोर्ट र पछाडि निलगिरी हिमाल

एकदम सुन्दर अनि अपूर्व शान्तिको दृश्य जुन बयान गर्न मेरा यी शब्दहरु काफी छैनन् । भित्रको एउटा डर अघिनै कता भागेछ । अभुतपूर्व आनन्दमै डुब्दा डुब्दै एकाएक मलाई अनुभूत भयो कि यही विलीन भएको , यही प्रकृतिमै समाहित भएको । अलौकिक यो अनुभूतिले अद्भुत आनन्द प्राप्ति भयो र आँखाबाट बलिन्द्र धारा आँसु झरे । सायद यो मैले प्राप्त गरेको आनन्दको उत्सर्ग थियो । घरबाट हिड्दा एक किसिमको भए थियो यात्रामा कतै मरिने त होइन ! तर यतिबेला मनले यही चाहिरहेको थियो कि यही विलीन हुँ । मेरो लागि यो दुर्लभ अनुभूति नै जोमसोम यात्राको सबल पक्ष थियोे । अचानक जहाज हल्लिन थाल्यो । सँगै बसेका श्रीमान डराउँदै चटपटाउनु भयो , मेरो ध्यान मोडियो । तर म भित्र भने अनौठो सन्तुष्टी छाइरहेको थियो ।

त्यो पल सम्झिदा मात्र पनि एउटा मिठो तरंग म भित्र तरङगित हुन्छ अहिले पनि ।

कृपा भाइ , जोमसोम मुस्ताङको श्रीनारायणगण दल र अफिसर लिला थापा मगरबाट हामीले पाएको दुइ रातको स्वादिष्ट भोजन र आतिथ्य सत्कार अर्को सुखद पाटो थियो । जुन जीवनपर्यन्त अविस्मरणीय रहने छ ।
एउटा फरक प्रकृतिको स्वरुप बोकेको जोमसोम र समग्र मुस्ताङमा अझै भौतिक विकासको अभाव खट्किएको छ । मुस्ताङले खोजेको विकास राम्रो सडक सन्जाल नै हो । बाटोघाटो , होटल , रेस्टुँरा , व्यवस्थित बजार र यातायातका स्रोत र साधनहरु पर्याप्त हुने हो भने मुस्ताङ सबैको सहज पहुँचमा आउने थियो । आन्तरिक र बाहिरी पर्यटन अझ सुदृढ हुने थियो ।

यो मुस्ताङ यात्राले अद्भुत प्रकृतिको दर्शन त गरायो तर फेरि ,फेरि पनि घुम्न जाने रहर भने मेरो मनमा जगाउन सकेन ।

जोमसोम , मुस्ताङको यात्रा गर्नु भनेको धेरै हदसम्म ज्यान माया मार्नु नै हो । यात्राका क्रममा घटेका अप्रिय घटनाहरुबाट हामी अनभिज्ञ छैनौं । हाम्रो यात्रा निश्चित भइसकेको खबर पाएपछि सशंकित हुँदै काठमाण्डौमा बहिनी सेमीले भनेकी थिई नगइस्यो जोमसोम त ……।