मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

पर्यटन प्रवर्द्धन गर्न पर्यटकलक्षित कार्यक्रम ल्याउनुपर्छ : मेयर सापकोटा

पर्यटन प्रवर्द्धन गर्न पर्यटकलक्षित कार्यक्रम ल्याउनुपर्छ : मेयर सापकोटा


सौराहा । रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले पर्यटकीय नगरी सौराहाको पर्यटन प्रवद्र्धन गर्न व्यवसायीहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाले क्रिसमस इभका अवसरमा आयोजित म्युजिकल फेस्टा २०२२ का अवसरमा आयोजित कार्यक्रममा मेयर सापकोटाले पयर्टन व्यवसायीहरु एकजुट भएर पर्यटकलाई आकर्षित गर्ने खालका गतिविधि बढाउनुपर्ने बताएका हुन् ।
 
‘सौराहाको स्वरुपमा केही परिवर्तन आएन’, उनले भने, ‘तीस वर्षअघि सौराहा जुन अवस्थामा थियो । आज पनि त्यही नै अवस्था छ । मात्र केही संरचना परिवर्तन भएका छन् ।’ सौराहामा पर्यटक आए पनि ठीक नआए पनि ठीक भन्ने ढङ्गले यहाँको पर्यटन व्यवसाय चलिरहेको उनको भनाइ थियो ।   
 
‘रत्ननगर नगरपालिकाले गर्ने सहयोग भौतिक पूर्वाधार, सडक, ढल निकास र तटबन्धजस्ता संरचना हुन्’, उनले थपे, ‘जुन अहिले पनि निरन्तरता पाइरहेकै छ, सिग्नेचर पुल निर्माण गर्ने योजना अन्तिम चरणमा पुगेको छ ।’ पर्यटन उद्योग मुलुकको आर्थिक विकासको अभिन्न अङ्ग भएकाले यहाँका सांस्कृतिक विविधता, पर्यटकलक्षित पहिचान झल्किने कार्यक्रम, होमस्टेजस्ता गतिविधिलाई प्राथमिकता राखेर अघि बढ्न उनले व्यवसायीहरुलाई सुझाव दिए ।
 
विदेशी पर्यटकलाई आकर्षित गर्न क्रिसमसजस्ता विदेशी पर्व एवं यहाँको सांस्कृतिक विशेषता झल्कनेगरी प्रवद्र्धनका लागि प्रचारप्रसारमा खर्च गर्न हिच्किचाउन नहुने उनको भनाइ थियो । सौराहामा पर्यटकलाई कम्तीमा पाँच दिनको बस्न सक्ने वातावरण निर्माण गर्न व्यवसायीहरुलाई उनले सुझाव दिए ।
 
कार्यक्रममा पूर्वमेयर नारायण वनले पर्यटकलाई सौराहा घुमौँ घुमौँ लाग्ने बनाउन परम्परागत विशेषता झल्किनेगरी संरचनाको विकास गर्न जरूरी रहेको बताए । उनले भने, ‘कमसेकम होटलको छानामा टायल राख्न सकिन्छ । रङ्गरोगन एउटै बनाउन सकिन्छ । ता कि आकासबाट हेर्दा सौराहा त एकपटक घुम्नैपर्छ भन्ने धारणा बन्न सकोस् ।’
 
कार्यक्रममा रत्ननगर–६ का वडाध्यक्ष किरन महतोले सौराहाको विकास संरचना र सडक स्तरोन्नतिको काम भइरहेको र नगरपालिकासँग समन्वय गरी पूर्वाधार विस्तारका कामहरु निरन्तर भइरहेको बताए । समग्र सौराहाकै विकासका लागि आफू र समग्र नगरपालिका चिन्तित रहेको बताउँदै कसैले पनि चित्त दुखाउनुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।
 
‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’ भन्ने नाराका साथ आयोजित कार्यक्रमको अध्यक्षता रेवान सौराहाका अध्यक्ष नरेश गिरीले गरेको कार्यक्रममा बाघमारा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतबहादुर तामाङ, रेवान महिला अध्यक्ष लक्ष्मी बिडारीले मन्तव्य व्यक्त गरेको कार्यक्रममा रेवानका पूर्वअध्यक्ष एवं वडा नं–७ का पूर्व-वडाध्यक्ष लालबहादुर भट्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
 
कार्यक्रम सुरू हुनुअघि वडा नं ६ को सिमानादेखि विविध झाँकीसहितको शोभायात्रा निकालिएको थियो । थारु, मगर, तामाङ, गुरूङलगायत विभिन्न जातीय पोसाकमा सजिएर सांस्कृतिक टोलीले सौराहाको गैँडाचोकमा प्रदर्शनी गरेका थिए । सोही स्थानमा क्रिसमस म्युजिकल फेस्टा कार्यक्रममार्फत रातभर पर्यटकलाई विविध परिकारसहित सडकमै रमाउने वातावरण मिलाइएको थियो ।