मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायहरूबीचको सहकार्य आवश्यक : मन्त्री चौधरी

पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायहरूबीचको सहकार्य आवश्यक : मन्त्री चौधरी


काठमाडौँ । शहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायहरूबीचको सहकार्य आवश्यक भएको बताएका छन् । 
 
सरकार र निर्माण व्यवसायीहरू मिलेर अघि बढेमा मात्र भौतिक पूर्वाधारको ठूला योजना अघि बढ्न सक्ने धारणा मन्त्री चौधरीले राखे । १५औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले बिहीबार राजधानीमा गरेको प्रभातफेरी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले भौतिक पूर्वाधारको क्षेत्रमा चुनौती रहेको स्विकार गरे । 
 
भौतिक पूर्वाधारको काम जनताको जनजीविका र समृद्धिसँग जोडिएको भन्दै मन्त्री चौधरीले जनताको पक्षमा समयमै गुणस्तरीय तरिकाले काम सक्न निर्माण व्यवसायीहरूलाई सुझाव दिए ।  ‘व्यवसायीहरूले पाउनु पर्ने रकम निकासा भएको छैन, कानुन नै संशोधन गरेर भएपनि यस्तो समस्या समाधान गर्नुपर्छ’ मन्त्री चौधरीले भने । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरू नै समृद्धिका सारथि भएको बताए । मुलुकको पूर्वाधार विकासमा सक्रिय निर्माण व्यवसायीहरू अहिले पनि विभिन्न समस्या झेल्न बाध्य भएको अध्यक्ष सिंहले बताए ।
 
 ‘निर्माण व्यवसायीमैत्री कानुन नभएसम्म निर्माण उद्योगले गति लिन सक्दैन’ अध्यक्ष सिंहले भने । विगतका सरकारहरू निर्माण उद्योगको विकास विस्तारमा खासै संवेदनशील नभएको उनले बताए । अब गठन हुने नयाँ सरकारबाट निर्माण व्यवसायीहरूले निर्माण उद्योगको विकास विस्तारमा सकारात्मक परिणामको अपेक्षा गरेको उनको भनाइ थियो । 
 
महासंघका महासचिव रोशन दाहालले निर्माण दिवस मुलुकको भौतिक समृद्धि चाहने सबैको राष्ट्रिय पर्व भएको धारणा राखे । सोही अवसरमा मन्त्री चौधरीले महासंघको मुखपत्र ‘निर्माण समाचार’ को विमोचन गरेका थिए भने महासंघ अध्यक्ष सिंहले मन्त्री चौधरीलाई मायाको चिनो प्रदान गरेका थिए । 
 
मन्त्री चौधरीसमेत सहभागी भएको बाजागाजासहितको प्रभात फेरी दशरथ रंगशालाबाट सुरु भई त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगरमा आई टुङ्गिएको थियो । 
 
१५औँ राष्ट्रिय निर्माण दिवसकै अवसरमा महासंघ प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । रक्तदाताहरूलाई नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रोशन दाहाल लगायतले प्रमाणपत्र वितरण गरे । 
 
यसैबीच, प्रदेश महासंघहरू तथा जिल्ला निर्माण व्यवसायी संघहरूले पनि विविध कार्यक्रम गरी १५औँ निर्माण दिवस मनाएको महासंघका प्रवक्तसमेत रहेका उपमहासचिव (नीतिगत) शिवहरि घिमिरेले जानकारी दिए ।